Shikhar Insurance
National Life

मूल्य घट्दा पनि कमाउन सक्ने व्यवस्था हुँदै, सेयर सापटी लेनदेनबाट यसरी हुन्छ लाभ (प्रतिवेदन)

रोविन पौडेल
२०७८ मंसिर १७, शुक्रबार २०:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजार बढेको बेलामा मात्र नभएर घटेको बेला पनि कमाउन सकिने व्यवस्था हुने भएको छ । सेयर सापटी लेनदेनसम्बन्धि व्यवस्थामार्फत् मूल्य घटेको बेला पनि कमाउन सकिने वातावरण नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बनाउन लागेको हो ।

नेप्सेले अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन गरेको छ । अध्ययन प्रतिवेदनले सेयर सापटी लेनदेनमार्फत् घटेको बेला पनि कमाउन सकिने बाटो देखाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेको अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट अध्ययन उपसमितिले गरेको अध्ययनले सुझाएअनुसार आवश्यक नीतिगत व्यवस्था भएपछि लगानीकर्ताले बजार वा सेयर मूल्य घट्दा पनि कमाउन सक्नेछन् ।

नेप्सेका प्रवक्ता मुराहरी पुराजुली नेतृत्वको उपसमितिले चैत ५ गते ‘अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन, २०७७’ तयार पारिसकेको छ ।

उक्त अध्ययन प्रतिवेदनले औंल्याएका विषय हाल सम्बन्धित निकायमा छलफलको क्रममा छन् । अध्ययन प्रतिवेदनले औंल्याएका विषय कार्यान्वयन भएमा बजार घट्दा पनि लगानीकर्ताले लाभ लिन सक्नेछन् ।

के हो सेयर सापटी लेनलेनको व्यवस्था ?
आम सर्वसाधारण लगानीकर्तामा एउटा सोझो बुझाइ छ, सेयर बजार इन्डेक्स बढ्दा सेयरबाट कमाइ हुन्छ र घट्दा लगानी गुम्छ । कम्पनीको हकमा पनि यस्तै हुन्छ, मूल्य बढ्दा कमाइ हुन्छ, र घट्दा लगानी गुम्छ ।

यसकारण नेपाली सेयर बजारका हरेक लगानीकर्ता सेयरको मूल्य बढ्नुपर्छ भन्नेमात्र चाहना राख्छन् ।

तर, बजारमा यस्ता अरु विकल्प र औजार पनि छन् । जसको प्रयोगले मूल्य घट्दा पनि कमाउन सकिन्छ । धितोपत्र सापटी लेनदेन (सेयर लेन्डिङ एन्ड बरोइङ) यस्तै एउटा अभ्यास हो ।

अमेरिका, भारत, चीन, पाकिस्तान, ताइवान, सिंगापुर, बंगलादेशलगायत देशमा यस्तो अभ्यास छ ।

धितोपत्र सापटी लेनदेनको अभ्यासमा एउटा कारोबारीले दोस्रो व्यक्तिसँग तोकेको अवधि (मानौं १५ दिन) का लागि तोकेको संख्यामा सेयर सापट लिन्छ । र, १६औं दिनमा सम्झौताअनुसार सेयर फिर्ता गर्छ ।

यसबीचमा सेयरको मूल्य घटे सापट लिनेले नाफा गर्न सफल हुन्छ र मूल्य बढे उसलाई घाटा हुन्छ ।

अर्थात्, सेयर बजारमा मूल्य घटोस् भन्ने चाहना राख्ने लगानीकर्ता पनि हुन्छन् ।

घट्दा लाभ हुने कारोबारी बजारमा हाबी भएमा कम्पनीको मूल्यसँगै सेयर परिसूचकमा गिरावट आउँछ । त्यतिबेला सापटी लिनेहरुले कमाउँछन् । नत्र, गुमाउँछन् ।

‘घटोस्’ भन्ने कारोबारी पनि कहिलेकाहीँ हाबी हुने भएकाले सापटी लिन पाउने बजारलाई सन्तुलित बजार मानिन्छ । यस्ता कारोबारी भएको सेयर बजार असन्तुलित ढंगले बढ्न सक्दैन । र, परिसूचक जहिल्यै यथार्थ रहन्छ ।

नयाँ औजारको आवश्यकता
नेपालमा संगठीत स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा आएको तीन दशक पुग्नै लाग्दा पनि धितोपत्र बजारमा कारोबारयोग्य औजारमा विविधता आउन नसकेको गुनासो चौतर्फी छ । बजार संरचना व्यापक नभएको, विभिन्न किसिमका जोखिम वहन गर्न सक्ने र प्रतिफल प्राप्त गर्न खोज्ने लगानीकर्ता तथा धितोपत्र व्यवसायीलाई सरकार, नियामक निकाय र बजारले सम्बोधन गर्न नसकेको चर्चा हुने गरेको छ ।

धितोपत्रको कारोबारलाई प्रमुख पेशा बनाई पुँजी बजारमा लगानी गरेको अनुभव हासिल गरेका, बजारको सम्भावित जोखिमलाई बुझेका तथा लगानीको प्रतिफललाई उच्च बनाउने गरी सामान्य विश्लेषण गर्न सक्ने क्षमता भएका व्यक्तिलाई पर्याप्त व्यावसायिक अवसर छैन भन्ने गुनासोलाई सम्बोधन गर्न नेप्सेले एउटा अध्ययन गरेको छ ।

त्यस्तो अवसर सिर्जना गर्ने एक विषय अन्तर्दिवसीय कारोबार हुन सक्ने अध्ययन प्रतिवेदनले औंल्याएको छ । साथै धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सञ्चालन पनि सँगसँग गर्नुपर्ने हुन्छ ।

विकसित तथा परिपक्व बजारमा गरिएको यस्ता अभ्यासलाई भित्र्याउँदा नेपालको दोस्रो बजारमा नयाँ आयाम थपिने नेप्सेको ठहर छ ।

लगानीकर्ताले कसरी पाउँछन् लाभ ?
अन्य सम्पत्ति जस्तै धितोपत्र (सेयर) पनि सापटी लिनेदिने गर्दा लिने र दिने दुवै पक्षलाई फाइदा हुन्छ । सामान्यतयाः ठूलो परिमाणमा सेयर किनेर होल्ड गर्दा बजारमा आपूर्तिको अभाव हुने सम्भावना हुन्छ ।

सापटी लिन पाउने व्यवस्था भए बजारमा तरलता (पर्याप्त सेयर संख्या) सिर्जना गर्नुका साथै बजारको दक्षता अभिवृद्धि गर्छ ।

यो प्रक्रियामा सेयर सापटी दिनेले निश्चित शुल्क (ब्याज) पाउँछ । सापटीमा लिनेले नाफा कमाउने स्पेस सिर्जना हुन्छ ।

प्रायः देशको सेयर बजारमा दुई मुख्य उद्देश्यसहित सेयरको सापटी लिनेदिने गरिन्छ । लेनदेन कार्यमा धितोपत्र माग गर्ने ग्राहकका दुई वटा उद्देश्य हुन्छन् ।

पहिलो, सापटी लिएर बिक्री गर्ने र मूल्य घटेको बेला किनेर फिर्ता दिने ।

दोस्रो, कारोबार गरिसकेपछि धितोपत्र उपलब्ध गराउन नसक्दा सापटी लिएर पूर्ति गर्ने ।

मानौं,
सरोज नाम गरेको व्यक्तिसँग कुनै १ कम्पनीको ५० हजार कित्ता सेयर छ । सरोज १ महिनासम्म सेयर नबेच्ने सुरमा बसेका छन् । सेयर सापटीमा लिन पाउने व्यवस्था भए सरोजले श्यामलाई १५ दिनका लागि ३० हजार कित्ता सापटीमा दिन पाउँछ ।

र, सम्झौताबमोजिम श्यामले सरोजलाई १६ औं दिनमा ३० हजार कित्ता सेयर र त्यसको शुल्क (ब्याज) बुझाउँछन् ।

सरोजले होल्ड गर्नुको सट्टा सापटी दिँदा ब्याज कमाउने पाटो एकातर्फ छ ।

अर्कातर्फ श्यामले यो अवधिमा बजारमा खेल्ने अवसर पाउँछन् । उनले मूल्य घट्ने सम्भावनालाई अवसर बनाउँछन् ।

उनले ६ सय रुपैयाँ हुँदा सेयर सापटी लिएर त्यसलाई तुरुन्तै बेच्छन् । र, मूल्य घटेर ५ सय पुग्दा फेरि किन्छन् । र, सरोजलाई १६ दिनभित्र फिर्ता गरिसक्छन् ।

यसरी मूल्य घटेपनि १५ दिनमा उनलाई प्रतिकित्ता १ सय रुपैयाँ नाफा हुन्छ ।

सम्भव देखियो इन्ट्रा डे कारोबार, झण्डै ४० कम्पनी योग्य

धितोपत्र सापटी लिनेदिने प्रक्रियाका मुख्य व्यवस्था
नेप्सेका प्रवक्ता पराजुलीको नेतृत्वमा गरिएको अध्ययन प्रतिवेदनले धितोपत्र सापटी लिनेदिने प्रक्रियामा मुख्य व्यवस्था यस्ता हुनुपर्ने औंल्याएको छ ।

– धितोपत्र सापटी लिनेदिने प्रक्रियामा सहभागी हुने मध्यस्थकर्ताले नियामक निकायबाट अनुमति लिनुपर्छ ।
– दाता र मध्यस्थकर्ताबीच सम्झौता हुनुपर्र्छ । मध्यस्थकर्ताले धितोपत्र निक्षेप गरेको निस्सा दातालाई दिनुपर्छ र मध्यस्थकर्ता दाताको ट्रस्टी हुन्छ । मध्यस्थकर्ताले सम्झौतामा तोकिए अनुसार निक्षेप गरिएको धितोपत्र र त्यसबाट प्राप्त लाभ फिर्ता गर्ने सुनिश्चितता प्रदान गर्नुपर्छ ।
– सापटी लिने कारोबारी र मध्यस्थकर्ताबीच सापटी लिने अवधि, धितोपत्रको किसिम, शुल्क, जरीवाना, सापटी लिनका लागि राखिएको धितो, विवाद समाधान लगायतका विषय खुलाई सम्झौता हुनुपर्छ ।
– लाभांश प्राप्त गर्ने, हकप्रद प्राप्त गर्ने, साधारण सभामा भाग लिने, सञ्चालक चुन्ने र सञ्चालक चुनिने अधिकार दातामा रहन्छ ।
– सापटी लिनेदिने कार्यमा संलग्न हुन पाउने कारोबारीको योग्यता तथा सापटी लिनदिन सकिने धितोपत्र नियमक निकायले तोक्छ ।
– सापटी लिनेदिने कार्यमा मार्जिनको व्यवस्था हुन्छ ।
– धितोपत्र सापटी लिनेदिने कार्यमा सापटी दिनेले फिर्ता लिने र सापटी लिनेले धितोपत्र अग्रिम भुक्तानी गर्ने व्यवस्था हुन्छ ।
– सापटी लिने वा दिनेले कतिसम्म सापटी लिन वा दिन सक्ने हो भन्ने व्यवस्था हुन्छ । सापटी लिने वा दिनेले दायित्व पूरा नगरेको अवस्थामा सोलाई समाधान गर्ने व्यवस्था हुन्छ ।
– मध्यस्थकर्ताले सर्ट सेलिङ, सापटी लिएको÷दिएको विवरण दैनिक रुपमा स्टक एक्सचेन्ज/केन्द्रीय राफसाफ गृहमा पठाउने गरिन्छ ।
– धितोपत्र सापटी लिनेदिने कार्यका लागि केन्द्रीय राफसाफ गृहले संयन्त्र उपलब्ध गराउँछ ।

यसबाहेक नेपालको परिवेश अनुकुल हुने गरी यसमा थप व्यवस्थाहरु गर्न सकिने प्रतिवेदनको सुझाव छ ।

विदेश र नेपालमा भएको पूर्वाधार तुलना गर्दा
विकसित बजारमा सेयर सापटी लिनेदिने काम पनि अनलाइन प्रणालीमार्फत हुने गरेको छ । कतिपय देशमा सापटी लेनदेन कारोबार संयन्त्र स्टक एक्सचेन्जले उपलब्ध गराएका छन् भने कतिपय मुलुकमा केन्द्रीय निक्षेप तथा राफसाफ सेवा प्रदायकले उपलब्ध गराएका छन् ।

अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सञ्चालनका लागि हालसम्म कुनै नीतिगत पूर्वाधार तयार नभएको अध्ययनले औंल्याएको छ । यसलाई धितोपत्र ऐन, २०६३ अन्तर्गत बनेका नियम विनियमहरुमा परिमार्जन तथा संशोधन गरी सम्बोधन गर्न सकिन्छ र केही नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने हुन्छ ।

हाल सञ्चालनमा रहेका पुँजी बजार सम्बद्ध संस्थाहरु अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटमा सहभागी हुन नपाउनुकको कारण नीतिगत पूर्वाधारको अभाव हो । तापनि ऐननियममा आवश्यक परिमार्जन गरी नेपाल स्टक एक्सचेन्ज, सीडीएससी, धितोपत्र दलाल, मर्चेन्ट बैंकहरु छोटो समयको तयारीमै अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटमा सहभागी हुन सक्ने सम्भावना अध्ययनले औंल्याएको छ ।

अन्तर्दिवसीय कारोबारका लागि सापटी लेनदेन व्यवस्था अनिवार्य शर्त होइन । तर धितोपत्रको सापटी लिनेदिने व्यवस्था नगरी अन्तर्दिवसीय कारोबार सञ्चालन गर्दा विक्रेताले धितोपत्र उपलब्ध नगराएको खण्डमा उक्त कारोबारीको सबै दायित्व अक्सन मार्केटबाट पूर्ति गर्नुपर्ने हुन्छ र अक्सन मार्केटमा दबाब पर्न जान्छ । यसले कारोबारीको लागत बढाउँछ र कारोबार गर्न निरुत्साहित बनाउँछ ।

नेपालमा सापटीसहितको इन्ट्रा डे कारोबारका लागि नेपाल धितोपत्र ऐन, धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा संशोधन गर्नुपर्ने छ भने सीडीएससी, ब्रोकरले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने छ ।

अध्ययनले सापटी लिनेदिने सम्बन्धी नियमावली, विनियमावली र कार्यविधि तथा अक्सन मार्केट सञ्चालन सम्बन्धी कार्यविधि तर्जुमा गर्नुपर्ने औंल्याएको छ । जसमा कर, शुल्क, मार्जिन तथा जरीवाना तय गर्नुपर्ने, सापटी दिन योग्य सेयरको सूची बनाइनुपर्ने, सापटी कारोबारका लागि अनुमति दिइनुपर्ने जस्ता अनिवार्य व्यवस्थाको आवश्यकता औंल्याएको छ ।

यस्तो छ प्रतिवेदनः

GBIME

प्रतिक्रिया दिनुहोस्