Shikhar Insurance
National Life

भरतपुर महानगरमा पौने चार अर्ब खर्चिएर खानेपानी आयोजना बन्दै

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार ११:४६
Hyundai
NCELL
NIMB

भरतपुर । जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन् ।

शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ । महानगरको कविलासमा पानीका लागि भोग्नुपरेको कष्ट टरेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार २३ वटा महत्वपूर्ण खानेपानी आयोजनामा तीन अर्ब ७७ करोड सात लाख रुपैयाँ खर्च भएको छ । सो रकम सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार शारदानगर खानेपानी आयोजनामा ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा २३ करोड २५ लाख रुपैयाँ खर्च हुँदैछ ।

त्यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा रु पाँच करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा रु ११ करोड ३५ लाख, कैलाशनगर– फूलबारी खानेपानी आयोजनामा रु आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा रु ६ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा रु पाँच करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा रु ६ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा चार करोड २७ लाख रुपैयाँ विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् ।

पार्वतीपुर खानेपानी आयोजनामा २२ करोड पाँच लाख, देवनगर खानेपानी आयोजनामा पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ मा १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा एक करोड रुपैयाँ खानेपानी आयोजनामा खर्च गरिँदैछ ।

महानगर प्रमुख दाहालले कतिपय आयोजना सम्पन्न भइसकेको, कतिपय काम भइरहेको र कतिपयमा विस्तारको काम गरिएको जानकारी दिए ।
तत्कालीन खानेपानीमन्त्री बीना मगर हुँदा धेरै आयोजनाहरु आएका हुन । महानगर प्रमुख दाहालले भनिन्– “एउटा स्थानीय तहमा झण्डै चार अर्बको खानेपानीमा लगानी हुन सक्नु आफैंमा महत्वपूर्ण हो ।”

उनले यी सबै आयोजना सम्पन्न हुँदा आउँदो २ वर्षभित्र महानगरवासी सबैले आयोजनामार्फत पानी उपभोग गर्न पाउने जानकारी दिइन् ।
यसैगरी, खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले महानगरमा जनप्रतिनिधि आउँदा ५७ प्रतिशत महानगरवासीले शुद्ध र सहज रुपमा पानी उपभोग गर्ने गरेकामा अहिले यो प्रतिशत ९० पुगेको बताए ।

उनकाअनुसार बन्दै गरेका आयोजना सम्पन्न हुँदा ९७ प्रतिशत महानगरवासीले आयोजनाहरुको पानी उपभोग गर्न पाउनेछन् । महानगरपालिकाभित्र खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको उनको भनाइ छ ।

महानगर बन्नुअघि गाविस रहेको कविलासमा पानी लिन जानका लागि दुई घण्टा उकालो÷ओरालो हिँड्नुपर्ने बाध्यता थियो । अहिले सो बाध्यताबाट स्थानीय मुक्त भएका छन् । घरघरमा खानेपानी पुगेको वडाध्यक्ष मनबहादुर रानामगरले बताए ।

“अब एक महिनापछि हाम्रो डाँडामा खानेपानीको समस्या छ भन्नु पर्दैन ।”
भरतपुर महानगरपालिका–१९ मा सबैभन्दा ठूलो खानेपानी आयोजना सञ्चालन भइरहेको छ । जसमा ५९ करोडको शारदानगर खानेपानी आयोजनाको काम धमाधम भइरहेको वडाध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

“अब एक वर्षमा वडावासीले आयोजनामार्फत शुद्ध खानेपानी खान पाउँछन् ।”  उनकाअनुसार यो आयोजनाबाट चार हजार ५०० घरधुरी लाभान्वित हुनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्