Shikhar Insurance
National Life

तीब्र प्रतिस्पर्धाले वाणिज्य बैंकहरुको स्प्रेडदर २ प्रतिशत हाराहारीमा, बढाउने तयारी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेडदर) २ प्रतिशतको हाराहारीमा पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ वटा वाणिज्य बैंकले स्प्रेडदर ३.५ प्रतिशतभन्दा कम कामय गरी व्यवसाय गरेका हुन् ।

जसमध्ये ८ वटा बैंकको स्प्रेड ३ प्रतिशतभन्दा कम छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत स्प्रेडदर नै ३.२४ प्रतिशत छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म ४.४ प्रतिशत स्प्रेडदर कामय गर्न निर्देशन दिएको थियो । दिएको समयमा तोकिएको स्प्रेड कायम गर्ने बैंकहरुले समेत स्प्रेडदर घटाइरहेका छन् ।

पछिल्लो समय ब्याजदरमा भएको उच्च प्रतिस्पर्धाको कारण स्प्रेडदर घटाउन बैंकहरु बाध्य भएको नेपाल बैकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताउँछन् ।

‘ब्याजदर प्रतिस्पर्धाले गर्दा बैंकहरु स्प्रेड घटाउन बाध्य भएका हुन्,’ दाहालले सिंहदरबारसँग भने, ‘यसले नाफा घटाउन मुख्य भुमिका खेल्यो ।’

स्प्रेड घटाएर व्यवसाय गर्दा बैंकहरुको अपेक्षित खुद नाफा घटेको उनको भनाइ छ । तर, अहिले तरलता घटेका कारणले गर्दा कात्तिक महिनादेखि बैंकहरुको स्प्रेडदर बढ्न सक्ने उनको अनुमान छ ।

‘अब पुरानो फाइल नवीकरण गर्दा त्यसका ब्याजदर बढी लिन्छौं, आगामी महिनामा केही बढ्ला,’ उनले भने ।

बैंकहरुको स्प्रेडदर घट्दा बैंकको नाफा घट्ने हुँदा दोस्रो त्रैमासमा बैंकहरुको नाफा घट्न सक्ने उनको अनुमान छ ।

प्रतिस्पर्धा गरेर व्यवसाय बढाउन अन्य बैंकहरुले दिएको दरमा भन्दा कम ब्याजदरमा कर्जा दिनु पर्ने हुन्छ । राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम स्प्रेड कायम गर्दै प्रतिस्पर्धात्मक व्यवसाय गर्दा बैंकहरुको स्प्रेडदर ३ प्रतिभन्दा कम हुन पुगेको हो ।

बैंकले आम्दानी थोरै हुने भएपनि प्रतिस्पर्धी बजारमा बाध्य भएर स्प्रेड घटाइ व्यवसाय गर्नु परेको संघका अध्यक्ष दाहालको भनाइ छ ।

चालु आवको असोज मसान्तसम्म सनराइजको २.४६ प्रतिशत, नेपाल इन्भेष्मेण्टको २.५९ प्रतिशत, एभरेष्टको २.६१ प्रतिशत, हिमालयनको २.६४ प्रतिशत, सानिमाको २.६९ प्रतिशत, कुमारीको २.७१ प्रतिशत र सेञ्चुरीको २.७४ प्रतिशत स्प्रेडदर कायम छ । यस बाहेक १३ वटा बैंकको स्प्रेडदर ३.५० प्रतिशतभन्दा कम छ भने बाँकी ७ वटा बैंकको ३.५० प्रतिशतदेखि ४.३६ प्रतिशतसम्म छ ।

के हो स्प्रेडदर ? कसरी तोकिन्छ ?
स्प्रेडदर भनेको बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने निक्षेपको ब्याज र कर्जाको ब्याजदर अन्तरलाई नै स्प्रेडदर भनिन्छ । उदाहरणका लागिः कुनै एउटा बैंकले औसतमा ५ प्रतिशत ब्याजदरमा निक्षेप लिएर ९ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्‍यो भने त्यो बैंकको स्प्रेडदर ४ प्रतिशत हुन्छ ।

स्प्रेड रेट बैंकहरुको कमाईसँग जोडिएको हुन्छ । सर्वसाधारणबाट लिएको निक्षेपलाई लगानी गरेर आएको ब्याजदरबाट निक्षेपकर्ताकोे ब्याज भुक्तानी गरी बचेकोे रकम नै बैंकको आम्दानी हो । उक्त आम्दानीबाट सञ्चालन खर्च छुट्याएर बचेको रकम बैंकको मुनाफा हो ।

कुनै पनि बैंकको स्प्रेडदर थाहा पाउनु ग्राहकको लागि पनि आवश्यक हुन्छ । ब्याजदरको निश्चित मापदण्ड तोकिँदा निक्षेपकर्ता र ऋणीहरु दुवैलाई सहज हुन्छ । यसले गर्दा बैंकहरुले मनपरी ब्याजदर निर्धारण गर्न सक्दैनन् ।

चालु आवको असोज मसान्तसम्म सबैभन्दा बढी स्प्रेडदर कृषि विकास बैंकको ४.३६ प्रतिशत र सबैभन्दा थोरै सनराइज बैंकको २.४६ प्रतिशत छ ।

कुन वाणिज्य बैंकको स्प्रेडदर कति घट्यो ? कति कायम ?
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा सबै वाणिज्य बैंकहरुले स्प्रेडदर ०.०३ प्रतिशत बिन्दुदेखि २.१४ प्रतिशत बिन्दुसम्मले स्प्रेडदर घटाएका छन् । जसमा सबैभन्दा बढी हिमालयन बैंक र सबैभन्दा कम कृषि विकास बैंकले घटाएको छ ।

गत वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी स्प्रेड कायम गरेको हिमालयनले चालु आवको सोही अवधिमा २.१४ प्रतिशतले घटाएर २.६४ प्रतिशत कायम गरेको छ । कषि विकास बैंकले भने ४.३९ प्रतिशलाई ०.०३ प्रतिशत घटाएर ४.३६ कायम गरेको हो ।

सो अवधिमा १२ वटा बैंकले १ प्रतिशतभन्दा बढी र १५ वटा बैंकले १ प्रतिशभन्दा कमले स्प्रेडदर घटाएका छन् ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको औसत स्प्रेडदर समेत १.०७ प्रतिशतले घटेको छ । गत आवको असोज मसान्तसम्म ४.३१ प्रतिशत रहेको औसत स्प्रेडदर अहिले ३.२४ प्रतिशत कायम भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्