Shikhar Insurance
National Life

रिद्धि सिद्धि सिमेन्ट विरुद्ध स्थानीयको आन्दोलन घोषणा, चुनढुङ्गा उत्खनन् रोकेर क्षतिपूर्ति दिन माग

सिंहदरबार संवाददाता
२०७८ मंसिर ११, शनिबार १५:२२
Hyundai
NCELL
NIMB

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ मा सञ्चालित रिद्धि सिद्धि सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै आएका छन् ।

सो उद्योगले मापदण्डविपरीत जथाभावीरुपमा चुनढुङ्गा खानी क्षेत्र उत्खनन गर्दा राक्सिराङ गाउँपालिकाका स्थानीय बासिन्दा समस्यामा परेका हुन् । चुनढुङ्गा उत्खनन कार्यले खानी क्षेत्रको आसपासको सडक बिग्रिने भत्किने, धुलो धुवाँ उड्ने, ध्वनि प्रदूषणलगायत वातावरणीय समस्याबाट स्थानीयवासी पीडित भएकाले उत्खनन कार्य तत्काल रोक्न स्थानीयवासीले माग गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो गाउँपालिका–४ का वडाध्यक्ष सञ्जय कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै उत्खनन कार्य तत्काल रोक्न माग गरे । सो उधोगको राक्सिराङ गाउँपालिका–४ मा चुनढुङ्गा खानी रहेको र चुनढुङ्गाका लागि मापदण्डविपरित उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेकाले त्यस्ता कार्य तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई पाँच बुँदै ज्ञापनपत्र बुझाएको उनले बताए ।

उनका अनुसार चुनढुङ्गा झिक्दा पन्छाएका अन्य ढुङ्गा, गिटी, माटो सर्वसाधारणको जग्गामा फाल्ने गरेका कारण पनि स्थानीयवासी समस्या भोग्न बाध्य भएका छन् । विशेषगरी सिमेन्ट उद्योगद्वारा सञ्चालित चुनढुङ्गा खानीका क्षेत्रमा दिनहुँ उत्खनन गर्दा हेवी मेसिन उपकरणको प्रयोग, टिपरको आवतजावत हुनेहुँदा सडक बिग्रिएकाले स्थानीयवासीमा समस्या हुँदै आएको छ । खानीमा उत्खनन गर्दा पाँच प्रतिशत चुनढुङ्गा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुङ्गा, गिटी र माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ । व्यवस्थितरुपमा उत्खनन कार्य नहुँदा समस्या बल्झिँदै गएको छ ।

ज्ञापनपत्रमा खानी क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, मनहरी–चैनपुर–रतुवा– खैराङ हुँदै कैलाश गाउँपालिकासम्म बाटो निर्माणका लागि आग्रह गरेअनुसार बाटो बनाउँदा त्यसको वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, सामुदायिक वनका पदाधिकारीमाथि बाटोका विषयमा मुद्दा खेप्नुपरेको, विगतमा भएको सहमति र सम्झौता कार्यान्वयन नभएको तथा स्थानीयवासीबीच विवाद बढाएकालगायतका कारणले पनि उत्खनन कार्य तत्काल रोक्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । यसका साथै खानी सञ्चालन गर्नुअघि स्थानीय बासिन्दा, व्यवसायी र सरोकावालाबीच पटकपटक भएको सम्झौता र सहमति कार्यान्वयन नहुँदा उत्खननकर्ता कम्पनी बानियाँ निर्माण सेवा र मोतिदान कन्स्ट्रक्सन प्रालीले स्थानीय व्यवसायीसँग समन्वय नगरी उल्टै प्रहरीप्रशासन लगाएर दुःख दिने कार्य गरेको आरोप वडाध्यक्ष कोइरालाको छ ।

सो उद्योगले व्यवस्थितरुपमा चुनढुङ्गा खानीको उत्खनन नगर्दा खानी आसपास क्षेत्रमा निस्कने धुलोका कारण एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीयवासीको भनाइ छ । घर नजिकै डोजर चल्न थालेपछि खानी आसपासका क्षेत्रबाट निस्कने धुलोका कारण घर धुलाम्य हुने अवस्था आएको उनीहरुको भनाइ छ ।

यसैबीच सो उद्योगले चुनढुङ्गा खानीलाई व्यवस्थित नगरी अनुमति पाएको भन्दा बाहिर गएर उत्खनन गर्दै आएको स्थानीय जनसरोकार मञ्च राक्सिराङ वडा नं ४ का गोपाल मोक्तानले बताए । जथाभावी उत्खनन तथा दोहनले त्यस क्षेत्रभन्दा बाहिर स्थानीयवासीको घर जग्गा रहेकाले समस्या भएको, खानेपानी मुहानमा समस्या भएको र स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेको बताइएको छ । उनले अनुमति प्राप्त क्षेत्रमा मात्र काम गर्न र उद्योगबाट भएका क्षतिको क्षतिपूर्ति प्रदान गर्न माग गरे ।

उद्योगले सञ्चालनमा ल्याएका चुनढुङ्गा खानीका कारण स्थानीयवासीका समस्या देखा परेकाले उद्योगसँग समन्वय गरी समस्या समाधान गर्न पहल गरिने योजना रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उद्योगले वर्षमा अर्बौं रकम नाफा कमाउने तर निजी स्वार्थका लागि गाउँलेलाई चपेटामा पारेर विस्थापित गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध गरिरहेका छन् ।

यस सम्बन्धमा उच्च अदालत पाटन हेटौँडालेसमेत तोकिएको क्षेत्रभन्दा बाहिर गएर उत्खनन नगर्न आदेश जारी गरेको थियो । तरपनि सो आदेशको पालना नगरेको जनसरोकार मञ्च राक्सिराङ वडा नं ४ का मोक्तानले जानकारी दिए । उनले अदालतको फैसलाअनुसार उद्योगले अनुमति प्राप्तभन्दा बाहिर जथाभावी उत्खनन गरेको बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्