काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि नाम सर्टलिस्टिङ गरेको छ । छनोट समितिले दरखास्त दिएकाहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाका आधारमा ५ जनाको अन्तिम नामावली तयार पारेको हो ।
मन्त्रालयले आगामी ४ वर्षका लागि नेप्सेको सीईओ बन्न कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाकर, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीलाई आवेदकहरूमध्ये सबैभन्दा योग्य ठहर गरेको छ । नेप्सेको सीईओको लागि परेको आवदेनमध्ये यी आवेदकहरुले अब अन्तर्वार्ता तथा प्रस्तुतीकरण दिनेछन् ।
नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् ।
समितिकै सिफारिसको आधारमा ५ जनाको नाम छनौट गरिएको हो । छनौट भएका उमेद्वारहरुको यही पुस ५ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ता अर्थ मन्त्रालयल को सुवर्ण हलमा बिहाल ७ः३० देखि साँझ ५ः३० सम्म हुनेछ ।
उक्त पदका लागि नेप्सेका निमित्त सीईओ निरञ्जन फुयाल, नेप्सेकै प्रवीण पन्दाक, रमेशकुमार भट्टराई, रमेश धिमिरे, छविराज पन्त, गोविन्द दाहाल, केशवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद प्याकुरेल, जीवन अमगाई, कृष्णबहादुर कार्की र दिपक गौतमले पनि आवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्