रसुवा । नेपाल प्रहरीले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन यहाँस्थित टिमुरेमा सिसी क्यामरा जडान गरेको छ । नेपाल–चीनबीचको व्यापारिक कारोवारका लागि पछिल्लो सयम सो स्थानमा आवतजावत बढ्न थालेको छ । यसलाई निगरानी राख्न क्यामरा जडान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले टिमुरे क्षेत्रमा पिटिजेड नामक दुई वटा सिसी क्यामरा जडान भइसकेको जानकारी दिए । उनले भने “ सिसी क्यामराले सुरक्षाका निगरानीमा थप मद्दत पुगेको छ । सीमावर्ती क्षेत्रमा गतिविधिलाई कन्ट्रोल कक्षबाट निगरानी गर्न थालिएको छ । ”
क्यामरा जडानका लागि टिमुरेमा सञ्चालित विभिन्न नौ बैंक र सुक्खा बन्दरगाह निर्माणमा कार्यरत चीनस्थित तिब्बती फुली कन्ट्रक्सन प्रालिले सहयोग गरेको प्रहरीले जनाएको छ । यस्तै दुईदेशका सिमानामा पर्ने रसुवागढी क्षेत्रमा पनि सिसी क्यामरा जडान गरिएको छ । रसुवागढी तथा टिमुरे क्षेत्रको सुरक्षा व्यवस्था मजबुत पार्न र चोरी निकासी नियन्त्रण गर्न प्रहरी प्रमुखले गरेका प्रयास प्रशंसनीय भएको स्थानीय समाजसेवी सुनाऔदी तामाङले बताए ।
यस्तै प्रहरीले स्याफ्रुबेँसी, धुञ्चे, कालिकास्थान र बेत्रावतीका क्षेत्रमा समेत सिसीटिभी जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ । बेत्रावतीदेखि रसुवागढीसम्म २९ वटा सिसी क्यामरा जडान भएकोसमेत प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । स्थानीय प्रशासनको समन्वयमा प्रहरीले गरेका सबै कार्य प्रशंसनीय भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्