नेपाल बैंकर्स संघको ३५ औं वार्षिक साधारणसभाले अनिल उपाध्यायलाई अध्यक्ष चयन गरेको छ । अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका उपाध्याय सर्वसम्मतिले अध्यक्ष बनेका हुन् ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय बैंकरहरु नैतिक हुनुपर्ने, स–सानो समस्यामा आत्तिन नहुने, एग्रेसिभमात्र नभएर दीगोपनका बारे सोच्नुपर्ने बताउँछन् । सबै बैंकरहरु एकअर्कासँग बाँधिएकाले एक्लै दौडन खोजे सबै लड्ने उनको निश्कर्ष छ ।
अध्यक्ष बनेलगत्तै उपाध्यायलाई सिंहदरबारले सोधेको छः ‘अत्तालिने, निक्षेपको खोसातानी गर्ने, लुपहोल खोज्ने बैंकरको प्रवृत्ति रोक्न तपाईंको कार्यकालमा के गर्नुहुन्छ ? नियामक, सहकर्मी बैंकरसँगकाे सम्बन्ध कसरी सन्तुलित बनाउनुहुन्छ ? बैंकहरूलाई हेर्ने आम दृष्टिकोण कसरी फेर्नुहुन्छ ?’
प्रश्तुत छ, उपाध्यायसँग ‘पालो आर्थिक बहसको…’ (अन्तर्वार्तामा उपाध्यायले दिएको जवाफको सार)
– सबै प्रकारका बैंक एकै हौं । सरकारको लगानी भए/नभएका बैंकको हैसियत एकै हो । एउटै नियम पालना गर्छौं । हामीबीच एकमत पनि छ । फरक सेयर संरचनामात्र हो ।
– बितेको २ वर्ष स्रोत पर्याप्त थिएन । कर्जाको माग कम थियो । कोभिड सकिनेबित्तिकै लगानीका आयाम खुले ।
– यसैबीचमा आयात बढ्यो । स्वीकृत भएको कर्जा निकालियो । सरकारी खर्च कम भयो, रेमिट्यान्स बढ्यो । स्रोत कम भयो, माग बढ्यो ।
– निक्षेपको माग बढी भएकाले ब्याजदर (बैंकहरुका लागि ‘मूल्य’) बढ्यो ।
– मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कर्जा–निक्षेप अनुपात (सीडी) लगायत विषयमा ‘रिल्याक्सेसन’ दिइयो भने तरलताको समस्या समाधान हुने अपेक्षा छ ।
– हिजो विदेशी बैंक तथा वित्तीय संस्थाबाट पैसा (कर्जाको रुपमा) ल्याउने अभ्यास निकै कम भयो, किनकी स्थानीय रुपमै त्योभन्दा सस्तोमा स्रोत जुटाउन सकिन्थ्यो । सीडीमा गणना गर्न पाउने व्यवस्थाले यो स्रोतको आवश्यकता थपिएको छ । फेरि यो काम सजिलो पनि छैन ।
– सीसीडी हटाएर सीडी ल्याउने व्यवस्थाले असहज बनाएको छ । रिल्याक्सेसनका धेरै औजार छन् । नेपाल राष्ट्र बैंकले तिनको उपयोग गरिदेओस् ।
– बैंकले गर्ने लगानी (कर्जा)को क्वालिटी (गुणस्तर)बारे बेलाबेला प्रश्न उठ्ने गरेको छ । केही समस्या रहेछन् भने मिलेर समाधान गरौंला ।
– हालसम्म हामी बैंकहरुले समस्या आएपछि त्यसलाई टाल्ने ‘प्याचिङ’ को काम मात्र ग¥यौं । हामीले अलि दीर्घकालका लागि सोच्नुपर्ने हो ।
– पारदर्शी भएपनि बैंकिङ बिजनेसमा मोरल, इथिक्स सबैभन्दा ठूलो कुरा हो । त्यो कायम गरे हामीलाई कसैले औंला उठाउने ठाउँ रहन्न ।
– बैंकिङ सिद्धान्तले नाफा गर्नैपर्छ भन्छ । नाफा गरिरहँदा त्यसको दीगोपन र स्थायित्व आवश्यक हुन्छ । स–सानो घटना घट्दैमा आत्तिनु हुन्न, अर्को दिमागमा यो पनि राख्नुपर्छ कि नाफा नगरी बैंक चल्दैन ।
– बैंकहरुको लगानीमा प्रतिफल (रिटर्न अन इक्विटी अर्थात् आरओई) १२–१३ प्रतिशत मात्र छ । कर पनि तिरीरहेका छौं । तैपनि नाफा बढी भयो भन्ने आरोप लाग्छ । बैंकको नाफा अंक वा रुपैयाँमा होइन, प्रतिफलको प्रतिशतमा गणना गर्नुपर्छ ।
– १२ प्रतिशत प्रतिफल न्यायोचित छ । पारदर्शी बिजनेस गरेको हो, लुटेको होइन । सञ्चालन मुनाफा हेर्नुस् न ।
– अहिले पुँजीका आधारमा मात्र वर्ग छुट्याइएको छ ।
– अहिलेको चुनौती बैंकिङ च्यानलभन्दा बाहिरको पैसा बैंकमा ल्याउनु होइन, बैंकिङ च्यानलमा आउने पैसा यही च्यानलमा ल्याउने निश्चित गर्नु हो । हुण्डी एउटा उदाहरण हो ।
– बैंकहरु किन बोनस सेयर दिन्छन् ? राष्ट्र बैंक किन बोनस सेयर दिनुपर्छ भन्छ ? लगानीकर्ता किन बोनस सेयरप्रति लालायित हुन्छन् ? भन्ने प्रश्नको जवाफ बजारको मनोभावसँग सम्बन्धित हो । सायद लगानीकर्ता अर्को वर्षको प्रतिफल पनि सुनिश्चित गर्न पो चाहेका हुन् कि !
– लगानीकर्ताको ३ प्रकारका नेचर हुन्छन् । उहाँहरुलाई इम्याच्युअर (अपरिपक्व) भन्न चाहीँ मिल्दैन, परिपक्व भइनसक्नु भएको भने हो । त्यही पनि यो म्याच्युरिटीको कुरा होइन, दिगोपनको हो । तैपनि मैले एउटा कुरा भन्नैपर्छ कि दोस्रो बजारको मूल्य माग र आपूर्तिले निर्धारण गर्छ ।
– बजार मूल्य खेलाडीले पनि तय गर्छन् । सर्वसाधारले ब्यालेन्स सिट अध्ययन गरेर लगानी गर्दा सुरक्षित हुन्छ । मूल्य बढ्दा खुसी हुने र घट्दा तिनै हुन् जो ब्यालेन्स सिट नहेरी लगानी गर्छन् ।
– बैंकिङ कसुरका विषयमा हामी बैंकरबीच पनि छलफल भएको छ । जोखिममा काम गर्नु पनि छ, अर्कोले गल्ती गरिदिँदा आफू नै सजाय भोग्नुपर्ने पनि छ । घटनाको प्रकृति अध्ययन गरी नियतवस् हो वा होइन छुट्याउनुपर्छ । सच्चा मनले काम गरेर कारबाहीमा पर्दा सबैको मनोवल घट्छ ।
– बैंकरहरु कहिलेकाहीँ अनैतिक हुने प्रयास गरेको देखिन्छ । निक्षेप खोसातानीमा विशेष होडबाजी हुने गरेको छ । तर, हामी स्टेबल हुन बढी ध्यान दिऔं । प्याचिङमा मात्र केन्द्रीत हुने प्रवृत्ति छाड्नुपर्ने विषयमा संवेदनशील हुनुपर्छ ।
– मर्जरले बैंक ठूलोमात्र हुँदैन, लागत घट्छ । क्वालिटी बढाउँछ । हिजो १ अर्ब लगानी गर्न ४–५ वटा बैंक मिल्नुपथ्र्यो, आज एउटैले २ अर्ब सजिलै बेहोर्न सक्छ ।
– कृषि विकास बैंक ३० प्रतिशतसम्म प्रतिफल दिएको बैंक हो । हाम्रो वित्तीय स्वास्थ्य राम्रो छ । जोखिम नहुँदा एग्रेसिभ पनि हुने गरेका छौं । हामी दिगोपन सोच्ने बैंक हौं । नाफा राम्रो छ, सबै वित्तीय परिसूचक सबल छन् । हाम्रा लगानीकर्ता निराश हुनुपर्ने स्थिति छैन ।
उपाध्यायसँग गरिएको पुरा कुराकानी सिंहदरबार टीभीमा हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्