काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीति ल्याउन ढिलाई भएपछि नेपाल राष्ट्र बैंकले पुरानै मौद्रिक नीतिको एकिकृत निर्देशनमा संसोधन गर्दै नयाँ व्यवस्था गरेको छ । सोमबार राष्ट्र बैंकले नयाँ सूचना जारी गर्दै आगामी मौद्रिक नीतिमा निरन्रता दिने गरि बैंक तथा वित्तिय संस्थाहरुका लागि नयाँ व्यवस्था गरिदिएको हो ।
क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुको प्रोभिजन ०.३ प्रतिशतले बढेर १.३ प्रतिशत पुर्याइएको छ । त्यस्तै, नगद लाभांशमा पनि क्याप लागेको छ । बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले असार मसान्तसम्म कायम औषत ब्याजदर भन्दा बढी नगद लाभांश दिन पाउने छैनन् । यस अघि बैंक तथा वित्तिय संस्थाहरुले १० प्रतिशतसम्म नगद लाभांश दिन पाउने व्यवस्था थियो ।
बैंक तथा वित्तिय संस्थाहरुलाई ऋणको साँवा तथा ब्याज उठाउने समय डेढ महिना थपिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले असार मसान्त भित्र असुल गरिसक्न्ुपर्ने साँवा तथा ब्याज अब भदौ १५ गतेसम्म उठाउन पाउनेछन् । त्यस्तै, कर्मचारीहरुको तालिम तथा क्षमता अभिवृद्धिका लागि नाफाको ३ प्रतिशत अनिवार्य छुट्याउनै पर्ने व्यवस्थालाई पनि ऐक्षिक बनाईएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुलाई वित्तिय विवरण प्रकाशित गर्ने समय पनि साउन मसान्तसम्म थपिएको छ । यसअघि साउन १५ गतेभित्र प्रकाशित गरिसक्नुपर्ने व्यवस्था थियो ।
प्रतिक्रिया दिनुहोस्