एजेन्सी । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।
फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो ।
फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ ।
यहाँका स्वास्थ्य मन्त्रीले अहिले आइसियुमा भर्ना हुने संक्रमितको संख्या भने घटेको बताएका छन् । पछिल्ला समयमा यहाँ अस्पताल भर्ना हुने विरामी पनि घटेका पाइएको हो ।
यहाँका अस्पतालका अघिल्लो हप्तासम्म करिब ४ हजार जना संक्रमित भर्ना भएकामा अहिले त्यसमा आधभन्दा बढी कमी आएको छ ।
उता गएको २४ घन्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइएको छ । फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ ।
फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।
युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्