काठमाडौं । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा डिबेञ्चर (ऋणपत्र) स्रोत परिचालनको उपयुक्त औजार बनेका छन् । पुँजीकोषको अंगका रुपमा रहेका ऋणपत्र बाहेकका डिबेञ्चरलाई निक्षेपका रुपमा गणना गर्न पाउँदा बैंकहरुलाई कर्जा परिचालनका लागि सहुलियत मिलेको छ भने उपभोक्तालाई तोकेको अवधिसम्म तोकिएको ब्याज निरन्तर प्राप्त भइ प्रतिफलको सुनिश्चितता मिलेको छ ।
डिबेञ्चरलाई नेपालीमा ऋणपत्र भनिन्छ । कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइ ऋणपत्र हो । कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखितपत्र हो, ऋणपत्र ।
अर्थात् ऋणपत्र भनेको एउटा शर्तनामा, निश्चित समयमा निश्चित रकम, निश्चित प्रतिफलको दरमा लिन्छु भनेर कबुल गरेको खरिदर्ताको सम्पत्ति हो । बैंक तथा वित्तीय संस्थाका लागि डिबेञ्चर पुरक पुँजीका रुपमा जारी गरेर अस्थायी रुपमा आफ्नो पुँजी पर्याप्तता कायम गर्ने औजार पनि हो ।
यो सँधै आवश्यक हुने औजार होइन । संस्थाहरुले पुँजी पर्याप्तताका लागि हकप्रद जारी गर्ने विकल्प रहन्छ । तर, सँधै हकप्रद जारी गर्न मिल्दैन ।
ऋणपत्र पुँजी पर्याप्तताका लागि जारी गरिने अरु प्रकारका औजारभन्दा फरक हुन्छ । यसको अंकित मूल्य हुन्छ । कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रका लगानीकर्तालाई ब्याज भुक्तानी गर्दछन् भने ऋणपत्र जारी गरेको संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन ।
यसले पुँजी पर्याप्ततालाई मद्दत गर्दछ । बैंक तथा वित्तीय संस्थाले ऋणपत्र खरीदकर्तालाई मुद्दती निक्षेपभन्दा बढी प्रतिफल दिने गरी आह्वान गर्दछन् । विशेष गरी जोखिम उठाउन नचाहने लगानीकर्ताका लागि लगानी गर्ने यो उपयुक्त औजार हो । ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले बैंक तथ वित्तीय संस्थाका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ ।
तर, ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले विभिन्न कोणबाट पनि सोच्नुपर्छ ।
हिजोबाट मात्र एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ । आठ वर्ष अवधिको सो ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइन्छ ।
साढे १० प्रतिशत ब्याज दिने सेञ्चुरी बैंकको डिबेञ्चर आउँदै
साढे १० प्रतिशत ब्याज पाइने सेञ्चुरी बैंकको डिबन्चर नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाउने चरणमा छ ।
सेञ्चुरी बैंकले अघिल्लो वर्ष नै आदेन दिएकामा बोर्डले भर्खरैमात्र अनुमति दिने तयारी गरेको हो ।
सेञ्चुरीको डिबेच्नर पछिल्लो समय वाणिज्य बैंकहरूले जारी गरेको डिबेञ्चरमा सर्वोत्तम मानिएको छ । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत ब्याज दिइरहेकामा सेञ्चुरीको डिबेञ्चरलाई पछिल्लो समयमा उत्तम मानिएको छ ।
यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ ।यता, निक्षेपको ब्याजदरले कर्जामा प्रभाव पार्ने भएकाले बैंक, उद्योगी व्यवसायी एवं अन्य लगानीकर्ताको पनि ब्याजदर कमभन्दा कम कायम रहोस् भन्ने छ । सोहीकारण पनि सेञ्चुरीको डिबेञ्चर भन्दा मुद्दती निक्षेपको ब्याजदर बढी हुने अवस्था आउँदैन ।
सेञ्चुरी बैंकले जारी गर्न लागेको ऋणपत्र पनि त्यस्तै हो । कुल २ अर्ब २० करोडको डिबेञ्चरमा २२ लाख कित्ता (प्रति कित्ता १ हजार रुपैयाँ) दरमा ऋणपत्र बिक्री हुनेछ । जसमध्ये ८ लाख ८० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १३ लाख २० हजार कित्ता बैंक आफ्नै तबरले बिक्री गर्ने छ ।
यो ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइने बताइएको छ । प्राइम कमर्सियल बैंक र कामना सेवा विकास बैंकको डिबेञ्चर पनि पाइपलाइनमा रहेका छन् ।
डिबेञ्चरमा लगानी गर्नुका फाइदा
डिबेञ्चरमा लगानी गर्नुका केही फाइदा छन् । जस्तो कि मुद्दती निक्षेपजस्तो नवीकरण गरिरहनु पर्दैन । यसको ब्याजदर परिवर्तन हुँदैन ।
आफूले किनेको डिबेञ्चरभन्दा राम्रो विकल्प आयो भने यसलाई दोस्रो बजारमा बेच्न पनि सकिन्छ । वा, डिबेञ्चरलाई धितो राखेर शतप्रतिशत ऋण लिन पनि सकिन्छ ।
अर्कोतर्फ बैंकहरुलाई पनि केही सहज परिस्थिति सिर्जना हुने छ । बैंकहरुले आफूले जारी गरेको ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउँछन् ।
निक्षेपकर्ता सर्वसाधारणले पनि बजारमा लगानीयोग्य रकमको उपलब्धता बढाउने आफ्नो दायित्व सोचेर पनि ऋणपत्रमा लगानी गरे हुन्छ ।
चाहेको जुनसुकै बेला ऋणपत्र प्रयोग गरेर आफ्नो समस्या टार्न सकिन्छ । चाहे दास्रो बजारमा बेचेर होस् वा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर । त्यसकारण भोलि चाहिने खर्च वा विनियोजन गर्न कसैले पैसा रोकेर राखेको छ भने त्यो रकम ऋणपत्रमा खर्च गरे हुन्छ ।
यहीकारण सर्वसाधारणलाई डिबेञ्चरमा लगानी गर्न सझाइने गरिएको छ । १० हजार रुपैयाँ गोजीमा राखेर हिँड्नुभन्दा १० कित्ता डिबेञ्चर किन्नु राम्रो हुन्छ । हाम्रा नियमित खर्चमा कटौती गरेर पनि यस्तो बचत गर्दा दीर्घकालमा राम्रो फाइदा हुन्छ ।
यसरी सुनिश्चित हुन्छ प्रतिफल
यहाँ प्रश्न रह्यो, अर्बौं रुपैयाँ बराबरको सावाँ र ब्याज भुक्तानी बैंकले तोकेको अवधिमा कसरी फिर्ता गर्न सक्छ भन्ने कुरा । बैंकले ऋणपत्र परिपक्व हुने समयका लागि केही व्यवस्था गरेको हुन्छ । जस्तै बैंकले आफ्नो नाफाबाट हरेक वर्ष डिबेञ्चरको केही प्रतिशत रकम एउटा रिजर्भ फन्डमा जम्मा गर्नेछ । र, सोही डिबेञ्चर रिडेम्सन रिजर्भमा म्याच्युरिटी हुनपुर्व (मानौं १० वर्ष) मा नै जम्मा भइसकेको हुनेछ ।
लगानीकर्ताले ब्याज त तोकेको अवधि (हरेक ६–६ वा ३–३ महिना)मा पाइसकेका हुन्छन् ।
यसरी बैंकले एकैपल्ट भुक्तानी गर्ने भार पर्दैन ।
जानकारहरूले पनि निक्षेपभन्दा डिबेञ्चरमा लगानी गर्न आम सर्वसाधारणलाई सुझाव दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्