Shikhar Insurance
National Life

नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छः चन्द्र ढकाल

सिंहदरबार संवाददाता
२०७८ पुष २५, आईतवार १९:३३
Hyundai
NCELL
NIMB

चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट नीतिगत संरक्षण भए निजी क्षेत्रले छोटो अवधिमै आर्थिक विकासलाई परिणाममुखी बनाउने बताउका छन् । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं चितवन महोत्सवलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र र सरकारको लक्ष्य एउटै भए पनि सहकार्यलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

“निजी क्षेत्रले कुनै पनि काम अघि बढाउन खोज्यो भने त्यहाँ धेरै तिरबाट अवरोध आउँछन्,” वरिष्ठ उपाध्यक्ष ढकालले भने, “निजी क्षेत्रले लगानी गरेर रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने नै हो तर हामीले प्रक्रियागत झमेला नै बढी बेहोर्नुपरिरहेको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइएमएई समूहका अध्यक्षसमेत रहेका ढकालले गैंडाकोटमा निर्माणाधीन केबलकारको भौतिक निर्माणभन्दा प्रक्रिया पूरा गर्न बढी समय खर्चिएको स्मरण गरे । सरकारले नीतिगत सुधार र निजी क्षेत्रको संरक्षकत्व र अभिभावकत्व लिइदिने हो भने अपेक्षा गरिएभन्दा अगावै आर्थिक विकासलाई परिणाममुखी रुपमा अघि बढाउन आफूहरु सक्षम रहेको उनको भनाइ छ ।

वागमती प्रदेशका मुख्यमन्त्री, भरतपुर महानगरपालिकाका प्रमुखलगायतका विशिष्ठ व्यक्तिहरु सहभागी समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले अघि सारेका आर्थिक गतिविधि बढाउने कार्यक्रमलाई संघीय, प्रादेशिक र स्थानीय सरकारले सहयोग गर्नु अपरिहार्य रहेको बताए । “तीनवटै तहका सरकारले चाहेको रोजगारी वृद्धि, आर्थिक गतिविधि बढाउने कार्यक्रम नै हो,” उनले भने, “निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ । सरकारले नीतिगत सुधार गर्ने हो भने छोटो समयमै आर्थिक गतिविधि बढाउन सकिन्छ ।”

सबै तहका सरकारहरुले परम्परागत नियम कानुन परिवर्तन गर्ने आँट गर्नुपर्ने ढकालको धारणा छ । उनले निजी क्षेत्रलाई पनि लगानीमैत्री कानुन निर्माणका लागि निरन्तर दबाब दिइरहन सुझाव दिए । स्थानीय र प्रदेश तहमा जिल्लानगर र प्रदेश उद्योग वाणिज्य संघले जनप्रतिनिधिहरुलाई झकझकाउनुपर्ने र आफूहरुले संघीय सरकारलाई सल्लाह सुझाव दिने उनको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले चितवनलाई नेपालकै वृहत पर्यटकीयस्थल बनाउने प्रस्ताव समेत राखे । चितवनको अनुपम प्राकृतिक सौंदर्यलाई उपयोग गर्नुपर्ने र नेपालको मध्य भूभागमा रहेका कारण यहाँको पर्यटकीय सम्भावना बढी रहेको उनको भनाइ छ । चितवनको सम्पदा सदुपयोगका लागि सरकारबाट विधिवत निर्णय भए निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उनले बताए ।

चितवन महोत्सवले निजी क्षेत्र जस्तोसुकै अप्ठेरो अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने प्रमाणित गरेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यस वर्ष आइतबारदेखि सुरु भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्