Shikhar Insurance
National Life

दुहबी सबस्टेसन डुवान हुँदा प्रदेश नं १ ब्ल्याकआउट

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार ००:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ । प्रदेश नं १का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘बाढी पसेर सबस्टेसन डुवानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १का जिल्लाहरुमा ब्ल्याक आउट भएको छ,’उनले भने, ‘सबस्टेसनको नियन्त्रण कक्ष डुवानमा परेको छ, अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको जानकारी पाएका छौं, पानी नरोकिएमा उपकरणहरुमा ठूलो क्षति पुग्ने देखिएको छ, यस्तो भएमा त्यस क्षेत्रमा विद्युत आपूर्ति केही दिन बन्द हुन सक्छ, अहिले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत आपूर्ति उपलब्ध गराउन हाम्रो टिम प्रयासरत छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबस्टेसनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई आग्रह गरिएको घिसिङले बताए ।
उनले दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।

वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेल्धुरा, वैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत आपूर्तिसमेत बन्द भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्