Shikhar Insurance
National Life

मुस्ताङको स्याउः असोजमा मात्रै बजारमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार १३:१४
Hyundai
NCELL
NIMB

मुस्ताङ । भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ ।

कोरोना भाइरस सङ्क्रमण त्रासका कारण जारी निषेधाज्ञा केही खुकुलो भएपछि स्याउ बगान खरिद गर्न बाहिरी जिल्लाबाट व्यापारी मुस्ताङ पुगेका छन् । निरन्तरको वर्षा र बाढीपहिराले पनि व्यापारी यस वर्ष ढिलो गरी मुस्ताङ पुगेका हुन् । मुस्ताङको स्याउ तीज अघि नै बजारमा ल्याउने व्यापारीको जोड थियो । तर, असोज लागेपछि मात्रै स्याउ बजारमा आउने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसवर्ष स्याउ राम्रोसँग पाकेपछि मात्रै बजारमा पठाउने तयारी किसानले गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा आगामी असोज १ गतेपछि मात्रै बगानमा प्रवेश दिइने घरपझोङ गाउँपालिका–२ मार्फाका किसान राजुप्रसाद लालचनले बताए । ‘‘एप्पल जोनको बैठक बसेर नियम लगाएको छ, असोज १ अघि बजारमा स्याउ जादैन,’’ उनले भने , ‘‘खरिद बिक्रीको काम भइरहेको भए पनि बगानमा पसेर स्याउ टिप्न पाइएको छैन ।’’ गत वर्षभन्दा यसवर्ष मुस्ताङमा कम स्याउ फलेको उनले बताए ।

कालीगण्डकी किनार आसपासका फाँटभन्दा केही माथिल्लो भूभागको जमिनमा स्याउ कम फलेको छ । ‘‘हुस्सुका कारण स्याउमा रोग देखिएको छ, जसका कारण स्याउ राम्रो फलेन,’’ लालचनले भने , ‘‘स्याउनको लागि चर्चित मार्फा हो, पुरानो मार्फामा अहिले स्याउ गतिलो फलेन ।’ यहाँको स्याउ असोज १५ पछि टिप्दा मात्रै राम्रोसँग पाक्न पाउने ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङका प्रमुख सुधीरा थापाले बताए । ‘‘भदौ नलाग्दै बजार पठाउने चलन रहेछ, स्याउको स्वाद पनि नहुने र किसानले राम्रोसँग मुनाफा लिन नपाउने हुन्छ,’’ उनले भने , ‘‘यसवर्ष समूह र सहकारीमा आवद्ध सबैले आगामी असोज १ पछि मात्रै स्याउ टिप्ने निधो गरेका छन् । ’’

व्यापारी स्याउ बजार पुर्‍याउनका लागि आत्तिएको भए पनि किसान र उपभोक्ताको हितका लागि समय तोकिएको थापाको भनाइ छ । गत वर्ष ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्याङ्क छ । यसवर्ष गत वर्षको तुलनामा केही कम उत्पादन भएको थापाले बताए । ‘‘औषतभन्दा पानी धेरै पर्‍यो, हिउँ पर्याप्त परेन, जसको असर स्याउको उत्पादनमा पर्छ,’’ उनले भने , ‘‘उत्पादन दिने बिरुवाको सङ्ख्या बढेको भए पनि हावापानीका कारण उत्पादन घट्ने देखिन्छ ।’’

मुस्ताङमा एक हजार ४० हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५०० हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमश उत्पादन दिने प्रमुख थापाले बताए । गतवर्ष यहाँको स्याउ बगानबाट प्रतिकिलो रु १०० का दरले बिक्री भएको थियो । ‘‘बगानै ठेक्का दिने चलन छ, ठेक्कामा अझै सस्तो पर्छ, फुटकर बेच्दा मात्रै किसानले मागेको मूल्य पाएका छन्,’’ प्रमुख थापाले भने । मुस्ताङको स्याउ विशेष गरेर दशैंँ, तिहारजस्ता पर्वमा कोसेलीको रुपमा प्रयोग हुने भएकाले बजारमा माग बढ्दो छ । बागलुङ, पोखरा, चितवन, काठमाडौंँलगायतका सहरमा यहाँको स्याउ बिक्री हुने गरेको छ । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्