Shikhar Insurance
National Life

गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित, वार्षिक ८० लाख बढी आम्दानी

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १०:४७
Hyundai
NCELL
NIMB

गुल्मी । गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

२०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिकस्तर समेत वृद्धि हुँदै जान थालेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्लामा सबैभन्दा धेरै किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्छ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टर क्षेत्रमा किबीको व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । यो वर्ष त्यहाँका किसानले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय किसान एवं वडासदस्य यमबहादुर थापाले जानकारी दिए ।

भार्सेमा उत्पादित किबी स्थानीय बजार तथा पाल्पा र बुटवलसम्म पुग्ने गर्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्सेमा उत्पादित किबीको औषत मूल्य २ सय छ । यहाँका किसानको मुख्य आम्दानी यतिबेला किबीखेती बनेको छ ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किबीखेतीको व्यावसायिक उत्पादनका लागि किसानलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताए ।

यस वर्ष पनि गाउँपालिकाबाट नर्सरी स्थापना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए ।

भार्सेका किसान यमबहादुर थापाले व्यावसायिक रूपमा किबीखेती गर्दै आएका छन् । उनले लगाएका एक सय ५० बोटमध्ये एक सय ३० बोटले फल दिन थालेको बताए । यसपटक थापाले २५ क्विन्टल किबी स्थानीय बजार हुँदै पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाइसकेका छन् ।

गत वर्षको तुलनामा यसपटक उत्पादन बढेसँगै किबीको मूल्य घटेको उनको भनाइ छ । उनको बारीमा ‘रेडकिबी’, ‘हेवार्ड’, ‘एलिसन’, ‘ब्रुनो’ गरी चार जातका किबी रहेका छन् । अन्य खेतीको तुलनामा किबीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । यीमध्ये एलिसन जातको किबी मीठो र स्वादिलो हुने थापाले बताए ।

सिजनमा भार्सेका बारी किबीले ढपक्कै ढाकिएका हुन्छन् । किबीको बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ६० देखि एक सय २० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए ।

बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्य बाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती त्यहाँका किसानका लागि वरदान सावित भएको छ । किबी बढी झुसिलो हुने भएका कारण पनि अन्य वन्यजन्तु टाढै बस्ने गरेको बताइएको छ ।

जिल्लामा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालिकालगायत कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोटलगायत पालिकामा किबीको व्यावसायिक खेती गर्न थालिएको छ ।

किबी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किबीमा भिटामिन ‘सी’ धेरै हुने भएका कारण यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबरसमेत पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ ।

यसलाई जुस बनाउन र सलादका रूपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्