काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको आर्थिक वृद्धि ३.५१ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा यस्तो वृद्धि २.१३ प्रतिशत भएको संशोधित अनुमान रहेको छ ।
आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो हिस्सा १५.८८ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२.८० प्रतिशत, उद्योग क्षेत्रको १६.३२ प्रतिशत र सेवा क्षेत्रको ५०.८८ प्रतिशत योगदान रहने अनुमान रहेको छ ।
१.१३ प्रतिशतले बढ्यो कृषि बालीको उत्पादन
गत आव २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.५५ प्रतिशतले घटेको छ ।समीक्षा अवधिमा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसार लगायत वालीले ढाकेको क्षेत्रफल घटेकोले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ ।
कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७.९२ प्रतिशत, तरकारी बालीको ५.११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.१३ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीको उत्पादन १.९८ प्रतिशत, चियाको उत्पादन ०.०१ प्रतिशत, कफीको उत्पादन १.२३ प्रतिशत तथा महको उत्पादन ०.२८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन ०.९४ प्रतिशत र मसलाको उत्पादन ८.०३ प्रतिशतले घटेको छ ।
उद्योगहरुकाे औसत क्षमता उपयोग ५२.७ प्रतिशत
आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५२.७ प्रतिशत रहेको छ । अर्थिक वर्ष २०७९/८० मा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेको थियो ।
उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.३ प्रतिशत रहेको छ भने वनस्पती घ्यु उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा यस अध्ययनमा समेटिएका उद्योगहरूको उत्पादनमध्ये गार्मेण्टको उत्पादन सबैभन्दा बढी २०२.१ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामानको उत्पादन सबैभन्दा बढी ४५.७ प्रतिशतले घटेको छ ।
यस अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरूमा गत आव २०७९/८० मा १८ हजार ४ सय ६१ जना श्रमिक कार्यरत रहेकोमा समीक्षा आर्थिक वर्षमा ती उद्योगहरूमा जम्मा १६ हजार ९ सय ५८ जना श्रमिक कार्यरत रहेका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले कम हो ।
सुनसरी, मोरङ, इलाम, झापा र उदयपुर जिल्लामा रहेका उद्योगहरूबाट क्रमश: ९ प्रतिशत, ६।९ प्रतिशत, १२.९ प्रतिशत, ४ प्रतिशत र १.३ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।
आव २०७९/८० मा कोशी प्रदेशको कुल औद्योगिक रोजगारीमध्ये ८३.२ प्रतिशत स्वदेशी र १६.८ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए भने समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमश: ९१ प्रतिशत र ९ प्रतिशत रहेको छ ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा ८.११ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ६.६४ प्रतिशतले बढेको थियो ।
बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि
२०८१ असार मसान्तमा यस प्रदेशमा वाणिज्य बैंकका ७५४, विकास बैंकका १९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा १ हजार ८ सय ३७ शाखा पुगेका छन् ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुगेको छ ।
२०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कोशी प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.५३ प्रतिशत, बचत निक्षेपको अंश ४४.२७ प्रतिशत मुद्दती निक्षेपको अंश ४३.१९ प्रतिशत र अन्य निक्षेपको अंश ६.०१ प्रतिशत रहेको छ ।
२०८० असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३२.३० प्रतिशत रहेकोमा २०८१ असार मसान्तमा यस्तो अनुपात १२१.१४ प्रतिशत रहेको छ ।
विद्युत आयोजनाहरूको कुल उत्पादन क्षमता ६५३.५५ मेगावाट
कोशी प्रदेशमा सञ्चालित विद्युत आयोजनाहरूको कुल उत्पादन क्षमता ६५३.५५ मेगावाट रहेको छ । समीक्षा आर्थिक वर्षमा कोशी प्रदेशमा निर्माण सम्पन्न ६ वटा जलविद्युत र एक सोलार गरी ७ वटा आयोजनाको विद्युत उत्पादन क्षमता १६८.५ मेगावाट रहेको छ ।
कोशी प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरूको सबैभन्दा बढी २४५.४ मेवा विद्युत उत्पादन क्षमता रहेको छ ।
यस प्रदेशका जिल्लाहरूमध्ये इलाममा १६ वटा, संखुवासभामा ८ वटा, सोलुखुम्बुमा ७ वटा, पाँचथर र ताप्लेजुङमा ५/५ वटा, खोटाङ र भोजपुरमा ३र३ वटा तेह्रथुम र ओखलढुङ्गामा १/१ वटा जलविद्युत आयोजना रहेका छन् भने झापा र मोरङमा १र१ वटा सोलार विद्युत आयोजना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्