काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भूकम्पीय असरको सामना असाधारण ढंगले गरेको बताएका छन् । बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले नेपालको भूकम्पपछिको पुन: निर्माण नमूना पुन: निर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भएको दाबी गरे । उनले आफू नेतृत्वको सरकारले २०७२ सालको भूकम्पपछि साढे ८ लाख घरहरु पुनर्निर्माण गर्नेगरी स्थानीयलाई हस्तान्तरण गरेको बताए ।
उनले भूकम्पले भत्काएका सबैजसो ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण गरिसकेको बताउँदै भूकम्पलाई रोक्न नसकेपनि त्यसको असर कम गर्न प्रतिरोधी भौतिक संरचना बनाउन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पीय असरको सामना हामीले असाधारण ढंगले गरेका छौं । २०७२ सालको भूकम्पले सबै घरहरु भत्काएको थियो । हामीले किचन र बाथरुमसहितका घरहरु निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेका छौं । नेपालको भूकम्पपछिको पुनर्निर्माण एउटा नमूना पुनर्निर्माणको रुपमा हामीले विश्वमै स्थापित गर्न सफल भयौं । घरलाई अलिकति भूकम्प प्रतिरोधी बनाउनसक्यौं भने त्यति छिटो भत्किँदैन । त्यसका लागि भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्नुपर्ने आवश्यकता छ ।’
भूकम्पको जोखिम न्युनिकरण र भूकम्पपछिको पुनर्निर्माणमा सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्