काठमाडौं । बैंकहरुमा तरलताको समस्या विस्तारै सहज हुँदै गरेको पाइएको छ । वाणिज्य बैंकहरुले साता दिनमै करिब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी औसत सीडी रेसियो ९० प्रतिशत तल झारेका हुन् ।
लामो समययता कर्जाको वृद्धि भएपनि निक्षेप संकलन सुस्ताएका वाणिज्य बैंकहरुले एक सातामै ५९ रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत साता अर्थात् पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थिए । जुन पुस २३ गतेसम्म आइपुग्दा ५९ अर्ब रुपैयाँले थप गरेर ४३ खर्ब ७ अर्ब रुपैयाँ कायम भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
गत सातासम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ९१.०२ प्रतिशत थियो । निक्षेप संकलन वृद्धि हुँदै गएपछि सीडी रेसियो समेत सीमाभन्दा तल कायम भएको छ । पुस २३ गतेसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ८९.६८ प्रतिशत कायम भएको संघको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकले पुनरकर्जा र सरकारले स्थानीय तहमा जाने पैसालाई ५० प्रतिशतबाट ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेपछि बैंकहरुमा निक्षेप बढेको हो ।
यता, सो अवधिमा बैंकहरुको कर्जा प्रवाह ८ अर्ब रुपैयाँले थप भएको छ । पुस १६ गतेसम्म ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले पुस २३ गतेसम्म ४१ खर्ब ८ अर्ब रुपैयाँ गरेका छन् ।
वाणिज्य बैंकहरुले विदेशी मुद्रामा गर्ने कर्जा प्रवाह भने एक सातामै ११ अर्ब रुपैयाँले घटेको छ । गत साता १ खर्ब २५ अर्ब रुपैयाँ विदेशी मुद्रामा कर्जा प्रवाह भएको थियो । जुन पुस २३ वगते आइपुग्दा १ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको भएको छ । वाणिज्य बैंकहरुको विदेशी मुद्रामा संकलित निक्षेप पनि एक सातामा ३ अर्ब रुपैयाँले घटेको छ । पुस १६ गतेसम्म १ खर्ब १ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप संकलन भएको थियो । जुन पुस २३ गतेसम्म आइपुग्दा ९८ अर्ब रुपैयाँमा सीमित भएको छ ।
प्रतिक्रिया दिनुहोस्