काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सकल दर्जालाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने छ । प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सो मा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३.३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरुलाई कर्जा प्रवाह गरिने छ ।
सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेप समेत उपलब्ध गराउने छ । यस सम्भौता पश्चात नेपाली सेनाका बहालवाला सकलदर्जाहरुको आफ्नै आवासको व्यवस्था भइ सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्