Shikhar Insurance
National Life

हिमालयनले वित्तीय विवरण सार्वजनिक गरेसँगै दोस्रो त्रैमासको मैजारो, बिग मर्जर तोडेको बैंकको यस्तो प्रगति

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार ११:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग बिग मर्जर तोडेको हिमालयन बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७४ करोड रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म ७४ करोड ३४ लाख ५० हजार रूपैयाँ खुद मुनाफा गरेको हो जुन गत आवको यही अवधिको भन्दा ९ करोड रूपैयाँ बढी हो ।

हिमालयनको नाफा वाणिज्य बैंकहरुमध्ये चौथो कम हो । बैंकले खुद मुनाफाका आधारमा सिभिल, बैंक अफ काठमाडौं र सेञ्चुरीलाई मात्र जित्न सकेको छ । कोरोना महामारीको विषम परिवेश र बैंकहरुबीच बढ्दो प्रतिस्पर्धामाझ बैंकले नाफा बढोत्तरी गर्न सकेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको वितरणयोग्य नाफा २४ करोड ५१ लाख रुपैयाँ छ । बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भारी मात्रामा घटेको छ । गत आवको नाफाबाट २१ प्रतिशत बोनस सेयर दिएको हिमालयनले चुक्तापुँजी १० अर्ब ६८ करोड रुपैयाँबाट करिब १३ अर्ब पुर्‍याएपनि मुनाफा दर सोहीरुपमा बढाउन नसक्दा ईपीएस १६.९५ रूपैयाँबाट घटेर ११.४७ रूपैयाँमा खुम्चिएको छ ।

हिमालयनको प्रतिसेयर नेटवर्थ १५७.०५ रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जादर २.१३ प्रतिशतबाट ०.७२ प्रतिशतमा ओर्लिएको छ ।

बैंकले रिजर्भमा ७ अर्ब १५ करोड रुपैयाँ राखेको छ । बैंकको कुल स्वपुँजी (इक्विटी) २० अर्ब ३६ करोड रुपैयाँ पुगेर बलियो बैंकका रुपमा स्थापित भएको छ ।

तीब्र प्रतिस्पर्धाले हिमालयनको स्प्रेडदर वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम २.२७ प्रतिशत कायम भएको छ । तर, बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । पुस मसान्तसम्म बैंकको बेसरेट ८.७५ प्रतिशत कायम भएको छ भने कस्ट अफ फन्ड सामान्य बढेर ६.९८ प्रतिशत पुगेको छ ।

बैंकले हालसम्म १ खर्ब ६५ अर्ब ५१ करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी १ खर्ब ५० अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कोरोना महामारीमाझ तीब्र प्रतिस्पर्धाका कारण बैंकिङ व्यवसाय निकै प्रभावित भएको छ जसबाट हिमालयन पनि अछुतो भएन । गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा चालु आवमा १ अर्ब ९१ करोड रुपैयाँ कमाउन सफल भएको छ । बैंकले खुद फि तथा कमिसन आय वृद्धि गर्दा तथा अन्य सञ्चालन आम्दानी बढाउँदा कुल सञ्चालन आय विस्तार गर्न सफल भएको छ । फलस्वरुप बैंकको सञ्चालन मुनाफा गत आवको पुस मसान्तको ९८ करोड ६४ लाख रुपैयाँबाट विस्तार भएर १ अर्ब ६ करोड २० लाख रुपैयाँ पुगेको छ । यसबीचमा बैंकले कर्जा तथा अन्य जोखिम प्रोभिजनका लागि ३७ करोड ११ लाख रूपैयाँ तप गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्