काठमाडौं । आर्थिक वर्ष सकिनँ लाग्दा बैंकिङ गतिविधि बल्ल लयमा फर्किएको छ । वैशाख तेस्रो साता राजधानीबाट सुरु भएको निषेधाज्ञा देशभर विस्तार हुँदा बैंकिङ गतिविधि ठप्प भएकामा असारको तेस्रो सातामा आएर पूर्ववत् स्थितिमा फर्किएको तथ्यांकले देखाउँछ ।
नेपाल बैंकर्स संघका अनुसार असारको तेस्रो साता (१२–१८ असार) अवधिमा वाणिज्य बैंकहरुले संकलन गरेको निक्षेप ४७ अर्ब ३७ करोड रुपैयाँले बढेको छ । यस्तै उनीहरुले गरेको कर्जा प्रवाह १४ अर्ब २० करोड रुपैयाँले विस्तार भएको छ ।
असार ११ सम्म वाणिज्य बैंकहरुमा भएको कुल निक्षेप ३९ खर्ब ९८ अर्ब ९३ करोड रुपैयाँ रहेकामा असार १८ सम्म बढेर ४० खर्ब नाघेको छ । वाणिज्य बैंकहरुसँग हाल ४० खर्ब ४६ अर्ब रुपैयाँ बराबरको निक्षेप छ । यस्तै ३६ खर्ब ५३ अर्ब ४० करोड कर्जा प्रवाह गरेका वाणिज्य बैंकले असार १८ सम्म ३६ खर्ब ६७ अर्ब ६० करोड रुपैयाँ पुर्याएका छन् ।
निषेधाज्ञा अवधिभर वाणिज्य बैंकहरुले बचत संकलन लगायत अत्यावश्यक सेवा मात्र प्रवाह गरेका थिए । असार पहिलो साता अन्त्यसम्म ठप्प यस्ता सेवा पूर्ववत् स्थितिमा फर्कन थालेपछि वाणिज्य बैंकहरुको व्यवसाय विस्तार भएको हो ।
वाणिज्य बैंकहरुले जेठको चौथो साता निक्षेप १३ अर्ब र कर्जा ८ अर्ब तथा अन्तिम ३ दिन निक्षेप ९ अर्ब र कर्जा ४ अर्बले बढाएका थिए । यस्तै असारको पहिलो ३ दिनमा उनीहरुसँग भएको निक्षेप स्थिर रहँदा कर्जा प्रवाह ३ अर्बले बढेको थियो ।
असारको दोस्रो सातामा वाणिज्य बैंकहरुले निक्षेप ८ अर्बले बढाउँदा कर्जा ४ अर्बले बढाएको तथ्यांक संघको छ ।
प्रतिक्रिया दिनुहोस्