Shikhar Insurance
National Life

सङ्क्रमितले भरिए झापाका कोभिड अस्पताल

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार ११:०६
Hyundai
NCELL
NIMB

झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताए ।

अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा सबै शय्या भरिएको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

झापामा सबैभन्दा बढी १०० शय्या कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आइसीयु व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन् । “एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,” गिरीले भन्नुभयो, “बिरामीको चाप बढ्दै गयो भने अरू शय्या थप्न तयार छौँ । बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौँ ।” अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उनले ५० सिलिन्डर अक्सिजन अस्पताल आफैँले दैनिक उत्पादन गरिरहेको बताए ।

पछिल्लो समय बालबालिकामा कोभिडको सङ्क्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शय्याको एनआइसीयु र १५ शय्याको पीआइसीयु बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्