काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ कम्पनीलाई करिब १२ अर्ब रूपैयाँ पुनर्कर्जा स्विकृत गरेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ती कम्पनीले ११ अर्ब ८४ करोड रूपैयाँ पुनर्कर्जा पाएको राष्ट्र बैंकले जानकारी दिएको हो ।
केन्द्रीय बैंकका अनुसार २८ वटा कम्पनीले २०-२० करोड रूपैयाँका दरले पुनर्कर्जा पाएका छन् । अधिकतम सीमामा कर्जा लिन पाउनेमा होटल याक एन्ड यतिलगायत कम्पनी छन् ।
यसरी गएको पुनर्कर्जामध्ये १५ वटाले विशेष र ७६ वटाले साधारण पुनर्कर्जा लगेका हुन् । १० बैंकबाट कुल २ अर्ब ४५ करोड ७८ लाख रूपैयाँको पुनर्कर्जा लगिँदा २७ वटाले ९ अर्ब ३८ करोड रूपैयाँ दिएका छन् ।
राष्ट्र बैंकबाट स्वीकृत भएको पुनर्कर्जा सबैभन्दा बढी बाग्मती प्रदेशमा ५ अर्ब ६६ करोड रूपैयाँ बराबरको गएको छ भने कर्णाली प्रदेशमा कुनै पुनर्कर्जा नगएको केन्द्रीय बैंकले जनाएको छ ।
स्वीकृतमध्ये आधाभन्दा बढी अर्थात् ६ अर्ब १५ करोड ३३ लाख रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले थप पुनर्कर्जाको लागि कात्तिकको दोस्रो साता आवेदन खुला गरेको थियो । केन्द्रीय बैंकले कोरोनाको महामारीबाट प्रभावित उद्योगी व्यवसायीलाई एकमुष्ट रुपमा पुनर्कर्जा दिने जनाएको थियो । केन्द्रीय बैंकले हालसम्म १ खर्ब ४० अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरिसकेको छ ।
यी आवेदकले कात्तिक १४ गते देखि मंसिर १९ गतेसम्म आवेदन दिएका थिए ।
पुनरकर्जा कार्यविधि, २०७७ अनुसार कोभिडबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रका व्यवसायीले यस्तो कर्जा माग गर्न पाउँछन् ।
व्यवसायीले आफूले कर्जा लिने बैंकमा गएर पुनर्कर्जा माग गरेका थिए, जसअनुसार अतिप्रभावितले २० करोड र मध्यमप्रभावितले १० करोड रूपैयाँसम्म कर्जा पाएका हुन् ।
व्यवसायीले आफ्नो व्यवसायको पुँजीको बढीमा २५ प्रतिशत पुनर्कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।
पुनर्कर्जा कार्यविधि अनुसार राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम व्यवसायीलाई २ प्रतिशत ब्याजमा पुनर्कर्जा दिन्छ भने विशेष पुनर्कर्जा १ र साधारण पुनर्कर्जा ३ प्रतिशत ब्याजमा दिन्छ । बैंकले व्यवसायीबाट लघु, घरेलु तथा साना उद्यम व्यवसायीतर्फ ३ प्रतिशत र विशेष तथा साधारणातर्फ २ प्रतिशत थप लिन पाउँछन् जसअनुसार यस्तो पुनर्कर्जाको ब्याजदर क्रमशः ३, ३ र ५ प्रतिशत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्