दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै गरेका बताएका छन् । उननी सो वडाका वडाध्यक्ष हुन् ।
वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिएका छन् । ‘तरकारीखेती हाम्रो पुरानो पेसा हो’, उनले भने ‘म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिन ।’ करिब तीन कठ्ठा जमिनमा उनले गोलभेडाखेती गरेका छन् । अन्यमा केराउ, प्याज, लसुनखेती गर्नुभएको छ । चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनी तीन बाली खेती लगाउने गरेको बताए । कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ ।
वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा रहेका छन् । साउनमा काँक्रा, सिमी र बोडी रोप्ने गर्नुहुन्छ । असोजमा गोलभेडा, केराउ रोप्ने गरेको उनले बताए । ‘जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्राय: खेतबारीमा काम गरेको देखिँदैन’, वडाध्यक्ष चौधरीले भने ‘तर, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस् ।’
उनले उत्पादन गर्नुभएको तरकारीले उचित बजार भने पाउन सकेको छैन । भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उनको गुनासो छ । चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उनले बताए । हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ ।
गोलभेडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उनले वार्षिक ४ लाखसम्म आम्दानी गर्दै आएका छन् । उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्