काठमाडौं । दसैं आयो, खाउला पिउला… भनेर बालबालिका बढी रमाउने गर्छन । दसैंमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृतिमा आफ्नै प्रचलन छ । तिहारमा सेलरोटी, संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाइए पनि मासुलाई मुख्य मानिन्छ । वा भनौ दसैंलाई मासुको पर्व पनि भन्ने गरिन्छ । मासु नखाए त के दसैं भनेर भन्ने गरेको पनि सुनिन्छ, तर दसैंमा साकाहार भोजनको पनि आफ्नै महत्व छ ।
शाकाहारीहरूले मिठो खाएर दसैं मनाउने गरेका छन् । दसैंमा शाकाहारी परिकारमा पनिर, मसरुम, अचार, पकौडा, फ्रेन्च फ्राइ, सोयाबिन साँधेको, गेडागुडी, भेज चाउमीन र विभिन्न थरिका मिठाइका परिकार खाएर दसैं मन्ने गरेका छन् ।
यसरी सेवन गरिने शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । मासु पकाउँदा दाल किन चाहियो वा अरु तरकारी किन चाहियो भनेर मासु मात्रै खाने गरिन्छ । मासुको तुलनामा साकाहारी भोजन निकै सन्तुलित हुने उप्रेतीको तर्क छ ।
शाकाहारी हुँदा शरीर कमजोर हुने, शरीरमा आवश्यक प्रोटिन, खनिज पदार्थ कम हुन्छ भन्ने सोच गलत रहेको उनी बताउँछिन् । शरीरलाई आवश्यक मात्रामा प्रोटिन, क्याल्सियम, मिनरल, आइरनको मात्रा मिलाउन सकियो भने शाकाहारी बन्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । शाकाहारी भोजनले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि तन्दुरुस्त राख्छ ।
शाकाहारी भोजनमा रेसादार तथा हरियो सागसब्जी हुने हुँदा यसले कब्जियतबाट मुक्त गराउनुका साथै शरीरलाई अति आवश्यक सुक्ष्म पोषणतत्व, क्याल्सियम, प्रोटिन प्रशस्त उपलब्ध गराउँछ ।
दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च हुने गरेको छ ।
खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । खानाको क्षयीकरण भएपछि खाना अमिलिन्छ र सो खाना खाएमा फुड पोइजनिङ हुन्छ। गर्मी मोसममा फूड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि यो समयमा फुड पोइजनिङ हुने गरेको छ ।
विशेषगरी खानेकुरामा हुने ब्याक्टेरियाका कारण फूड पोइजनिङ हुन्छ । पकाएको खानामा ब्याक्टेरिया मर्ने भएकोले नपकाएको खानामा फूड पोइजनको जोखिम बढी हुन्छ।
विशेषगरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ । चिसो पेयपदार्थ कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ ।
फूड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डाइरिया हुने हुन्छ । त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ।
फुड पोइजनिङकाट बच्न खानालाई सफा गरेर राम्रोसँग पकाउनु पर्छ। खाना बनाउनुअघि, खानु र खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ। पकाएका खानेकुराहरु छोपेर राख्ननुपर्छ भने एकैपटक धेरै खानेकुरा खानु हुँदैन् । प्याकेजिङ खाना, केमिकलयुक्त खानेकुरा सकेसम्म नखाएको राम्रो ।
फुड पोइजनले दीर्घकालीन असर नगरेता पनि यसले स्वास्थ्यमा भने नकारात्मक असर पुर्याउछ।
घरेलु उपचार विधि
-
अदुवा चियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ।
-
नरिवल पानी सेवन गर्दा औषधिको काम गर्छ ।
-
तुलसीको पातलाई उमालेर मह मिसाएर पिउँदा राहत मिल्छ।
-
एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ।
-
एक चम्चा जीरा पिसेर खानामा प्रयोग गरेमा फूड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ।
-
फूड प्वाइजनमा स्याउ र केराको सेवन एकदमै लाभदायक मानिन्छ।
-
यस्तो बेला पानीको सेवन बढी मात्रामा गर्दा फाइदाजनक हुन्छ।
प्रतिक्रिया दिनुहोस्