Shikhar Insurance
National Life

हिजो देशमा केके भए ? यहाँ पढौं मुलखबर !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार ०९:१५
Hyundai
NCELL
NIMB

१. पर्यटन बोर्डका सीईओ रेग्मीसँग सरकारले सोध्यो तीन दिने लिखित स्पष्टीकरण

सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा जानकारी लिएका थिए । त्यसपछि नेपाल पर्यटन बोर्ड संचालक समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले लिखित स्पष्टीकरण माग गरेका हुन् । उनलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लण्डनबाट काठमाडौं आउने क्रममा शनिबार भन्सार विभागका कर्मचारीसँगको लफडामा मुछिएपछि सीईओ रेग्मीसँग पर्यटनमन्त्री आलेले यस विषयमा के भएको हो भनी जानकारी लिएका थिए ।

२. कट्रिना र विक्कीले गरे गोप्य इंगेजमेन्ट

बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले इंगेजमेन्ट गरेका छन्। लामो समयदेखि अफेयरमा रहेको चर्चा हुँदै आएका कलाकारको यतिबेला इंगेजमेन्ट भएको चर्चा भइरहेको छ ।

भारतीय संचार माध्यमका अनुसार निर्देशक कबीर सिंहको घरमा विक्की र कट्रिनाको इंगेजमेन्ट भएको हो । गोप्य रूपमा गरिएको इंगेजमेन्टमा विक्की र कट्रिनाका परिवार तथा नजिकका साथीको मात्र उपस्थिति थियो । डिसेम्बरमा उनीहरूको विवाह हुने बताइएको छ ।

३. बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ । आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेशसभामा जानकारी गराएका थिए।

नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन । एमालेका ४३ सांसद छन् तर आज २ जना सांसद उपस्थित थिएनन् ।

नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् ।

४. सर्वोच्चका न्यायाधीश विभाजित भएका हुन् ? थप २ न्यायाधीश पनि फर्किए इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका ३ जना न्यायाधीश सोमबार मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्नालागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुँडाल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।

ढुंगाना र रेग्मीले संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ थालेका छन् । यसअघि अर्का न्यायाधीश चुँडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् ।

चुँडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक(एकवटा रिट पेसीमा थिए । २ मध्ये चुँडालले एक रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रममा कनिष्ठतम् न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए ।

५. २४ वर्षपछि अस्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै

अस्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । क्रिकेट अस्ट्रेलिया र पाकिस्तान क्रिकेट बोर्डले सोमबार सन् २०२२ को मार्चमा अस्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो ।

सन् १९९८ पछि अस्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेस्ट च्याम्पियनसिप र एक दिवसीय अन्तर्राष्ट्रिय सुपर लिगअन्तर्गतको खेल हुनेछ । उक्त भ्रमणमा तीनवटा टेस्ट खेल, तीन ओडीआई र एउटा टी-२० खेल हुनेछ । खेलहरू कराँची, रावलपिन्डी र लाहोरमा हुनेछन् ।

६. एमालेको महाधिवेशनमा चैतसम्म सदस्यता लिएका मात्र प्रतिनिधि हुने

नेकपा एमालेको आगामी दशौँ राष्ट्रिय महाधिवेशनमा २०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्य मात्र प्रतिनिधिका रूपमा सहभागी हुन पाउने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन- १४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगठित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ ।

ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन् । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी संगठित सदस्य रहेका थिए । अहिले नौ लाख पुगेका छन् ।

महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २०० पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक-एक जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

७. दाङको बबईमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परी सल्यान कालीमाटी गाउँपालिका- ३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । जिपका चालक फरार रहेका छन् ।

८. निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात जना पक्राउ

नेपालगंजकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात जना पक्राउ परेका छन् ।

निर्मलाको अपहरण गरी हत्या गरेको किटानी जाहेरीका आधारमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीका अनुसार जिल्ला अदालतले बबन सिंह ८० वर्ष पुगेका वृद्ध भएकाले हाजिरी जमानीमा छाडेको बताए । किटानी जाहेरीमा उल्लेखित पूर्वसांसद बादशाह कुर्मीचाहिँ भदौमा सरकारी वकिलको कार्यालयमा हाजिर भएर थप बुझ्दा आउने गरी अदालतले छाडेकाले उनलाई पक्राउ गर्न कानुनी आधार नभएको अधिकारीले बताए ।

९. डेढ महिनादेखि तातोपानी नाकामा रोकिएको छ १५ हजार मेट्रिक टन मल, कृषिमन्त्रीले देखाएनन् चासो

चीनबाट ल्याउने भनिएको १० हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल तातोपानी नाकामा डेढ महिनादेखि रोकिएको छ ।

डेढ महिनादेखि रोकिएको मल ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चासो देखाएको छैन । चीनबाट आउने १५ हजार मेट्रिक टन मल तातोपानी नाकामा रोकिएको कृषि सामग्री कम्पनीका विभागीय प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । तातोपानी नाकामा रोकिएका मल ल्याउन पटक पटक प्रयास गरे पनि असफल भएको उनको भनाइ छ ।

चीनले कोरोना जोखिमका कारण देखाएपछि मल भन्सारमा रोकिएको र सरकार सो नदिँदा मंसिरमा फेरि मलको हाहाकार हुने कृषि सामग्री कम्पनीले जनाएको छ । चीनले कोरोनाको महामारी देखाउँदै तातोपानी नाका अझै खोलेको छैन, जसका कारण भन्सारमा रोकिएको मल ल्याउन समस्या भएको कृषि सामग्री कम्पनीको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्