Shikhar Insurance
National Life

बुवाको बिडो धान्दै शर्माका दाजुभाई : कमाउँछन् महिनाकै ५० हजार बढी

रोशनी तामाङ
२०८१ माघ ४, शुक्रबार १८:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा केहि हुँदैन भन्दै पासपोर्ट बोकेर बिदेशीने नेपाली युवापुस्ताको भिड भन्दा फरक मत राख्दै आफ्नै व्यवसाय गर्ने जाँगरीला युवा दाजूभाई हुन् भुवन शर्मा र सुमन शर्मा ।

नेपालमा गरे जे पनि हुन्छ भन्ने मानसिकता बनाएर दाजुभाई आफ्नो बुवाले सञ्चालन गरेको फर्निचर व्यवसायमा लागि परेका छन् । सप्तरी स्थायी घर भएका शर्मा दाजुभाईले आफ्नो बुवाको पेशा अंगालेर फर्निचर उद्योगमा कदम चालेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०६४ सालमा आफ्ना बुबा सन्तोष शर्माले काठमाडौंको अनामनगरमा सुरु गरेको ‘योगीनि फर्निचर पसल’ लाई अहिले भुवन र सुमन शर्माले सम्हालिरहेका छन् । १८ वर्षअघि सुरु भएको यो व्यवसाय अहिले दोस्रो पुस्तामा प्रवेश भएको छ।

उनीहरूले पढेको विषय र पेशा फरक भएपनि आफ्ना बुवाको फर्निचर व्यवसायबाट राम्रो अनुभव बटुलेका छन् । आफ्नो व्यवसायको शुरूवात गर्दा धेरै चुनौतीहरूको सामना गरेको तर बुवाको मार्गदर्शनले ती कठिनाइहरूलाई सहज बनाउन मद्दत पुगेको भुवन शर्मा बताउँछन् ।

अहिले उनीहरूले आफ्ना उत्पादनहरू उच्च गुणस्तर र डिजाइनमा बजारमा उपलब्ध गराएका छन्। शर्मा दाजुभाईले विभिन्न सामान बेड, टेबल, दराज, बेन्च, वाल स्केटिङ लगायत काठबाट बन्ने सम्पूर्ण सामानहरु अर्डर अनुसार निर्माण गर्दै आइरहेका छन् । सामानको आकार, प्रकार र डिजाइन अनुसार सामानको मूल्य फरक हुने शर्मा बताउँछन् ।

उनले भने, ‘सुरूआत बुवाले गर्नुभयो, विभिन्न ठाउँमा मान्छे चिनाउँनु भयो । कुन सामान कसरी बनाउँन सकिन्छ र मूल्य कसरी तोक्ने सिकाउँनुभयो । त्यसैले अहिले उद्योगलाई चलाउँन सहज भएको छ ।’

खाने मुखलाई जुंगाले छेक्दैन भने झै काम गर्न शर्मा दाजु भाईलाई न पढाइले रोक्यो न उमेरले नै । अहिलेका युवाहरु कामको शिलशिलामा विदेशीन मरिहत्ते गर्छन् । तर शर्मा दाजु भाई देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

कोरोना महामारीको चुनौती र व्यावसायिक वृद्धि

शर्मा दाजुभाइले व्यवसायको बारेमा भने, ‘कोरोना माहामारीको समयभन्दा पहिले यो उद्योग बुवाले नै सम्हाल्नु हुन्थ्यो । त्यतिबेला त महिनामै लाखौँको कारोबार हुन्थ्यो । अहिले भने व्यापारमा केही कमी आएको छ। यद्यपि, मासिक ५० हजार आम्दानी भने सहजै हुन्छ । त्यसबाट पसल भाडा, घर खर्च धान्न मज्जाले पुग्छ । र बचत पनि राम्रै हुन्छ ।’

धेरै अर्डर आएको बेला महिना मै ३ लाखसम्मको कारोबार हुने गरेको शर्मा बताउँछन् । उनले भने, पछिल्लो समय कोेरोना, आर्थिक मन्दी जस्ता समस्याहरुले गर्दा व्यवसायीहरुलाई तहसनहस नै बनाएको छ ।

अनामनगरमा रहेकोे फर्नितर व्यवसायी दाजुभाईसँग सिंहदरबार डटकमले गरेको कुराकानी:

काठको आपूर्ति कहाँबाट हुन्छ ?

शर्मा दाजुभाइले काठको आपूर्ति विभिन्न गोदामबाट प्राप्त गर्छन् । शर्माले भने, ‘हामीले काठ चाहिँ तिनकुने, राधे राधे, भक्तपुर, सेतो पुल र माइतीदेवीबाट ल्याउँछौँ ।’ उनीहरूले काठको मूल्य, आकार र डिजाइनका आधारमा निर्माण प्रक्रिया निर्धारण गर्छन्।

शर्मा दाजुभाईले एक जना कर्मचारीलाई रोजगार समेत दिएका छन् । भने कामको आवश्यकता अनुसार निश्चित समयका लागि कर्मचारीहरु माग गर्ने गरेको शर्मा बताउँछन् । योगिनी फर्निचरमा आवश्यकताअनुसार डेलिभरीको पनि व्यवस्था पनि रहेको उनीहरु बताउँछन् ।

शर्मा दाजुभाइका लागि आफ्नो पेसामा सन्तुष्टि छ। उनीहरूले भने, ‘नेपालमा काम गर्न अवसरहरू सीमित छन् र आम्दानी कम छ । विदेश जाने योजना भएपनि अहिलेको लागि यो सिपको उपयोग गर्न चाहन्छौं।’

आफ्नो पेसामा सन्तुष्ट छन् शर्मा दाजु भाई

आफ्नो बुवाले सञ्चालनमा ल्याएको व्यवसाय सम्हाल्न पाउँदा उनीहरु खुसी छन् । बुवाको पेशा थामिएको छ । यसैबाट राम्रो कमाइ भएको छ । विदेशीनु परेको छैन । हातमा सिप जानेका छौँ । त्यसैले मलाई आफ्नो काम र सिप प्रति सन्तुष्ट छ । तर नेपालमा जस्तो काम गरे पनि आफूले सोचे अनुसारको आम्दानी पाउँन गारो छ । दुख पछि सुख एकदिन अवश्य आउँछ भनेर हामी दाजुभाई खटिरहेका छौँ ।

GBIME

प्रतिक्रिया दिनुहोस्