Shikhar Insurance
National Life

उपभोक्ता ठगेपछि भाटभटेनीलाई ५० हजार जरिवाना

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार २१:४५
Hyundai
NCELL
NIMB

भक्तपुर । नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो । बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रुपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्य सूची टाँसेर सामान बिक्री गरेको पाइएको छ । दैनिक उपभोग्य सामानमा समेत पसलै पिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ । अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ । नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।

सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तलाई नाफा छुट नदिई बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ । सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।

सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीस्थित चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ । चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्माचार्यलाई तत्कालै १० हजार जरिवाना गरेको छ । स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालो बजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

यसअघि प्रशासनको नेतृत्वमा मध्यपुरथिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटको अनुगमनमा भाटभटेनीले खरिद बिलबिजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री वितरण गरेको पाइएको उनले जानकारी दिए ।

अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु कालोबजारी गरेको पाइएको थियो भने चिनीमा कालो बजारीसम्बन्धी ऐनले तोकेको खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मुनाफा लिएर वस्तु बिक्री वितरण गरेको पाइएको छ । ऐनले यसो गरेमा कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ ।

भाटभटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ । भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी ८९ मा बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ भने बोतलको पानी २६ मा खरिद गरेर ४५ मा बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेकोसमेत बिक्रीका लागि राखेको, तरकारी र फलफूलमा उपभोक्तालाई ठगी गरेको, तरकारीका प्याकेटमा मूल्य राखे पनि तौल नराखेर प्रतिकेजी मूल्य कति हो ? उपभोक्तालाई जानकारी नदिई बिक्री गरेको पाइएको छ ।

भाटभेटेनीमा उपभोग्य सामानमा मिति नाघेका वस्तु र उपभोग्य वस्तु एकै स्थानमा भण्डार गरेर बिक्री गरेको, बिस्कुट र चकलेटमा प्याकेटमा अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गरेको पाइएको छ । भाटभेटेनीको प्राङ्गणमै रहेको केएफसी चिकेन र पिजा हन्टले स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको छ । तेलमा पनि बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । भाटभटेनीले कालोबजारी गरेको र उपभोक्ता ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रु ५० हजार जरिवाना गरेको सहायक प्रजिअ केशरीले जानकारी दिए।

उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बजारमा अनियमितता बढेको बताए । उनले भाटभटेनीमै पनि अनियमितता रहेको, ऐन विपरीत नाफा ८० देखि ३०० प्रतिशतसम्म राखेको पाइएको उनले जानकारी दिए । खाद्यान्न, तेल, घीउ, चिनी लगायतमा २५ देखि ८० प्रतिशतसम्म बढी मूल्य लिएको र लत्ताकपडामा ३०० प्रतिशत, चामलमा बोरामै ३०० देखि ४०० समेत बढी मूल्य लिएको पाइएको थापाले जानकारी दिए । यहाँ हर्बल मिसावट चिनीमा आधा किलोको १५८ लिएको बताए । चाडबाडको मुखमा सरकारी निकाय डिडिसीले समेत तेल र घीउमा १०० वृद्धि गरेको पाइएको उनको भनाइ छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्