काठमाडौं । मोबाइल वित्तीय सेवा मार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न नेपाल टेलिकमले पनि सघाउन थालेको छ । एक वर्षअघि स्थापित कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ नामको डिजिटल भुक्तानी सेवा सुरू गरेको हो ।
नमस्ते पे मोबाईल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन भदौ २९ बाट सुरू भएको छ । २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक समझदारीको फलस्वरूप नेपाल डिजिटल पेमेन्ट्स कम्पनी २०७७ साउन १३ गते स्थापित भएको हो ।
मंगलबार नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप अनावरण गरियो भने ५ सय सर्टकोड युएसएसडीबाट सो सेवा प्रयोग समेतको शुरुवात गरिएको छ । प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सञ्चालनमा आएको हो ।
मोबाइल सेट बजारको ९५ प्रतिशतभन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ । आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथाशिघ्र सञ्चालनमा ल्याइनेछ ।
स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ। हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिनेछ ।
यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ ।
बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिनेछ । बैंकहरूको अलावा यस कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गरिनेछ । यसको लागि एजेन्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ ।
के हो नमस्ते पे ?
नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो र विभिन्न सञ्चार माध्यम र खासगरी अनलाईन मिडियामा पटक पटक प्रकाशित भए जस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिने भने हुँदैन । नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ ।
मोबाइल वित्तीय सेवाको लागि वैंक, मर्चेण्ट, युटिलिटि सेवा प्रदायक, अनलाईन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरूसंग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षण समेत गर्नुपर्ने भएकोले सम्भावित सवै किसिमका सेवाहरू एकैपटक सञ्चालन गर्न चुनौतिपूर्ण हुने र बढी समय लाग्ने हुन्छ । साथै प्रारम्भिक चरणमा थोरै सेवासहित सञ्चालन गर्दा शुरुमा आउन सक्ने समस्याहरूको पहिचान र निराकरण गर्न समेत थप सहज हुने हुन्छ।
यसर्थ पनि कम्पनीले चरणवद्ध रूपमा सेवाहरू थप्दै र विविधिकरण गर्दै जाने रणनीति अङ्गिकार गरेको छ । सेवाको प्रारम्भिक सञ्चालन पश्चात् देखिने समस्याहरूको पहिचान र दीगो समाधान गर्न तथा क्रमिक रूपमा सेवाहरू थप गर्दै समग्र नमस्ते पे सेवालाई थप ग्राहकमुखी र उपयोगी बनाउँदै लैजान कम्पनी प्रतिवद्ध छ ।
बिगत डेढ वर्षभन्दा बढी समयदेखि विश्वभर जनस्वास्थ्यको सर्वाधिक ठूलो चुनौतिको रूपमा रहेको कोभिड-१९ महामारी तथा सोको कारणले गर्दा जनजीवन प्रभावित भएको सन्दर्भमा डिजिटल वित्तीय सेवाको उपादेयता थप टडकारो रूपमा देखिएको छ । दैनिक उपयोगका सेवाहरूको महसुल, शिक्षा स्वास्थ्य सम्बन्धी खर्च, सरसामानको खरिदारी तथा सरकारी सेवाहरू र कर सम्बन्धी दायित्वको भुक्तानी समेतका आर्थिक गतिविधिहरु विद्युतीय माध्यमबाट गर्न सकेमा उल्लेख्य सहजताका साथै कारोबारको हिसाबकिताबको अभिलेख राख्न, पारदर्शिता सुनिश्चित गर्न तथा चुहावट कम गर्न समेत सघाउ पुग्ने देखिन्छ । यही वृहत्तर उद्देश्यका साथ यस कम्पनीले सेवा शुभारम्भ गर्न लागेको छ र क्रमशः सेवा सुविधाहरू थप गरी सो यथाशिघ्र उद्देश्य प्राप्तिको लागि कम्पनी लागिपरेको छ ।
यसरी वृहत वित्तीय समावेशिकरण र वित्तीय सेवामा देशभर पहुँच पुर्याउने अभियानमा यस क्षेत्रमा वर्षौं अघिदेखि अगुवाको रूपमा लागिपरेर विविध सेवा सुविधाहरूको विकास गरी डिजिटल वित्तीय कारोबारको बजार तयार गर्न महत्बपूर्ण भूमिका खेल्नुभएका अन्य सेवा प्रदायक तथा सरोकारवालाहरूसँग आपसी हितमा सघन सहकार्य र साझेदारी गर्दै मुलुकभर अत्याधुनिक प्रविधिमा आधारि विद्युतीय भुक्तानी सेवाको सहज र सुरक्षित उपलब्धता सुनिश्चित गर्न कम्पनी प्रतिवद्ध छ।
सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोग मार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा रहेको छ । शुद्ध वित्तीय मुनाफा कमाउने भन्दा बढी सुरक्षित र भरपर्दो भुक्तानी सेवा प्रदान गर्ने ध्येयले निर्देशित यस कम्पनीले सेवाको भौगोलक विस्तारको साथसाथै विविधिकरण र प्राविदिक सुदृढीकरणमा विशेष प्रयासलाई निरन्तरता दिईनेछ ।
सोको लागि बढी भन्दा बढी सेवा प्रदायक, व्यवसाय तथा अन्य साझेदारहरूसँग सहकार्य गरी सम्पूर्ण विद्युतीय भुक्तानी सेवा प्रदान गर्ने कम्पनीको प्रयासमा समस्त उपभोक्ता तथा शुभेक्षुक महानुभावहरुबाट रचनात्मक सुझाव सल्लाहको अपेक्षा कम्पनीले गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्