Shikhar Insurance
National Life

दूध बेचेर वार्षिक डेढ करोड आम्दानी, विदेश किन जाने ?

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १४:४१
Hyundai
NCELL
NIMB

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका– ३ की मन्दिरा बर्तौलाले दूध बेचेर एक वर्षमा रु सात लाख कमाइन् । उनले आफूले पालेका तीन उन्नत जातका गाईबाट आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८ सय ९३ लिटर दूध बेचिन् । सोही नगरपालिकाकै वडा नम्बर १ की कल्पना लामिछानेले गाईको दूध बेचेर एक वर्षभित्र २ लाख २७ हजार आम्दानी गिरन् । उनले पाँच गाई पालेकी छन् ।

नगरपालिकामा पछिल्ला वर्षमा दूधका लागि पशुपालन फस्टाउँदै गएको छ । स्थानीय कृषक स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् । नगरपालिकामा घर नजिकै दूध बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्नेको सङ्ख्या दुई दर्जनभन्दा बढी छ । आर्थिक वर्ष २०७७/०७८ मा थाहा–६ का शिवप्रसाद अधिकारीले तीन हजार ३५१ लिटर, थाहा–२ का सुरेन्द्र बस्नेतले तीन हजार ३६० लिटर, थाहा–३ की राजी केसीले तीन हजार २८१ लिटर, थाहा–२ का राजु ढकालले तीन हजार १९९ लिटर दूध बेचेका छन् । उनीहरुको वार्षिक आम्दानी रु डेढ लाखभन्दा बढी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख रुपेशकुमार मिश्रका अनुसार नगरपालिकाभित्र दूधका लागि अहिले ३१५ कृषकले व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । उनहरुले व्यावसायिक रुपमा पालेका गाई भैँसीबाट चालू आवको हालसम्म कूल तीन लाख दुई हजार ९१४ लिटर दूध सङ्कलन भएको छ । औसतमा प्रतिलिटर रु ५५ को दरले हिसाब गर्दा उक्त परिमाणको दूध बिक्रीबाट कृषकले रु एक करोड ६६ लाख ६० हजार आम्दानी गरेका छन् । दूधका लागि धेरैजसो कृषकले उन्नत जातका गाई पालेका छन् । करीब ५० कृषकले भैँसीपालन गरेका छन् । सोका लागि नगरपालिकाले पशुपालन पकेट क्षेत्र घोषणा गरेको छ ।

पशुपालन पकेट क्षेत्रअन्तर्गत यस नगरपालिकामा सबैभन्दा धेरै पशुपालक कृषक वडा नं ६ बज्रबाराहीमा छन् । बज्रबाराहीमा बज्रबाराही पशुपालन कृषक समूह नै बनाएर पशुपालन व्यवसाय प्रवद्र्धनको काम भइरहेको पशुविकास शाखाका निमित्त प्रमुख मिश्रले जानकारी दिए । सो समूहमा आबद्ध १०० कृषकबाट मात्र एक वर्षमा ५७ हजार लिटर दूध बिक्री भएको बताइएको छ ।

घर्तीखोला, फाँटबजार, थानाबजार, ओखरबजार, बज्रबाराही र जगडाँडा क्षेत्रलाई पशुपालन पकेट क्षेत्र घोषणा गरी दूध सङ्कलनका लागि पकेट क्षेत्रमै सङ्कलन केन्द्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । उत्पादन क्षेत्रमै सङ्कलन केन्द्र स्थापना गरिएपछि कृषकलाई बजारीकरणको कुनै समस्या नभएको बज्रबाराहीस्थित नन्दीकेश्वर डेरीका सञ्चालक प्रमोद जोशीले बताए ।

आफूहरुले सङ्कलन केन्द्रमा बिक्री गरेको दूधको परिमाणका आधारमा सङ्कलन केन्द्रबाट प्राप्त आम्दानीका अतिरिक्त नगरपालिकाले प्रतिलिटर रु डेढका दरले थपेर दिएपछि पशुपालक कृषक झनै उत्साहित भएका छन् । कृषकलाई प्रोत्साहनस्वरुप थप रकम उपलब्ध गराउन नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट सङ्कलन केन्द्रमार्फत आर्थिक वर्षको अन्त्यमा एकमुष्ठरुपमा रकम उपलब्ध गराइएको निमित्त प्रमुख मिश्रले बताए ।

नन्दीकेश्वर डेरीबाट ८४ कृषकलाई र पालुङ डेरीअन्तर्गत फाँटबजार–अङ्गारेका ५८ कृषकलाई, ओखरबजारका १२ कृषकलाई, थानाबजारका ११ कृषकलाई, जगडाँडाका २१ कृषकलाई र घर्तीखोलाका २९ कृषकलाई प्रतिलिटर रु डेढका दरले अतिरिक्त रकम उपलब्ध गराइएको छ ।

त्यसैगरी बज्रबाराही पशुपालन कृषक समूहका १०० पशुपालकले अतिरिक्त रकम पाएका छन् । घर्तीखोलाकी मन्दिरा बर्तौलाले मात्र दूध बिक्री गर्दा स्थानीय सरकारबाट रु १९ हजार ३४० अतिरिक्त रकम पाएकी छन् ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्