काठमाडौं । बैंकिङ जगतको अग्लो स्तम्भ बनेको नबिल बैंक लाभांश घोषणामा पनि सँधै अब्बल बन्दै आएको छ । ३७ वर्षे इतिहासमा कायम गरेको छवि, व्यावसायिक प्रतिस्पर्धामा अब्बलता र वित्तीय परिसूचकमार्फत् कमाएको शाख जोगाउने क्रमलाई नबिलले यसपटक पनि निरन्तरता दिएको छ ।
आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाबाट ३५.२६ प्रतिशत लाभांश बाँडेको नबिलसँग आव २०७७/७८ मा नाफाको उल्लेखनीय वृद्धि हुँदा पनि लाभांश नबढाउनुको विकल्प थिएन । सर्वाधिक लाभांश दिने शाख जोगाइराख्ने र प्रतिफल बढाउने चुनौतीमाझ नबिलले ३८ प्रतिशत लाभांश घोषणा गर्यो, जसले हालसम्म वाणिज्य बैंकहरुद्वारा घोषित लाभांशको सूचीमा शीर्ष स्थान ओगटेको छ ।
प्रतिफल घोषणा गर्दा वाणिज्य बैंकहरुलाई पछि पार्नेमात्र हैन, यो वर्ष बैंकको उद्देश्य ४ वर्षयता निराश हुँदै गएका लगानीकर्तालाई खुसी बनाउनु पनि थियो । ३८ प्रतिशत लाभांश बैंकले आव २०७३/७४ मा वितरण गरेयताकै सबैभन्दा बढी थियो ।
यो लाभांशलाई बैंकले ‘बम्पर’ लाभांश भनेको छ । कोरोना कहरमाझ प्रभावित बनेको व्यावसायिक गतिविधि, नियामकीय व्यवस्थामार्फत् नेपाल राष्ट्र बैंकले आम्दानीमा चलाएको कैंची, प्रोभिजनिङलगायतका व्यवस्थाले बढी नाफा गर्नु र त्यसबाट बढी प्रतिफल दिनु चुनौतीको पहाड थियो । बाध्यताका माझ सो पहाड आरोहण गर्न सफल हुनुले नबिलको बम्पर शब्दलाई पुष्टिमात्र गर्दैन, नबिलको रणनीतिक कार्ययोजनाको सबल परिपालन र कार्यान्वयन भएको महसुस गर्न सकिन्छ ।
आव २०७३/७४ मा बैंकले बोनस सेयर र नगद लाभांश गरी ४८ प्रतिशत लाभांश दिएयता सो मात्रामा प्रतिफल कहिल्यै दिइएको थिएन । सो वर्ष ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश बाँडिएको थियो । त्यसयता बैंकले आर्थिक वर्ष २०७६/७७ मा सर्वाधिक ३३.५ प्रतिशत बोनस सेयर दिएको थियो ।
बीचका दुई वर्षमा बैंकले १२ प्रतिशतमात्र बोनस सेयर दिएको थियो ।
बैंकले आव २०७३/७४ मा १८ प्रतिशत नगद र ३० प्रतिशत बोनस सेयर गरी लगानीकर्तालाई ४८ प्रतिशत लाभांश वितरण गरेकामा आव २०७४/७५ मा लाभांशमा १४ प्रतिशत घटायो । सो आवमा बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशतमात्र बोनस सेयर वितरण गरेको थियो । आव २०७५/७६ मा पनि बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी कुल ३४ प्रतिशत नै वितरण गरेको थियो ।
आव २०७६/७७ मा भने अघिल्लो वर्षमा दिएको प्रतिफलमा १.२६ प्रतिशत थप गर्दै ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद गरी ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
लगानीकर्तालाई दिने प्रतिफल क्रमिक रुपमा बढाएर नबिलले आव २०७७/७८ को सञ्चित मुनाफाबाट ३३.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि समेत ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।
लगानीकर्तालाई उच्चतम प्रतिफल दिन बैंकको कसरत
बैंकले यसरी लगानीकर्तालाई अधिकतम प्रतिफल दिन सक्षम हुनुको मुख्य कारण आफ्नो व्यावसायीक रणनीति परिवर्तन गर्नु नै हो । अघिल्ला वर्षहरुमा बैंकको व्यावसायीक ‘बिहेबियर’ मूल्यांकन गर्ने हो भने नबिल एग्रेसिभ बिजनेस ग्रोथमा गएको थिएन ।
बैंकले यसबीच मुख्य ३ वटा रणनीति परिवर्तन गर्यो । बैंकिङ बजारमा ‘हुने खानेको बैंक’ भनेर चिनिएको नबिलले ‘गरि खानेको बैंक’ हुने प्रयास गर्यो । कर्पोरेट बुकबाट खुद्रा र साना तथा घरेलु व्यवसायतर्फ अग्रसर भयो । जसका कारण बैंकको यिल्ड (उत्पादन) राम्रो भयो र स्प्रेडलाई व्यवस्थापनमासमेत सहयोग मिलेको बैंकका महाप्रबन्धक मनोज ज्ञवाली बताउँछन् ।
बैंकले गत वर्ष नै ५० अर्ब रुपैयाँ कर्जा थप गरी ३० प्रतिशतको वृद्धिदर हासिल गरेको थियो । कर्जा थप्दै गर्दा बैंकले आफूसँग भएको तरलतालाई समयानुकुल ‘अप्टिमाइज’ गर्दै लगेको छ । बैंकले आवश्यकतामा आधारित लगानीमा निकै ध्यान दिएको छ । र, सेयर बजार बढेको बेलामा आफूसँग भएको केही सेयर बिक्री गर्यो, एउटा राम्रो वित्त कम्पनी आफूमा समाहित गर्यो ।
“बैंकले ‘फिल्ड बेस्ड’ लगानीमा विशेष ध्यान दियो, जसका कारण अघिल्लो वर्षभन्दा गत वर्षमा राम्रो आम्दानी गर्न सफल भएको छ । यससँगै केही स्टक (सेयर) लाई उच्चतम मूल्यमा बिक्री पनि गर्यो,” महाप्रबन्धक ज्ञवालीले भने ।
मर्जर/एक्विजिसनमा ३७ वर्षे ‘हिस्ट्रि ब्रेक’, ७२ दिनमै मर्जर सकेर लगानीकर्ताको २७ करोड रुपैयाँ बच्यो
२०३१ असार २९ गते स्थापना भएको नबिल बैंकले व्यावसायिक रणनीतिलाई समयसापेक्षा परिमार्जन गर्ने क्रममा आफ्नो ३७ वर्षे इतिहासमा नगरेको एउटा काम गर्यो । नबिलले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेर ‘हिस्ट्रि ब्रेक’ गरेको हो ।
नेपाल राष्ट्र बैंकले वि.सं. २०७२ साउनमा मौद्रिक नीतिमार्फत् पुँजी वृद्धिको नीति ल्याएको थियो । सो समय केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी २ वर्षभित्र ४ देखि २५ गुणासम्मले बढाउनु पर्ने निर्देशन दियो ।
केन्द्रीय बैंकले व्यवस्था गरेको पुँजी वृद्धिको नीति कार्यान्वयन गर्दै तोकिएको पुँजी पुर्याउन प्रायः बैंकहरुले मर्जर तथा एक्विजिसनको बाटो रोजे । तर, नबिल बैंकले भने मर्जर/एक्विजिसनको बाटो नरोजेर आन्तरिक कसरतबाट तोकिएको पुँजी दिइएको समयमै कायम गरेको थियो ।
तर, राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्दै २०७५ मा ‘बिग मर्जर’ नीति ल्यायो । तोकिएको ८ अर्ब रुपैयाँ पुँजी कायम गरेका वाणिज्य बैंकहरुले समेत बजारमा प्रतिस्पर्धात्मक व्यवसाय गर्न थप साना बैंक तथा वित्त कम्पनीलाई मर्जर/एक्विजिसन गरी नै रहेका थिए । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई आपसमा मर्जर भएर ठूलो बैंक हुन सुझाव दिँदै सहुलियत दिएपछि ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर भए । अहिले नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक मर्जरको प्रक्रियामा छन् ।
यसरी बजारमा वाणिज्य बैंकहरुले मर्जर तथा प्राप्ति गर्दै टक्कर दिन थालेपछि नबिल बैंकले रणनीतिक ‘भुम’ लियो र ३७ वर्षिय इतिहासमै पहिलोपल्ट मर्जर/एक्विजिसनको नीति अंगिकार गर्यो ।
बैंकले चौधरी समूहकै लगानी भएको सबल फाइनान्स ‘युनाइटेड फाइनान्स’ लाई एक्वायर (प्राप्ति) गर्यो । यसले बैंकलाई रणनीतिक दिशानिर्देशन दियो ।
नबिल र युनाइटेड फाइनान्सबीचको मर्जर प्रक्रिया नेपालको इतिहासमै सबैभन्दा चाँडो सम्पन्न भएको हो । ७२ दिनमै मर्जर सक्नु आफैंमा उपलब्धि हो ।
बैंकले मर्जरको इतिहास नै ‘ब्रेक’ गर्नुको मुख्य कारण नै लगानीकर्ताको हित हो । मर्जर अनिवार्य भएका कारण छुट सुविधा उपयोग गर्न नबिलले चाहेको देखिन्छ । २०७८ असार मसान्तपछि फरक वर्गका वित्तीय संस्था मर्ज हुँदा पुँजीगत लाभकर छुट नपाउने व्यवस्था बजेटले गरेपछि नबिलले सबैभन्दा चाँडो मर्जर प्रक्रिया सम्पन्न गरेर नयाँ इतिहास रच्ने प्रयत्न गरेको हो ।
“बैंकले मर्जरमा देखाएको चुस्तताले गर्दा लाभांश घोषणामा सेयरधनीले तिर्नुपर्ने २७ करोड रुपैयाँ बचेको छ,” महाप्रबन्धक ज्ञवालीले भने, “युनाईटेडलाई प्राप्ति गर्ने प्रक्रिया असार मसान्त अगावै सम्पन्न नगरेको भए सेयरधनीले थप २७ करोड रुपैयाँ लाभांश कर बुुझाउनु पथ्र्यो ।” यस्तै, मर्जर एक्विजिसनमार्फत सेयर स्वाप रेसियोबाट क्यापिटल रिजर्भमा थपिएको रकमले लगानीकर्तालाई बढी लाभांश दिन सहयोग गरको उनको भनाइ छ ।
समयानुकुल व्यावसायिक नीतिमा परिवर्तन
बैंकले विभिन्न ‘डाइमेन्सन’ (आयाम) मा अघिल्लो वर्षभन्दा राम्रो गरेको ज्ञवाली सुनाउँछन् ।
“यसबीच बैंकले लागतलाई ‘अप्टिमाइजेसन’ गर्न धेरै मिहिनेत गरेको छ,” ज्ञवालीले थपे, “ब्यालेन्स सिट हेर्ने हो भने पनि आर्थिक वर्ष २०७६/७७ को भन्दा २०७७/७८ को सञ्चालन लागत निकै कम भएको छ जबकि बैंकले यसबीच शाखा संख्या समेत थपिरहेको थियो ।”
बैंकले सबै वित्तीय र व्यावसायिक ‘डाइमेन्सन’ (आयम)मा मिहिनेत गरेको हो । यसमा सीइओ वा उच्च व्यवस्थापन र अन्य व्यवस्थापन टिमलाई मात्र नभएर सञ्चालकहरुलाई पनि बराबर श्रेय दिन्छन् ज्ञवाली ।
नबिलको सञ्चालक समितिमा विभिन्न बैंकमा प्रमुख कार्यकारीको रुपमा व्यवस्थापकीय नेतृत्व गरिसकेका ४ जना व्यक्ति छन् । यो आफैंमा बैंकको बलियो पक्ष हो । यो कारणले पनि व्यावसायिक रणनीति परिवर्तन गरेसँगै सञ्चालक समितिले पनि सोहिअनुसार दिशानिर्देशन गरिरहेको छ ।
आजपनि केही बैंक तथा वित्तीय संस्थामा सञ्चालकहरुले बैंकको उच्च व्यवस्थापनबाट आफ्नो काम गराउने प्रचल छ । तर, नबिलमा त्यसो छैन ।
“बैंकिङ अभ्यास अनुशरण गरेर अनुभव बटुल्नुभएको सञ्चालकहरु हुनुहुन्छ, उहाँहरु बैंकको ग्रोथ, नाफा र सबलतामै केन्द्रित हुनुहुन्छ,” ज्ञवालीले थपे, “यी सबैको समायोजनले नबिल बैंक बैंकिङ इन्डष्ट्रि सबैभन्दा अग्लो टावर बनेर खडा भएको छ ।”
अब कस्तो हुनेछ नबिलको व्यावसायिक रणनीति ?
भोलिको दिनमा पनि बैंकले यही रणनीतिलाई अझ परिस्कृत बनाएर निरन्तरता दिने ज्ञवाली बताउँछन् ।
“बैंकमा सुधार गर्नुपर्ने विषय के छन् ? अध्ययन गरिरहेका छौं । जस्तो कि लागत अझै घटाउन सकिन्छ,” महाप्रबन्धक ज्ञवालीले भने, “यस्ता विषयमा बैंक व्यवस्थापन र सञ्चालक समितिले नै अध्ययन गरी छलफल गरिरहेको हुन्छ ।”
आगामी दिनमा व्यवसाय अभिवृद्धि गर्दै लैजान थप शाखा कार्यालय खोल्ने, मर्जर भएका शाखा स्थानान्तरण गर्ने योजना बैंकको छ । चालु आव भित्रै हाल भएको १ सय ३५ शाखा सञ्जाललाई बढाउँदै १ सय ७० पुर्याउने लक्ष्य बैंकको हो ।
“यससँगै कर्पोरेट बिजनेसबाट खुद्रातर्फ बैंक थप अग्रसर हुनुपर्ने छ,” ज्ञवालीले भने, “बैंकले पहिलेजस्तो कर्पोरेट बैंकिङ नभएर सस्टेनेबल बैकिङमा फोकस गर्नेछ । त्यो भनेको बैंकले गाउँगाउँमा सानोसानो र प्रभावकारी परियोजना कर्जा दिने हो ।”
बैंकले २५ लाख देखि १ करोडसम्मको कृषि कर्जा, उद्यमशीलता कर्जा प्रवाह गर्दै आएको छ ।
सहरको र हुनेखानेको मात्र होइन नबिललाई निटक भविष्यमा गाउँगाउँको र गरि खानेहरुको पनि बैंक बन्ने हुटहुटी छ । किनकी गाउँगाउँमा बैंक पुग्दा घटेको कस्टुमर बेस (ग्राहक आधार) बढ्छ भने फिल्ड बेस्ड लगानी अभिवृद्धि हुनेछ ।
बैंकलाई ग्राहकको संख्या बढाउनु पर्ने ठूलो चुनौती छ ।
“अबका ग्राहक नबिल बैंक भनेर होइन, बैंकको सेवा मुल्यांकन गरेर आउँछन्,” ज्ञवालीले सुनाए, “ग्राहकलाई नबिलसम्म ल्याउनुमात्र होइन, नबिलमा आएपछि उच्चस्तरको सेवा दिनु पनि हाम्रो उद्देश्य हो ।’
मर्जर/एक्विजिसनमा उपयुक्त वाणिज्य बैंकको खोजी जारी छ
मर्जर र प्राप्ति भर्खरै सुरु गरेको नबिललाई यो रणनीति अझै अगाडि बढाउनु पर्ने आवश्यकता छ । नत्र, प्रतिस्पर्धी बैंक ठूलो बनिसक्दा नबिल जात्राको तेत्रै रहनेछ ।
“बैंकले गत वर्षसम्मको नाफाबाट ३३.६ प्रतिशत बोनस सेयर दिएको छ । यसले सेयरको संख्या एक तिहाइले बढ्छ । बैंकलाई प्रतिसेयर आम्दानी कायम गर्न नाफाबाट मात्र सहज नहुन सक्छ,” उनी सुनाउँछन् ।
‘त्यसो भए के गर्ने त ?’ भन्ने प्रश्नमा ज्ञवालीको जवाफ छ, “त्यसका लागि बैंकले मर्जर र एक्विजिसनमा थप रणनीतिक कदम चाल्नेछ । नबिलको ब्रान्ड भ्यालु र नेगोसियसन क्षमताको उपयोग गर्दै बैंकले उचित मर्जर/प्राप्तिको साझेदारसँग कुरा समेत गरिरहेको छ ।”
राम्रा संस्थालाई बैंकले आफूमा समाहित गर्न सक्यो भने व्यवसाय विस्तार र प्रतिफल दुवै पाटोमा सहयोग हुने विश्वास ज्ञवालीको छ ।
बजेट र मौद्रिक नीतिमार्फत् फरक वर्गको वित्तीय संस्था मर्ज/प्राप्तिमा दिने सुविधा कटौतीका कारण अबको दिनमा नबिलले विकास बैंक र वित्त कम्पनी प्राप्ति गर्ने समय छैन ।
“एकै प्रकृतिको संस्था मर्जर गर्दामात्र करछुट दिने व्यवस्था छ,” उनले भने, “यसको अर्थ बैंकले उपयुक्त वाणिज्य बैंक पार्टनरको खोजी गरिरहेको छ । यसमा साना अथवा ठूला जोकोही पनि हुन सक्छ ।”
मर्जरमा बैंकका शर्त र जटिलता
दुई नितान्त र फरक संस्कार, इतिहास, प्रणाली, ग्राहक बेस भएका बैंक मर्जर/एक्विजिसन सजिलो विषय पक्कै पनि होइन ।
मर्जरमा जाँदा सेयरको विषयमा (विशेष गरी स्वाप रेसियो) कुरा मिल्नुपर्छ । दोस्रो, बैंकको कल्चर, सिस्टम प्रोसेस मिल्नुपर्छ । यसले इन्टिग्रेसनमा सहयोग हुन्छ । यससँगै पोर्टफोलियोको प्रकार कस्तो छ ? व्यवसाय कस्तो छ ? पनि हेर्नुपर्छ ।
तर, मर्जर/एक्विजिसनको निर्णय व्यवस्थापनले लिने होइन, सञ्चालकले लिने हो । त्यसकारण सबैभन्दा महत्वपूर्ण विषय सञ्चालक समितिमा कुरा मिल्नुपर्छ । ज्ञवालीका अनुसार नबिल बैंक ठूलो वा सानो, नयाँ वा पुरानो जुनसुकै वाणिज्य बैंकसँग पनि मर्जरमा जान तयार छ ।
“तर, बैंकका केही शर्त पनि छन् । नबिल ब्रान्ड नै डाइल्युट गर्नुपर्ने (नबिल नाम छाडेर अर्कै नाममा सञ्चालन गर्नुपर्ने) माग नबिलले स्वीकार गर्दैन, सञ्चालक समितिमा मागेजति प्रतिनिधित्व नहुन सक्छ र उच्च व्यवस्थापनमा पनि दोस्रो बैंकले माग गरेअनुसार कर्मचारी नहुन सक्छन्,” ज्ञवाली भन्छन्, “यो प्राविधिक विषय हो । यी सबै विषय म्याच भयो भने नबिल बैंकसँग अन्य वाणिज्य बैंकको मर्जर सम्भव छ ।”
लगानीकर्ता फकाउने लाभांश योजना
लाभांश क्षमता बढाउनु नबिलका लागि सबैभन्दा ठूलो चुनौती हो । ३३.६ प्रतिशत बोनस सेयर दिँदा बैंकको सेयर संख्या एक तिहाइले बढ्छ । यसको अर्थ पहिलो त्रैमाससम्मको खुद मुनाफाको आधारमा प्रतिसेयर आम्दानी ३३ रुपैयाँबाट २५/२६ रुपैयाँमा घट्नेछ ।
हालकै रणनीतिअनुसार बैंकले धेरै मिहिनेत गर्दा पनि पहिलो त्रैमासको नाफाका आधारमा अर्को वर्ष २० प्रतिशतसम्मको लाभांश दिने क्षमता बैंकको छ । यो सामान्य स्थितिमा हो । तर, नबिलमा लगानी गर्नेले त्यतिमा चित्त बुझाउने ठाउँ छैन ।
कोही कसैले कल्पनासम्म नगरेको लाभांश घोषणा गरेकाले अर्कोवर्ष आम लगानीकर्तामा यस्तै ठूलो अपेक्षा नबिलबाट हुनेछ ।
“सामान्य व्यक्तिले यति धेरै लाभांश कल्पना नै गरेका थिएनन् । लाभांश खुद मुनाफाबाट मात्र आउने होइन । त्यसका अरु बाटाहरु पनि छन्,” ज्ञवालीले भने, “लाभांशको दरलाई भविष्यमा अझै वृद्धि गरिरहन बैंकले पक्कै पनि रणनीतिक मुभ लिनेछ । अझ राम्रो लाभांश दिएर शाख जोगाइराख्ने प्रयत्न नबिल बैंकको सँधै हुनेछ ।”
तर, आजको व्यवसाय जेजस्तो होस्, बैंकले सेयरधनीलाई निकै खुसी बनाएको छ । गत आवको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणामार्फत् बैंकले तिहार झिलिमिली बनाएको थियो । भविष्यमा अझै वृद्धि गर्न केही काम बैंकले गर्नुपर्ने छ जसका लागि योजना बनिसकेको पनि छ ।
“बैंकको सञ्चालक समिति र व्यवस्थापन स्तरमा अर्को वर्ष पनि कसरी यस्तै खुसी दिने भन्ने विषयमा चिन्तनशील हुँदै काम भइरहेको छ,” महाप्रबन्धक ज्ञवालीले भने, “एउटा माघले जाडो जाँदैन, अर्को वर्ष के गर्दोरहेछ हेरौंला भन्नेलाई जवाफ दिन पक्कै पनि सक्षम हुनेछौं ।”
विगतमा ८०–९० प्रतिशतसम्म लाभांश बाँडेको नबिल बैंक अहिले पनि ३० प्रतिशतभन्दा बढी दिन सक्षम छ । हिजोको दिनमा नबिलले बराबर लाभांश दिने बैंकहरु आज १० प्रतिशतमा खुम्चिएका छन् ।
तर, महाप्रबन्धक ज्ञवालीको कन्फिडेन्स यो भन्छ कि नबिलले आफ्नो लाभांश निरन्तर बढाउँदै लैजान्छ । इन्डष्ट्रि र परिस्थिति जता जान्छ, त्यही अनुसार प्रतिफल हुन्छ । तर, परिस्थिति आफूअनुकुल हुँदासम्म लगानीकर्तालाई निराश नपार्ने प्रतिवद्धता बैंकका महाप्रबन्धक ज्ञवाली गर्छन् ।
प्रतिक्रिया दिनुहोस्