Shikhar Insurance
National Life

प्रणालीबाट ४ महिनामै १ खर्ब बढी लगानीयोग्य रकम गायव, गर्जो टार्न वैकल्पिक बाटो खोज्दै बैंक

सिंहदरबार संवाददाता
२०७८ मंसिर १८, शनिबार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको साढे ४ महिनामै बैंकिङ प्रणाली १ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम (तरलता) हराएको छ । गत साउनको पहिलो साता १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थियो । जुन मंसिर दोस्रो सातासम्म आइपुग्दा १ खर्ब ३ अर्ब ३३ करोड रुपैयाँले घटेर २२ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ ।

यसबीच प्रणालीबाट लगानीयोग्य रकम ८२.१६ प्रतिशतले घटेको हो । तरलता संकुचन बढ्दै गएपछि गर्जो टार्न बैंकहरूले वैकल्पिक बाटो पहिल्याएका छन् । बैंकहरूले स्रोत व्यवस्थापनमा पर्याप्त निक्षेप संकलन गर्न नसक्दा आपसी सापटी कारोबार, स्थायी तरलता सुविधा (एसएलएफ), रिपो मार्फत गर्जो टारिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साउनको पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म हेर्दा बैंकहरुले गर्ने अन्तर बैंक सापटी कारोबारको ब्याजदर समेत ४.७१ प्रतिशत बिन्दुले बढेको छ । साउन पहिलो साता बैंकहरुले ०.२४ प्रतिशत ब्याजदरमा आपसी सापटी कारोबार गरेका थिए । मंसिर १६ गते आइपुग्दा यस्तो कारोबारको ब्याजदर ४.९५ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

तथ्यांक हेर्दा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर समेत स्रोत संकलन गर्न नसकेपछि गर्जो आपसी सापटी कारोबारबाट टारेको प्रष्ट हुन्छ । प्रणाली तरलता अभावको समस्या निक्षेपको ब्याजदर वृद्धि गर्दा समेत नभएपछि बैंकहरुले महंगो ब्याजदरमा अर्को बैंकबाट सापटी लिएर गर्जो टारेका हुन् ।

यसअवधिमा बैंकहरुले ३ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ बराबरको ८६३ वटा अन्तर बैंक कारोबार गरेका छन् । पास भइसकेको कर्जा भुक्तान गर्न समेत संस्थामा पैसा नहुँदा बैंकहरुले अन्तर बैंक सापटी कारोबार करिब ५ प्रतिशत ब्याजदरमा गरेका छन् ।

साथै, बैंकहरुले राष्ट बैंकबाट ५ खर्ब ७८ अर्ब ७७ करोड रुपैयाँ स्थायि तरलता सुविधा (एसएलएफ) समेत प्रयोग गरिसकेका छन् ।

बैंक तथा वित्त कम्पनीहरुले मंसिर १६ गतेसम्म ४७ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने बैंकिङ प्रणालीमा २२ अर्ब ४३ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

उक्त रकम बैंकहरुले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । बैंक तथा वित्त कम्पनीहरुले कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआरमा राख्नुपर्ने हुन्छ । सीआरआरमा बैंक तथा वित्त कम्पनीहरुले दैनिक संकलित कुल निक्षेपको ३ प्रतिशत जम्मा गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ ।

बैंकहरुले आकस्मिक आवश्यकता पुरा गर्नका लागि अन्तर बैंक सापटी ७ दिनका लागि लिन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ । तर, ब्याजदर करिडोर अन्तरगर्त यस्तो कारोबारको ब्याजदर ५ प्रतिभन्दा माथि जान नदिने उल्लेख गरिएको छ । यसरी अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि जान नदिनलाई राष्ट्र बैंकले समय सयममा मौद्रिक उपकरण मार्फत् बजारमा तरलता प्रवाह गर्छ ।

चालु आवमा मात्र राष्ट्र बैंकले २ खर्ब २० अर्ब रुपैयाँ रिपो मार्फत् तरलता प्रवाह गरिसकेको छ । तर, बैंक तथा वित्त कम्पनीहरुले तरलता अभावकै कारणले आह्वान गरिएको रिपोमा पनि ५ खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ माग गरिसकेको छन् ।

रिपो बैंकहरुले अधिकत ५ प्रतिशत ब्याजदरमा लिएका हुन् ।

चालु आर्थिक वर्ष शुरु भएसँगै कर्जाको माग अत्याधिक बढेको भने आवश्यकताअनुसार निक्षेप संकलन बैंकहरुले गर्न सकेका छैनन । कर्जाको माग भने बढ्दा प्रणालीमा तरलता संकुचन हुँदै जाँदा बैंकहरुले आफ्नो गर्जो अन्तर बैंक सापटी कारोबारबाट टार्न खोज्छन् । यसले यस्तो सापटी कारोबारको माग बढेसँगै ब्याजदर समेत बढाएको बैंकरहरु बताउँछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्