आज १७ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण सम्पन्नदेखि चर्चित वाटरगेट कान्डमा रिचार्ड निक्सनले आज आफूलाई निर्दोष साबित गर्न खोजेका थिए । प्रस्तुत विश्व इतिहासमा आज भएका केही घटनाः
१९८९ को भेलभेट क्रान्ति
वर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी सहरमा विद्यार्थीहरुले विशाल प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले दमन गरेको थियो । दमनको विरोधमा भएको देशव्यापी हामहड्तालपछि पूर्वचेकोस्लाभियामा कम्युनिस्ट शासन ढलेको थियो र ४१ वर्षपछि देशमा पहिलो प्रजातान्त्रिक निर्वाचनका लागि ढोका खोलेको थियो ।
एथेन्सको विद्यार्थीको क्रान्ति
सन् १९७३ मा ग्रीसमा भएको एथेन्स पोलिटेक्निक क्रान्ति पनि विश्व इतिहासमा स्मरण लायक घटना हो । एथेन्समा तत्कालिन सैन्य सरकारविरुद्ध सन् १९७३ को १४ नोभेम्बरमा पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । १७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्दा गोली प्रहार गरेको थियो । सो क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा ग्रीसका सम्पूर्ण विद्यालय र क्याम्पस बन्द हुन्छन् ।
सुज नहर निर्माण सम्पन्न
युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो । रेड सी र भूमध्य सागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लागेको थियो ।
रिचार्ड निक्सनको दाबी
चर्चित वाटरगेट कान्डबारे तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सले सन् १९७३ को १७ नोभेम्बरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । निक्सनले आफू निर्दोष भएको दाबी गरेका थिए । ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्ने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका थिए । पदबाट राजीनामा दिने उनी पहिले अमेरिकी राष्ट्रपति हुन् । । निक्सनका उत्तराधिकारी जेराल्ड फोल्डले निक्सनलाई माफी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्