Shikhar Insurance
National Life

रिपोमार्फत नै बजारमा पुग्यो १ खर्ब ८५ अर्ब रूपैयाँ तरलता

सिंहदरबार संवाददाता
२०७८ मंसिर १०, शुक्रबार १९:५६
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत एक खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ बराबरको तलरता प्रवाह गरेको छ । यस्तै स्थायी तरलता सुविधामार्फत आठ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनीरहेका छन् । गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको थियो । यस्तै गत कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ बराबरको ऋण लगानी भएकोमा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस आधारमा तीन दिनमा नै निक्षेप रु सात अर्बले घटेको देखिन्छ भने रु सात अर्बले नै कर्जा लगानी भएको थियो । गत साउन मसान्तमा वाणिज्य बैंकमा ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थियो । त्यसबेला ३७ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको थियो ।

गत भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको थियो । असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब रुपैयाँ बराबरको निक्षेप पुग्दा कर्जा भने ३९ खर्ब ९८ अर्ब रुपैयाँ बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।

पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मकरुपमा वृद्धि नभएका कारणले निक्षेपमा चाप परेको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै यस अवधिमा निक्षेप सङ्कलन उपकरणमार्फत् रु ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत् रु २८ अर्ब ३५ करोड गरी कुल रु ६० अर्ब तरलता प्रशोचन गरिएको उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् रु ६० अर्ब तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी रु २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी रु एक खर्ब १४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको थियो ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तको तुलनामा गत असोज मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.९ प्रतिशतले अवमूल्यन भई प्रतिअमेरिकी डलर खरिद विनिमय दर रु १२०.१२ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.८ प्रतिशतले अधिमूल्यन भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्