काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ ।
नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको संचित चुहावट (Cumulative Loss ) को तुलनामा यस वर्ष २.८२ प्रतिशत विन्दुले घटाएको छ ।
गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ११.९२ प्रतिशत थियो ।
प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
घिसिङले यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको उल्लेख गरे ।
‘हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसनको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम अगाडि बढाइकोले चुहावट घटेको हो’, उनले भने । ‘गर्मी सुरु भएपछि चुहावट केही बढ्न सक्छ, यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको छ ।’
प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।
सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेशमा
प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको छ ।
प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १२.९९ प्रतिशत छ ।
अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट १०.१७ प्रतिशत थियो ।
बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३९.८० प्रतिशत रहेको छ । गत वर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो ।
महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकोमा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ ।
औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट ०.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो ।
प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट २४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो ।
बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत चुहावट रहेको छ । गत त्यस केन्द्रको २६.५८ प्रतिशत चुहावट थियो ।
बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो । त्यसपछि सिन्धुपाल्चोककै हेलम्बू वितरण केन्द्रको विद्युच चुहावट ३०.७८ प्रतिशत छ । गत वर्ष केन्द्रको चुहावट ९.२८ प्रतिशत थियो ।
गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकोमा यस वर्ष १५.५५ प्रतिशतमा झरेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो ।
लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट प्यूठान वितरण केन्द्रको १९.४२ प्रतिशत रहेको छ । अघिल्लो वष त्यस केन्द्रको चुहावट १९.९० प्रतिशत थियो ।
कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष ३१.२५ प्रतिशत रहेकोमा यस वर्ष २७.१३ प्रतिशतमा झरेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्