काठमाडाैं । सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए ।
हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको उनकाे भनाइ छ । उनका अनुसार स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल छ ।
मन्त्रालयले सिटामोललगायत औषधिको तत्काल अद्यावधिक गर्नका लागि सबै सरकारी अस्पताल, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइरहेको छ । “यदि कुनै सरकारी अस्पतालका सिटामोल औषधि कम हुन आएमा नेपाल औषधि लिमिटेडसँगै सिधै सम्झौता गरी खरिद गर्न सकिने छ”, उनले भने । “सोहीअनुसार औषधि खरिद गरी बिरामीलाई सहज बनाउन हुन सबै सरकारी अस्पताललाई अनुरोध छ ।”
यसका साथै स्वास्थ्य सेवा विभागले पनि सिटामोललगायत अन्य अत्यावश्यक औषधिको पनि खरिद प्रक्रिया अगाडि बढाइसकेको उहाँको भनाइ रहेको छ । ठूला अस्पताल र प्रादेशिक अस्पताललाई पनि अत्याश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्