Shikhar Insurance
National Life

बैंकहरुको प्रतिसेयर आम्दानी साढे २ रुपैयाँले बढ्यो, सिद्धार्थ बैंकको छलाङ !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना भाइरस सिर्जित कहर कम हुँदै गएसँगै बैंकहरुको आम्दानी बढ्न थालेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कोरोना संक्रमणको त्रासले बैंकहरुको व्यवसाय प्रभावित थियो । तर, चालु आर्थिक वर्षमा आइपुग्दा त्रास साम्य हुँदै जाँदा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँले बढेको हो ।

गत आवको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकहरुको औसत ईपीएस १९ रुपैयाँ ८६ पैसा थियो जुन चालु आवको सोही अवधिमा आइपुग्दा २ रुपैयाँ ६१ पैसाले बढेर २२ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरुको औसत ईपीएस बढेपनि १० वटाको भने घटेको छ । एक वर्षको अवधिमा १० वटा वाणिज्य बैंकहरुको ईपीएस कम्तिमा ८० पैसादेखि बढीमा १० रुपैयाँ ५३ पैसासम्मले घटेको हो । प्रभु बैंकको ईपीएस सर्वाधिक घट्दा, बैंक अफ काठमाण्डूको ईपीएसमा सामान्य गिरावट आएको हो ।

१७ वटा वाणिज्य बैंको ईपीएस भने गत आवको पहिलो त्रैमासको तुलनामा १ रुपैयाँ ०८ पैसादेखि १८ रुपैयाँ १२ पैसासम्मले बढेको बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणले देखाउँछ । एक वर्षको अवधिमा राष्ट्रिय वाणिज्य बैंकको ईपीएस सबैभन्दा बढीले र सनराइज बैंकको सबैभन्दा कमले बढेको हो ।

राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक भएको हुनाले सर्वसाधारण लगानीकर्तालाई यसको प्रतिसेयर आम्दानीसँग प्रत्यक्ष सम्बन्ध रहँदैन ।

निजी क्षेत्रको लगानी गरेको बैंकमध्ये ईपीएस धेरै दरले बढाउनेमध्ये सिद्धार्थ बैंक सबैभन्दा अगाडि छ । बैंकले सो अवधिमा ईपीएस १३ रुपैयाँ ५४ पैसाले थप गरी ३३ रुपैयाँ ६१ पैसा कायम गरेको छ ।

एक वर्षको अवधिमा ईपीएस बढाउने निजी क्षेत्रका बैंकहरुमा दोस्रो नम्बरमा सिभिल बैंक र तेस्रोमा एभरेष्ट बैंक छ । गत आवको पहिलो त्रैमासमा १ रुपैयाँ २१ पैसा ईपीएस रहेकामा सिभिलले चालु आवको सोही अवधिमा १३ रुपैयाँ ५१ पैसा कायम गरेको छ । एभरेष्ट बैंकको गत आवको पहिलो त्रैमासमा ईपीएस १५ रुपैयाँ ८१ पैसा थियो जुन अहिले २६ रुपैयाँ ०४ पैसा पुगेको छ ।

प्रतिसेयर आम्दानी भनेको के हो ? दोस्रो बजारमा यसको प्रभाव कस्तो ?
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो लगानीकर्तालाई प्रतिफल दिने आधार पनि हो ।

यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकका रुपमा लिइन्छ । प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ ।

जस्तै, कुनै कम्पनीको एक वर्षको आम्दानी १ हजार रुपैयाँ छ र कम्पनीको सेयर संख्या १ सय छ भने कम्पनीको एक कित्ता सेयर बराबरको आम्दानी भनेको १० रुपैयाँ हुन आउँछ । उक्त आम्दानीमा पनि कम्पनीले निश्चित रकम जगेडा कोषमा राख्छन् । त्यसैले प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति नै राम्रो मानिन्छ ।

वाणिज्य बैंकहरुले त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा सो त्रैमाससम्मको प्रतिसेयर आम्दानीलाई वार्षिकीकरण (एन्युअलाइज) गर्छन् ।

कुनैपनि कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ र त्यो कम्पनीको प्रतिसेयर आम्दानी कति छ हेरेर मात्र लगानी गर्नुपर्ने जानकारको सुझाव छ ।

लगानी गरिने कम्पनीको प्रतिसेयर आम्दानीको मूल्यांकन नै नगरी लगानी उचित प्रतिफल नपाइन सक्छ । पछिल्लो समय थोरै प्रतिसेयर आम्दानी भएका बैंकहरुको समेत सेयर मूल्य भने उच्च छ ।

कम्पनीको मुल्यांकन नै नगरी लगानीकर्ताले सेयरमा लगानी गर्दा थोरै प्रतिसेयर आम्दानी कम भएका कम्पनीहरुको समेत बजारमा धेरै मूल्य पुगिसकेको छ । यसले गर्दा लगानीकर्ताले लगानी अनुसारको प्रतिफल नपाउने प्रष्ट हुन्छ ।

प्रतिसेयर आम्दानी ३ महिनामै २ रुपैयाँ ४३ पैसाले थप
चालु आर्थिक वर्षको ३ महिनामको अन्तरमा वाणिज्य बैंकहरुले औसत प्रतिसेयर आम्दानी २ रुपैयाँ ४३ पैसाले थप गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्म औसतमा २० रुपैयाँ ३ पैसा थियो । जुन चालु आवको असोज मसान्तसम्म बढेर २२ रुपैयाँ ४७ पैसा कायम भएको हो ।

३ महिनाको अवधिमा २० वटा वाणिज्य बैंकले ईपीएस १६ पैसादेखि ११ रुपैयाँ ५४ पैसासम्मले थप गर्दा ७ वटा बैंकको भने ३७ पैसादेखि १५ रुपैयाँ ९५ पैसासम्मले घटेको छ ।

३ महिनामा सबैभन्दा बढी प्रतिसेयर आम्दानी एनआइसी एशिया बैंकको बढ्दा सबैभन्दा थोरै नेपाल इन्भेष्टमेण्ट बैंकको बढेको हो । यही अवधिमा यस्तो आम्दानी कृषि विकास बैंकले सबैभन्दा बढी र नेपाल बैंकले सबैभन्दा कमले घटाएका छन् ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी ईपीएस भने पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको ४५ रुपैयाँ ७५ पैसा छ । त्यसपछि एनआईसी एशिया, सिद्धार्थ र नबिल बैंक छन् ।

चालु आवको पहिलो त्रैमासमा एनआईसी एशियाको ईपीएस ३९ रुपैयाँ ६५ पैसा, सिद्धार्थको ३३ रुपैयाँ ६१ पैसा र नबिलको ३२ रुपैयाँ ११ पैसा कायम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्