Shikhar Insurance
National Life

किसानलाई ब्याज अनुदान : बढ्यो कृषिमा लगानी, बन्यो भैंसी पकेट क्षेत्र

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १०:३३
Hyundai
NCELL
NIMB

गलकोट । किसानलाई लगानी बढाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई गलकोट नगरपालिकाले ब्याज अनुदान दिएको छ । ब्याज अनुदान पाएपछि यहाँका कृषकले ऋण निकालेर कृषि फार्ममा लगानी बढाउँदै गएका छन् ।

नगरपालिकालाई कृषि तथा पशुपक्षीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई ब्याज अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । यसका लागि बैंक तथा वित्तीय सहकारी संस्थासँग आवेदन माग गरेर सबैभन्दा सस्तोमा लगानी गर्नेमध्ये एक सहकारी छनोट गरिएको छ । कृषिमा भविष्य खोज्दै गरेको तर लगानी अभावमा समस्या परेका किसानले अहिले धमाधम ऋण निकालेर लगानी थप्दै र नयाँ फार्म स्थापना गर्न थालेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गरिब किसानले सोझै बोक तथा सहकारीमा ऋण लिँदा धितो राख्नुपर्ने, ऋण नदिने, ब्याज धेरै हुँदा लगानी गर्न नसकेका किसानलाई नगरपालिकाले अनुदानमा ब्याज रकम तिर्ने गरी ऋण उपलब्ध गराएको छ । यसका लागि किसानले फार्म धितो राखे पुग्नेछ । चालु आर्थिक वर्षमा शुरु भएको किसानलाई ब्याज दिने योजना प्रभावकारी बन्दै गएको नगरपालिकाका पशु तथा कृषि शाखाका संयोजक हरिदत्त सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार नगरपालिका क्षेत्रबाट हालसम्म ९७ जनाले सयपत्री बहुउद्देश्यीय सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा नगरपालिकाले अनुदान लिएका छन् ।

अठार महिनाका लागि ९७ जनाले रु दुई लाखदेखि पाँच लाखसम्म फार्म धितो राखेर कृषि तथा पशु फार्म विस्तार गरेका छन् । सहकारीलाई नौ दशमलव सात प्रतिशत ब्याजमा ऋण सम्झौता भएकामा नगरपालिकाले छ दशमलव सात प्रतिशत ब्याज अनुदान दिँदै आएको सुवेदीले बताए । यसमा तीन प्रतिशत मात्रै किसानले तिर्नेछन् ।

“लगानी नपाउँदा किसानलाई फार्म विस्तारमा समस्या भएको गुनासो किसानको थियो, कसरी लगानी बढाउन सकिन्छ भन्ने नगरपालिकाले योजना गराउँदा फार्मलाई अनुदान नदिई ब्याजमा अनुदान दिने योजना बनाएका छौँ”, सुवेदीले भनेभयो, “किसानले धितो राख्नसमेत समस्या भएर फार्म विस्तार नभएका किसानलाई ब्याजमा अनुदान दिँदा प्रभावकारी बन्दै गएको हो, ब्याजमा अनुदान दिन थालेपछि नगरपालिकामा ११० प्लाष्टिक टनेल तथा ४० पशुपक्षीको फार्म विस्तार भएको छ ।”

अनुदान दिँदा किसानले अनुदानका लागि मात्रै फार्म विस्तार गर्ने, पछि निरन्तरता नदिने र नक्कली किसानले लाभ लिनसक्ने भएकाले असली किसानले मात्रै ऋण खोज्ने भएकाले किसानले जम्मा तीन प्रतिशतमै ऋण पाउने गरी सहकारीसँग सम्झौता गरेको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । नगरपालिकाले दिएको ब्याज अनुदानमा ऋण निकालेर दुई प्लाष्टिक टनेल थपेको गलकोट–५ का किसान राजु बस्नेतले बताए । उनको कृषि तथा पशुपक्षी फार्ममा १० भैँसी, दुई गाई तथा प्लाष्टिक टनेल भएकामा ब्याज अनुदान पाएपछि ऋण निकालेर थप दुई टनेल थपेर सात पुर्‍याएका छन् ।

ब्याज अनुदान दिन सम्झौता गरेको सहकारीबाट ९७ कृषकले रु दुई करोड ९७ लाख ऋण लगेको सयपत्री बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । नगरपालिकाले दूधमा समेत पालिकालाई आत्मनिर्भर गराउन भैँसी पकेट क्षेत्रसमेत बनाउन थालेको छ । गलकोट–८ र ९ मा रु ४१ लाख लागतमा ८० उन्नत जातका पाडापाडी खरिद गरी भैँसी पकेट क्षेत्र बनाउने र रु २५ लाखको लागतमा हटिया बजारमा चिस्यान केन्द्र स्थापना गर्ने नगरपालिकाको योजना छ । उन्नत जातका पाडापाडी संरक्षण गरी हुर्काएर भैँसी पकेट क्षेत्र बनाई चार स्थानमा सङ्कलन केन्द्र बनाई हटिया बजारमा दूध बिक्री गर्ने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख गैरेले जानकारी दिए । यसका लागि घुम्टे भैँसी पकेट नामकरण गरेर काम अगाडि बढाइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्