ताप्लेजुङ । डाँडामा एउटा डाले घाँसको जस्तै रूख छ । डाँडादेखि तल हेर्यो भने कहालीलाग्दो भिर । निकै परदेखि हेर्दा रूखमा एउटा बाँदर बसेजस्तो देखिन्छ ।
तर, विस्तारै डाँडामा रहेको रूख नजिक पुग्दा थाहा हुन्छ, त्यो त मोबाइलमा इन्टरनेट चलाउनका लागि चितेन्द्र लिङ्देन डाँडाको रूखमा चढेका रहेछन् । उनलाई नेटबाट आफ्नो कागजात ईमेल गर्नुपरेको रहेछ । डाँडामा र त्यसमाथि पनि रूखमा चढेपछि मात्र यहाँ नेटले काम गर्दोरहेछ ।
यो घटना ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका- ५ येम्पाङको हो । येम्पाङ गाउँका चितेन्द्र लिङ्देनलाई गत आइतबार आफ्नो अतिआवश्यक कागजात काठमाडौं पठाउनुपर्ने भयो । उनले मोबाइलको नेटवर्क खोज्दै डाँडासम्म पुगे । डाँडामा भएको रूख चढेर एक घन्टाको मोबाइल डाटा प्याकेज लिएर आफ्नो कागजात ईमेलमार्फ काठमाडौं पठाए ।
सन्दीप लिम्बूका दाजु-भाउजू भारतमा बस्छन्। दाजु र भाउजूसँग कुराकानी गर्न मोबाइलमा राम्रो नेटवर्क आउने ठाउँ खोज्दै झाँक्रे डाडाँमा पुगे । झाँक्रे डाँडामा भएको एउटा रूखमा चढेर उनले आफ्ना दाजु-भाउजूसँग भिडियो कलमा कुराकानी गरे धित मरुन्जेल ।
अझ झाँक्रे डाँडामा निकै अप्ठ्यारो ठाउँ भएकाले सीमित मान्छे मात्र यहाँ मोबाइबाट इन्टरनेट चलाउन आउने गरेका छन् । डाँडादेखि तल हेर्दा कहालीलाग्दो भिर छ । त्यसैले महिला, बालबालिका भने अर्कै डाँडामा जाने गरेको स्थानीय सन्दीप लिम्बूले बताए ।
इन्टरनेटबाट केही काम गर्नुपर्ने भयो भने एक घण्टा उकालो हिँडेर सल्लेरी डााडा पुगेर इन्टरनेटबाट काम गर्नुपर्ने मेरिङ्देन गाउँपालिका- ६ नाल्बुका स्थानीय विमना लिम्बूले बताइन् । गाउँमा इन्टरनेट सेवा नहुँदा शिक्षामा समेत पछि परेको लिम्बूको भनाइ छ । शहरमा अनलाइन कक्षा हुन्छ तर गाउँमा अनलाइन भनेको के हो भन्नेसमेत थाहा छैन’, लिम्बूले भनिन् ।
इन्टरनेट नहुँदा गाउँपालिका काम गर्नसमेत समस्या हुँदै आएको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । उनले भने, ‘गाउँपालिकाको कार्यालयमा राम्ररी नेट नचल्दा कार्यलय संचानल गर्नसमेत सास्ती हुँदै आएको छ । यस्तै हो भने सदरमुकामदेखि नै गाँपालिकाको सेवा संचालन गर्न बाध्यता हुन्छ ।’
स्थानीय सरकारको प्रमुख प्रशासकीय कार्यालयमै इन्टरनेटको समस्या भएपछि अन्य क्षेत्रमा कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।
गाउँमा मोबाइलमा फोरजी सेवा नहुँदा दुई घन्टा हिँडेर डाँडेनी डाँडामा पुगेर शेयर कारोबार गर्दै आएको फक्ताङलुङ गाउँपालिका- ६ का स्थानीय विवश लिम्बूले बताए । गाउँघरमै मोबाइलमा फोरजी सेवा नभएका कारण राम्रो ठाउँहरूमा लगानी गर्नबाट समेत बन्चित हुनुपरेको लिम्बूको गुनासो छ । आफूले लगाएको लगानी कतिखेर वृद्धि भयो, कुन समयमा घट्यो, समयमै थाहा नपाउँदा लगानीसमेत जोखिममा पर्ने गरेको लिम्बूको भनाइ छ ।
इन्टरनेटको राम्रो सेवा नहुँदा चिठी पत्रको सहयतामार्फ सूचना आदानप्रदान गर्दै आएको फक्ताङलुङ गाउँपालिका- ७ याङ्माका स्थानीय ठावा शेर्पाले बताए । याङ्मा क्षेत्रमा कुनै संचारको पहुँज पुग्न सकेको छैन । संचार सेवाको पहुँज नहुँदा खबर आदानप्रदान गर्नमा सास्ती खेप्दै आएको स्थानीय फिन्जो शेर्पाले बताए ।
ताप्लेजुङ जिल्लाका धेरै भूभागमा अझै मोबाइल सेवाको सहज र प्रभावकारी पहुँच छैन । मोबाइल सेवा पुगेका क्षेत्रहरूमा पनि मोबाइलमा कुराकानी गर्दा प्रस्ट नबुझिने फक्ताङलुङ गाउँपालिका- ६ का स्थानीय रोशन लिम्बूले बताए ।
ताप्लेजुङमा २० वटा मोबाइल टावर संचालन भइरहेका जिल्ला दूरसंचार कार्यालय ताप्लेजुङले जनाएको छ । नौवटा टावरमा फोरजी सेवा संचालन भइरहेको दूरसंचार कार्यालय प्रमुख शिवकुमार सिंहले बताउए । ११ वटा टावरले टुजी सेवा दिँदै आएका सिंहले जानकारी दिए ।
अहिले संचारको पहुँज नपुगेको याङ्मा क्षेत्रमा मोबाइल सेवा पुर्याउन सरोकारवालसँग समन्वय गर्ने प्रमुख सिंहले बताए ।
गत साता मात्र प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले ताप्लेजुङका विभिन्न १० स्थानमा संचार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराएका छन् । भट्टराईले नेपाल टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेट गरी ताप्लेजुङका विभिन्न १० ठाउँमा संचार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न मागसहित पत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न ध्यानाकर्षण गराएका हुन् ।
भट्टराईले अप्टिकल फाइबर तत्काल ताप्लेजुङ पुर्याउन साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गर्दै ताप्लेजुङको मैवाखोला गाउँपालिका- २ ढुंगेसाँघु, मेरिङ्देन गाउँपालिका- ६ नाल्बु, फक्ताङ्लुङ गाउँपालिका- ६ लुवाडाँडा, आठराई गाँउपालिका फूलबारी, फुङ्लिङ नगरपालिका दोखु, देउलिङ्गे मिक्वाखोला गाउँपालिका- ५ किलिङ, सिरिजङ्घा गाउँपालिका- ५ खेवाड, सिदिङ्वा गाउँपालिका- १ कालीखोला, फक्ताङ्लुङ- ७ याङ्मालगायतका क्षेत्रमा टेलिफोन टावर राख्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्