Shikhar Insurance
National Life

अर्थमन्त्रीका गफः दुई सय गुणा बढी राजस्व उठाउँछु, तर असम्भव !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार ०८:३६
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएको मन्त्रीको शर्माको सचिवालयले सञ्चारकर्मीलाई पठाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको ३ महिना २२ दिन सकिँदा राजस्व संकलन लक्ष्यको २५.५१ प्रतिशतमात्र छ । यस्तो स्थितिमा आर्थिक वर्षभर लक्ष्यअनुसार राजस्व उठ्न त हम्मेहम्मे देखिँदा मन्त्री शर्माले २ सय गुणा बढी राजस्व संकलन गर्ने चर्को भाषणबारे प्रश्न उठाउन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन् । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले भने, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ ।’

यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अरबौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने विश्वास व्यक्त गरे । उनले राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिए । उनले चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिए । ‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ ।’

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए ।

नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुग्नुभएका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गरेका थिए । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्