सर्लाही । ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ ।
ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र ९ लाई घेराहाली निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार आइतबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एकजनाको ज्यान गएपछि उत्पन्न विवादले उग्ररुप लिएपछि द्वन्द्व नियन्त्रण गर्न भन्दै आज दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
आइतबार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परेर स्थानीय रामकुमार महतोको ज्यान गएको थियो । ट्रकलाई उछिन्ने क्रममा मोटरसाइकलमा सवार महतो गस्तीमा रहेको प्रहरी भ्यानसँग ठोक्किन पुगेका थिए ।
त्यसलगत्तै महतोको ज्यान गएको थियो । सोही विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई गृहमन्त्रालयमा फिर्ता बोलाएर गौतमलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी पठाइएको थियो ।
आन्दोलनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका र त्यस क्रममा भएका झडपमा परेर करिब १५ जना सुरक्षाकर्मी घाइते भएका थिए । निषेधाज्ञा जारी गरी सर्वपक्षीय सर्वदलीय छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदर्शनस्थालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्