Shikhar Insurance
National Life

राष्ट्र बैंकको नीतिले १७ वाणिज्य बैंक कर्जा दिनै नसक्ने अवस्थामा, कुन बैंकको सीडी रेसियो कति ?

दिलु कार्की
२०७८ आश्विन १५, शुक्रबार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकको नयाँ व्यवस्थाका कारण १७ वटा वाणिज्य बैंकहरु थप कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले अघि सारेको कर्जा–निक्षेप (सीडी) रेसियो कार्यान्वयन गर्दा २७ मध्ये १७ वाणिज्य बैंकहरु थप कर्जा क्षमता घटेर थप कर्जा दिनै नसक्ने अवस्थामा पुगेका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक मौद्रिक नीतिमार्फत् यसअघि लागू ८५ प्रतिशतको कर्जा–पुँजी–निक्षेप (सीसीडी) रेसियोलाई खारेज गरी कर्जा सीडी रेसियो लागू गरेको हो । जसलाई ९० प्रतिशत तोकी २०७९ असार मसान्तसम्म सीमामा ल्याउन निर्देशन यसअघि नै राष्ट्र बैंकले दिइसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर, हाल औसतमै वाणिज्य बैंकहरुको सीडी रेसियो सीमाभन्दा बढी छ । राष्ट्र बैंकद्वारा प्राप्त तथ्यांकअनुसार असोज १२ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.९१ प्रतिशत छ भने २७ वाणिज्य बैंकमध्ये १७ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतमाथि छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सीडी रेसियो लागू गरेपनि २०७९ असार मसान्तमा मात्र बैंकहरुले सीमामा सीडी रेसियो कायम गर्नु पर्ने हो । तर, बैंकहरुले एकै पटक ०७९ आसार मसान्तमा ९० प्रतिशत कायम गर्नु पर्ने नभइ क्रमिक रुपमा सीडी रेसियो घटाउँदै जानु पर्ने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘अहिले नै सीडी रेसियो ९० प्रतिशत कायम गरी कर्जा दिनु पर्ने नभएपनि क्रमिक रुपमा सीडी रेसियोको सीमा बैंकहरुले घटाउँदै ०७९ असारमा ९० प्रतिशत कायम गर्नु पर्नेछ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘बैंकको दैनिक सीडी रेसियो राष्ट्र बैंकले हेरिरहेको हुन्छ । तर, महिनाको अन्त्यमा भने अघिल्लो महिनाकोभन्दा केही प्रतिशत सीडी रेसियो बैंकहरुले घटाउनु नै पर्छ ।’

क्रमिक रुपमा घटाउँदै नजाने बैंकलाई ०७९ असार मसान्तमा एकैपटक ९० प्रतिशत कायम गर्ने समस्या हुने उनको भनाइ छ ।

‘हाल बैंकहरुलाई कारवाही नगरी राष्ट्र बैंकले सीडी रेसियो क्रमिक रुपमा घटाउन सुझाव मात्र दिइरहेको छ तर तोकिएको समयमा सीमामा सीडी रेसियो कायम नगर्ने बैंकलाई भने कारवाही गर्न हामी पछि हट्दैनौं,’ उनले थपे, ‘अहिले सीडी रेसियो सीमाभन्दा बढी भएका बैंकहरुले थप कर्जा दिन सक्दैनन्, जसका लागि थप स्रोत संकलन गर्न आवश्यक छ ।’

सीडी रेसियो ९० प्रतिशतमाथि भएका बैंकहरुले सम्पती तथा दायित्व व्यवस्थापनमा ध्यान दिएर थप स्रोत संकलन गरेरमात्र नयाँ कर्जा प्रवाह गर्न सक्ने उनको भनाई छ ।

सीडी रेसियोमा बैंकहरुले निक्षेपमा ऋणपत्र, रिफाइनान्स र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, ग्राहकसँग संकलित निक्षेप नै बैंकहरुको मुख्य कर्जा परिचालनको स्रोत हुँदा थप निक्षेप संकलन नगरी सीडी रेसियो ९० प्रतिशत कटेका बैंकहरुलाई नयाँ कर्जा प्रवाह गर्न समस्या हुन्छ ।

राष्ट्र बैंकबाट प्राप्त सीडी रेसियोको तथ्यांकअनुसार असोज १२ गतेसम्म २७ वाणिज्य बैंकको सीडी रेसियो ८२.९५ प्रतिशतदेखि ९८.८७ प्रतिशत छ । जसमा सबैभन्दा धेरै नेपाल एसबीआइ बैंकको र सबैभन्दा थोरै स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ ।

सो अवधिमा १७ वाणिज्य बैंकको ९० प्रतिशतभन्दा माथि सीडी रेसियो छ भने, ८२ प्रतिशतदेखि ८९.९२ प्रतिशतसम्म सीडी रेसियो कायम छ ।

सो अवधिमा सीडी रेसियो ९० प्रतिशत माथि भएका बैंकहरुमा नेपाल एसबीआइ बैंक ९८.८७ प्रतिशत, नेपाल इनभेष्टमेन्ट ९७.१० प्रतिशत, बैंक अफ काठमाण्डू ९६.८२ प्रतिशत, कृषि विकास ९५.४२ प्रतिशत र कुमारी बैंक ९३.८९ प्रतिशत सीडी कायम छ ।

यस्तै, असोज १२ गतेसम्म एनएमबी बैंकको ९३.२२ प्रतिशत, सिभिल ९३.१२ प्रतिशत, नेपाल बंगलादेश ९२.६० प्रतिशत, ग्लोबल आइएमई ९२.१४ प्रतिशत र प्राइम बैंकको ९२.०९ प्रतिशत सीडी रेसियो कायम छ ।

साथै, सो अवधिमा लक्ष्मी बैंकको ९१.९९ प्रतिशत, मेगा बैंकको ९१.९९प्रतिशत, एनसीसी बैंक ९१.२१ प्रतिशत, सेन्चुरी बैंकको ९१.१९ प्रतिशत, हिमालयन बैंकको ९१.०३ प्रतिशत, नबिल बैंकको ९०.९८ प्रतिशत र सिद्धार्थ बैंकको ९०.८९ प्रतिशत सीडी रेसियो कायम छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्