काठमाडौं । नियम विपरित सेयर खरिद गर्ने जीवन विकास लघुवित्तका संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्व सीईओलाई नियामकले नै संरक्षण गरेको आरोप लागेको छ । संस्थागत सुशासन विपरित सेयर कारोबार गर्ने पदमा आसीन संस्थापकलाई नेपाल राष्ट्र बैंकले ऐन बमोजिम कारबाही नगरेको आरोप संस्थाकै कर्मचारीले लगाएका हुन् ।
गत आर्थिक वर्षमा संस्थापक रुपमा आसीन सञ्चालकहरुले कानुन विपरित पौने ५ लाख कित्ता सेयर खरिद गरेका थिए । राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले गत आवको अन्त्यमा गरेको स्थलगत निरिक्षण संस्थाका कार्यकारी प्रमुख (सीईओ) र पूर्व सीईओले नियम विपरित सेयर खरिद गरेको भेटको हो ।
राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाअनुसार संस्थापकहरुले पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म संस्थाको सेयर खरिद बिक्री गर्न पाउँदैनन् । गत आवमा संस्थाले पुँजी वृद्धि गर्न संस्थापकहरुका लागि हकप्रद जारी गरेको थियो । जसमा संस्थापक पदमा रहेको र पदबाट हटेको १ वर्ष नपुगेकाहरुले खरिद गर्न पाउँदैनन् । राष्ट्र बैंकको नियमअनुसार सो हकप्रद सेयरमा पदमा नरहेका संस्थापक र बाहिरकाहरुले मात्र खरिद गर्न पाउँथे ।
जीवन विकास लघुवित्तको सेयरमा घोटालाः सीईओ र पूर्व सीईओले नियमविपरित खरिद गरे सेयर
संस्थाले पुँजीवृद्धिका लागि हकप्रद जारी गरेको थियो । उक्त हकप्रद संस्थाका पदमा आसीन संस्थापकहरुले पौने ५ लाख कित्ता हकप्रद गैरकानुनी रुपमा खरिद गरेका थिए ।
जसमध्ये संस्थाका कार्यकारी अधिकृत (सीईओ) सञ्जयकुमार मण्डलले १ लाख कित्ता बढी र पूर्वसीईओ योगेन्द्र मण्डलले करिब २ लाख कित्ता र संस्थाका उच्च व्यवस्थापनका कर्मचारीले गरी ४ लाख ७८ हजार ३ सय ३८ कित्ता सेयर नियम विपरित खरिद गरेका हुन् ।
गैरकानुनी कारोबारलाई राष्ट्र बैंकको संरक्षण
नियम विपरित सेयर खरिद गर्ने पदमा आसीन संस्थापकहरुलाई नियमसंगत सेयर बिक्री गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । गैरकानुनी रुपमा सेयर खरिद गर्ने पदमा आसीन संस्थापकलाई कानुनी डण्डा चलाउन पर्ने माग गर्दै संस्थाका कर्मचारी र केही लगानीकर्ता राष्ट्र बैंक पुगेका छन् ।
‘राष्ट्र बैंकको संस्थापक सुशासनअनुसार पदमा आसीन संस्थापकले संस्थाको सेयर खरिद गरेमा उक्त सेयर खारेज गर्न सकिने प्रष्ट उल्लेख छ,’ संस्थाका एक लगानीकर्ताले सिंहदरबारसँग भने, ‘सेयर जफत गर्न छोडेर राष्ट्र बैंकले गैरकानुनी कारोबार गर्ने संस्थापकलाई संरक्षण गर्दै पदमा आसीन नभएका संस्थापकलाई बिक्री गर्न निर्देशन दियो ।’
राष्ट्र बैंकले कानुनको अपव्याख्या गर्दै कारबाही गर्न छोडेर सेटलमेन्टको बाटो रोजेको उनीहरुको आरोप छ ।
‘हामीले कानुन संगत कारबाहीको माग गरेका हौं, सोहीअनुसार राष्ट्र बैंकमा उजुरी गरेका छौं, नियामक निकायले न्याय गर्नुपर्छ,’ संस्थाका एक संस्थापक सेयरधनी भन्छन्, ‘कानुन विपरित खरिद भएको सेयर संस्थालाई जफत गर्न आदेश दिन सक्ने राष्ट्र बैंकले अर्को संस्थापकलाई बिक्री गर भन्दै संरक्षण गरिरहेको छ ।’
सो सेयर खरिद गर्ने पहिलो अधिकार संस्थापकलाई नै भएपनि सीईओ र पूर्व सीईओले आफ्नाहरुलाई नै सेयर बिक्री गर्न हाम्रो आवेदन समेत नलिएको गुनासो ती संस्थापकको छ ।
संस्थापक सेयर खरिद बिक्री गर्नुपर्दा पहिलो प्राथमिकता संस्थाकै संस्थापकहरुलाई हुन्छ । यदी संस्थापकले लिन नचाहेको खण्डमा मात्र बाहिरका लगानीकर्तालाई सेयर बिक्री गर्न पाउने व्यवस्था राष्ट्र बैंकको छ । तर, यसका लागि राष्ट्र बैंकले बाहिरका लगानीकर्ता संस्थापक बन्न योग्य छ/छैन त्यसका लागि ‘फिट एन्ड प्रपर टेस्ट’ गर्छ । उक्त टेस्टमा पास भएपछि मात्र संस्थाको सेयर ट्रास्फर गर्ने अनुमति राष्ट्र बैंकले संस्थालाई दिन्छ ।
राष्ट्र बैंकको निर्देशन विपरित सेयर खरिद बिक्री गर्ने जिवन विकास लघुवित्त कारवाहीमा
राष्ट्र बैंकले असोज १२ गते जीवन विकासको गैरकानुनी रुपमा खरिद गरिएका संस्थापक सेयरलाई एक वर्ष भित्र नियमभित्र ल्याउन पत्र पठाएकोे थियो । सोही अनुसार संस्थाले गत कात्तिक १५ गते सेयर बिक्रीका लागि सार्वजनिक सूचना निकालेर संस्थापकलाई आह्वान गरेको थियो ।
संस्थाले सेयर खरिद गर्न इच्छुक संस्थापकलाई १५ दिन भित्र आवेदन दिन भनेको थियो । उक्त मितिमा संस्थापकहरुले आवेदन नदिएको खण्डमा सो सेयर बाहिरका लगानीकर्ताले खरिद गर्न पाउँछन् ।
संस्थाले दिएको समयमा साविकका संस्थापकहरुले सेयर खरिदका लागि इच्छुक हुँदै आवेदन दिँदा पनि कतिपयको आवेदन नै रद्ध गरिएको एक संस्थापक सेयरधनीको गुनासो छ ।
‘हामीले आवेदन दिएका हौं, तर खरिदका लागि योग्य नभएको भन्दै बाहिरका लगानीकर्तालाई आवेदन दिने मौका दिइएको छ, राष्ट्र बैंकले समेत वास्तविकता नबुझी यसमा सहयोग गरेको बुझिन्छ,’ संस्थाका ती संस्थापकले भने ।
कानुनी व्यवस्था के छ ?
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनको संस्थागत सुसाशन सम्बन्धी व्यवस्थाले पदमा आसीन संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतलार्ई सेयर खरिद बिक्री गर्न बन्देज गरेको छ । सोही एकीकृत निर्देशनमै २ प्रतिशतभन्दा कम सेयर खरिद तथा हकप्रद सेयर खरिदको व्यवस्थाले समेत संस्थाको पदमा आसीन वा पदबाट हटेको एक वर्ष नपुगेका संस्थापकलाई सेयर खरिद बिक्री गर्न नपाइने उल्लेख छ ।
यस्तो छ, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०७७ को व्यवस्था
हकप्रद सेयर बिक्री सम्बन्धमा
(क) तोकिएको पुँजीकोष अनुपात कायम गरेका लघुवित्त वित्तीय संस्थाहरूको हकमा हकप्रद सेयर जारी गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ (१) बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गरिएको सेयर धारण गर्ने कुनै सेयरधनीले खरिद नगरेमा वा सेयर खरिद गर्ने हक अरूलाई बिक्री वा हस्तान्तरण नगरेमा त्यसरी बिक्री हुन नसकेको हकप्रद सेयरको अंश खण्ड (ग) मा उल्लिखित अवस्थामा बाहेक अन्य अवस्थामा स्वतः खारेज गर्नु पर्नेछ ।
(ख) खण्ड (क) बमोजिम खारेज गर्नु परेको अवस्थामा प्रत्येक वर्ष समानुपातिक रूपमा चुक्ता पुँजी वृद्धि गर्दै लैजानु पर्ने यस बैंकको प्रावधान पालना गर्ने प्रयोजनका लागि त्यस्तो खारेजी गर्नु परेको सेयरको रकमको हदसम्मलाई आगामी वर्षमा समायोजन गर्न सकिने छ ।
(ग) खण्ड (क) बमोजिम स्वतः खारेज गर्नुपरेको कारणबाट प्रचलित कानुनी तथा नीतिगत व्यवस्था बमोजिम सेयर स्वामित्व संरचनामा प्रतिकुल असर पर्ने अवस्था भएमा मात्र त्यस्तो सेयरको अंश सार्वजनिक सूचना मार्फत सार्वजनिक बोलकबोलको आधार (Public Auction Basis) मा न्युनतम प्रति सेयर मूल्य रु. १०० तोकी बिक्री गर्न सकिने छ । यसरी सार्वजनिक बोलकबोलको माध्यमद्वारा बिक्री गर्दा प्रति सेयर रु. १०० भन्दा बढी प्राप्त हुन आउने रकम (Premium) लाई सम्बन्धित लघुवित्त वित्तीय संस्थाले छुट्टै Share Premium शीर्षक अन्तर्गत देखाउनु पर्नेछ ।
(घ) संस्थापक/संस्थापक समुह अन्तर्गतको बिक्री हुन नसकेको यस्तो हकप्रद सेयरको अंश प्रचलित व्यवस्था अनुरुप विद्यमान संस्थापकहरुलाई बिक्री गर्न सकिने छ । प्रचलित कानुन बमोजिम लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर अन्य व्यक्तिलाई बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थामा सेयर संख्या र औचित्यका आधारमा बाध्यात्मक रुपमा बिक्री गर्नु पर्नेछ ।
उक्त संस्थापक सेयर बिक्री गर्नका लागि खरिदकर्ताको पहिचान गर्ने सम्बन्धमा देहायको प्रकृया अवलम्बन गर्न सकिनेछः
संस्थापक सेयर सार्वजनिक सूचना गरी बोलकबोल (गोप्य सिल्डटेण्डर) को माध्यमबाट प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति एवम्निर्देशन विपरित नहुने गरी सम्बन्धीत लघुवित्त वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थालाई बिक्री गर्न खरिदकर्ता छनौट गर्न, प्रचलित कानुन तथा विद्यमान निर्देशनमा भएको व्यवस्था बमोजिम यसरी संस्थापक सेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समुहमा नै पर्ने व्यहोरा समेत जानकारी गराउने ।
संस्थापक सेयर खरिदकर्ता पहिचान भइसकेपछि चुक्ता पँुजीको २ प्रतिशतभन्दा घटी संस्थापक सेयर धारण गर्ने संस्थापक सेयरधनीको संस्थापक सेयरको हकमा बुँदा नं. १५ मा उल्लिखित प्रकृया अपनाई सेयर बिक्री वा नामसारी गर्नु पर्ने । तर, चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व धारण गरेको अवस्थामा सेयर बिक्री/हस्तान्तरण वा नामसारी सम्बन्धी प्रकृया यस बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र अघि बढ्ने ।
यस प्रकृयाबाट सेयर खरिद गर्ने व्यक्ति/संस्था प्रचलित व्यवस्था अनुसार योग्यता पुगेको हुनु पर्नेछ ।
(ङ) लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्दा साविकका संस्थापक सेयरधनीहरुले खरिद गर्न पाउने हकप्रद सेयरको सम्पूर्ण वा आंशिक हक हस्तान्तरण गर्न चाहेमा प्रचलित कानुन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था गरी चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयर लिएका संस्थापक सेयरधनीको हकमा सम्बन्धीत लघुवित्त वित्तीय संस्थाले देहायका सर्तको अधिनमा रही हक हस्तान्तरण गर्न सक्नेछन् ।
१. संस्थापक/संस्थापक समुहको हकप्रद सेयरको हक हस्तान्तरण संस्थापक समुहलाई पहिलो प्राथमिकता दिनु पर्नेछ ।
उपयुक्त बमोजिम संस्थापक/संस्थापक समुहको हकप्रद सेयरको हक हस्तान्तरण संस्थापक समुहलाई पहिलो प्राथमिकता दिँदा देहाय बमोजिमको प्रक्रिया अपनाउनु पर्ने गरी स्पष्ट गरिएको छः
हकप्रद सेयरको हक हस्तान्तरण गर्न चाहने सेयरधनीले बिक्री मूल्य तोकी हक हस्तान्तरण गर्न चाहेको निवेदन लघुवित्त वित्तीय संस्थामा पेश गर्नु पर्नेछ । यसरी निवेदन पेश गरेपछि ७ दिनको समय तोकी संस्थाले पहिलो प्राथमिकतामा परेका सेयरधनीलाई सूचना दिनु पर्नेछ । यसरी पहिलो प्राथमिकतामा परेका सेयरधनीेले ७ दिनभित्र सो मूल्यमा हक लिन नचाहेमा मात्र अन्य व्यक्ति वा संस्थालाई हस्तान्तरण गर्न सकिन्छ ।
२. खण्ड (१) बमोजिम संस्थापक समुहमा सेयरको हक हस्तान्तरण हुन नसक्ने अवस्था भएमा मात्र अन्य व्यक्ति वा संस्थालाई यस निर्देशनका अधिनमा रही सेयरको हक हस्तान्तरण गर्न सकिने छ ।
यसरी संस्थापक समुहको सेयरको हक हस्तान्तरण गरी लिने व्यक्ति वा संस्था पनि संस्थापक समुहमा नै समावेश हुने छ ।
३. प्रस्तावित संस्थापक सेयरधनी यस बैंकबाट जारी निर्देशन अनुसार संस्थापक सेयरधनीको लागि तोकिएको योग्यता (Fit & Proper Test) पुरा भएको हुनु पर्नेछ ।
४. प्रस्तावित संस्थापक सेयरधनी कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको हुनु पर्नेछ ।
५. प्रस्तावित संस्थापक सेयरधनीले आफ्नो लगानीको स्रोत खुल्ने कागजातका साथै पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र र÷वा कर दाखिला गरेको निस्सा समेत पेश गर्नु पर्नेछ ।
६. उल्लिखित व्यवस्थाको अधिनमा रही हकप्रद सेयरको हक हस्तान्तरण गरेको विवरण यस बैंक समक्ष पेश गर्नु पर्नेछ ।
(च) खण्ड (क) देखि (ङ) सम्म जुनसुकै कुरा लेखिएको भएतापनि लघुवित्त वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पद छाडेको कम्तीमा १ वर्षसम्म सम्बन्धीत लघुवित्त वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको हकप्रद सेयर अन्य कुनै पनि व्यक्ति वा संस्थालाई हक हस्तान्तरण गरिदिन वा अन्य कुनै पनि व्यक्ति वा संस्थाबाट हक हस्तान्तरण स्वीकार गरिलिन हुँदैन ।
उल्लिखित प्रक्रिया नपुर्याइ संस्थापक सेयर खरिद/बिक्री गरेमा सम्बन्धित संस्थापक सेयरधनीलाई देहाय बमोजिमको कारबाही हुनेछ ।
(अ) नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सचेत गराउने लगायतका अन्य कारबाही ।
(आ) बिक्रेता संस्थापक सेयरधनीको संस्थापक सेयर सोही संस्थाले जफत गर्न सक्ने ।
(इ) खरिदकर्ता र बिक्रेतालाई सेयर खरिद/बिक्री गरेको मितिले ५ वर्षसम्म अन्य संस्थाको संस्थापक सेयरमा लगानी गर्न र इजाजतपत्रप्राप्त कुनै पनि संस्थाको सञ्चालक हुन बन्देज लगाउने ।
प्रतिक्रिया दिनुहोस्