नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक हुन शिबनाथ पाण्डे । चाटर्ड एकाउन्टेन्ट समेत रहेका पाण्डे यतिबेला सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सीईओको जिम्मेवारीमा छन् । साबिकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भएर बनेको सानिमा रिलायन्स लाइफ पछिल्लो समय व्यवसाय विस्तारमा आक्रामक देखिन्छ । बैंक तथा वित्तिय संस्थाको नियामक निकायको जिम्मेवारीदेखि जीवन बीमा कम्पनीको सीईओसम्मको यात्राका अनुभव समेटेरे इन्स्योरेन्स टकका लागि गरिएको अन्तरवार्ताको सम्पादित अंश:
तपाईँ नेपाल राष्ट्र बैंकको जागिरे जीवन सम्पन्न गरेर जीवन बीमा कम्पनीमा नेतृत्व गर्न आइपुग्नुभयो । बैंकिङ क्षेत्रको नियामकमा रहेर त्यो क्षेत्रलाई हेर्दा र बीमा कम्पनीको नेतृत्वमा बसेर बीमा बजार बढाउन भूमिका खेल्दा कस्तो हुँदो रहेछ ?
एकदमै अन्तर हुँदो रहेछ । केन्द्रीय बैंकमा एउटा उच्च पदमा बसेर विशेषगरी नीतिनिर्माण तहमा बसेर मैले काम गर्ने मौका पाएको थिएँ। राष्ट्र बैंक नियामक निकाय, बैंक तथा वित्तीय संस्था र मोनिटरी पोलिसीहरू निर्माण गर्ने संस्था भएको कारणले गर्दा त्यहाँ नीति निर्माणहरू गर्नुपर्ने, वित्तीय स्थायित्वका लागि काम गर्नुपर्ने तथा बैंक वित्तीय संस्थाको लागि देशभरि वित्तीय पहुँच पुर्याउने काम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूप्रति जनताको विश्वास जगाउनुपर्ने काम रह्यो । पछिल्लो समय भुक्तानी प्रणालीको विकास भएसँगै सुरक्षित विश्वसनीय र पारदर्शी तरिकाले भुक्तानी प्रणाली व्यवस्थित गर्नुपर्ने काम हामीले गर्यौँ । त्यहाँ नीति निर्माणमा बसेर हेर्दा देशको दिगो विकासका लागि, वृद्धिको वृद्धिका लागि हेरिन्छ । नीति निर्माण तहमा बसेर काम गर्न गरिसकेपछि त्यसको प्रभाव तत्कालै देखिँदैन । पछि मात्रै त्यसको नतिजा देखिने हुन्छ ।
त्यो क्षेत्र छोडेर ठ्याक्कै विपरीत दिशामा म आएको छु । बीमा भनेको छुट्टै विषय रह्यो । वित्तीय क्षेत्रमा पर्न त पर्यो तर मेरो व्यक्तिगत हिसाबले हेर्ने हो भने फरक अनुभूति भएको छ । यता हाम्रो नियामक निकाय बीमा प्राधिकरण छ । अहिले हामी रिजल्ट ओरिएन्टेड छौं । अब अहिले बीमाका प्रोडक्टहरू बेच्ने, प्रिमियमको वृद्धि कस्तो छ भनेर हेर्ने, दाबी कसरी सरल सजिलो र छिटो भुक्तानी गर्ने भन्ने तर्फ ध्यान दिने साथै सेयर होल्डरलाई डिभिडेन्डको रूपमा प्रतिफल कति दिने ? कसरी दिने भन्ने कुरामा ध्यान केन्द्रित हुन्छ ।
राष्ट्र बैंकबाट कार्यकारी निर्देशक भएर बाहिरिएका कतिपय व्यक्तित्वहरू बैंकर बन्ने, गभर्नर बन्ने तयारी गर्ने, अरु नियामकतिर जान्छु भन्छन् । त्यसो भएन भने पनि वाणिज्य बैंकतिर काम गर्छु भनेर दौडिरहेका हुन्छन् । त्यता गएर पनि बोर्डतिर बस्छन् । तर तपाईँले चाहिँ बीमा क्षेत्र किन रोज्नुभयो ? बीमा क्षेत्र रोज्नुमा त्यस्तो खास कारण वा लजिक केही छ ?
मैले बीमा क्षेत्र रोज्ुनमा त्यस्तो तात्विक लजिक केही छैन । नयाँ क्षेत्रमा बसेर काम गरियो भने त्यो क्षेत्रबारे बुझ्न सकिने, ज्ञान पनि बढ्ने र आफूलाई भिन्न क्षेत्रमा लगेर मेहनत गरेर काम गर्न सकियो भने राम्रै नतिजा दिन सकिन्छ भनेर पनि यसतर्फ सोचें । यसका साथसाथै यो क्षेत्रमा आउनुको पछाडि सिनियर साथीहरू बोर्डमा भएको र उहाँहरुले यो नयाँ क्षेत्रमा काम गर्नको लागि सँगै मिलेर काम गरौं भनिरहेको अवस्था थियो । सिनियरहरूबाट त्यस्तो अनुरोध भइसकेपछि, हाम्रो संस्कार नै गरौं न त भनेर स्वीकार्ने अवस्था छ । त्यस्तो अनुरोध हुँदा नाई भन्न सकिएन ।
भनेपछि आज जसरी तपाईँ मार्केट प्लेयरको रुपमा काम गरिरहनुभएको छ। त्यहाँ छोडेर यहाँसम्म आइपुग्दा म केही न केही गरिरहेको छु भन्ने ठाउँमा त पक्कै आइसक्नुभयो ?
त्यो मैले भन्दा पनि तपाईँहरूले जजमेन्ट गर्ने कुरा हो । मैले यो क्षेत्रमा आएर राम्रै गरेको छु भन्ने मलाई लाग्छ । मैले यो क्षेत्रमा सिक्ने मौका पाएको छु।
देशको समृद्धि तथा नागरिकको जीवनस्तर उकास्नका लागि बैंक र बीमालाई जोडेर कहाँ सँगसँगै लैजान सकिने रहेछ ?
बीमाले विशेषगरी आर्थिक सम्पन्नताको बाटोमा डोर्याउँछ भन्ने मेरो धारणा हो । किनभने जोखिम हस्तान्तरण गर्ने तथा आर्थिक सुरक्षा दिन्छ भन्ने कुरा त सबैले बुझिसक्नुभएको छ । अहिले हाम्रो कन्टेक्स्टमा हेर्दाखेरि बीमा दूरदराजमा रहेका सबै व्यक्तिका लागि राज्य स्तरबाटै प्राथमिकताता दिएर गर्न सकिने अवस्था भयो भने मान्छेले म भोलि बिहान केही भयो भने मेरो बालबच्चा हुन्छन् । मेरो अवस्था के हुने हो ? स्वास्थ्य अवस्था कस्तो रहला ? भन्ने कुराबाट मान्छेले असुरक्षित महसुस गरिरहेका हुन्छन्, यो पाटोमा मान्छेमा मनोबल बढाउनका लागि बीमाले काम गर्छ । म नीति निर्माण तहमा पनि बसेँ र अहिले बीमा क्षेत्रमा पनि काम गरिरहेको हिसाबले तपाईँले भन्नुभएको जस्तै हामीले जोड्न सक्ने क्षेत्रहरू विशेषगरी यसको डिस्ट्रिव्युसन च्यानलहरू तल्लो लेबलमा स्रोत र सम्बन्धमा लैजान सकियो भने, साथै बीमाप्रति सचेतना बढाउन सकियो भने र मान्छेमा बीमाप्रति आकर्षण गराउन सक्ने क्षमता बढाउने हो भने हामीले धेरै कामहरू गर्न सक्छौँ ।
तपाईँले डिस्ट्रिव्युसन च्यानलको कुरा गर्दै हुनुहुन्थ्यो । हामी अहिलेसम्म परम्परागत तरिकाले नै गइरहेका छौं है ?
डिस्ट्रिव्युसन च्यानलकै कुरा गर्दा नेपाल राष्ट्र बैंक नियामक भयो । बैंक तथा वित्तीय संस्था सञ्जाल एकदमै ठूलो छ देशभरि नै । त्यो च्यानललाई बीचमा बैंकास्योरेन्स भनेर विकास गरिएको थियो । पछि राष्ट्र बैंकले त्यसलाई रोक्यो । त्यो रोक्नुको कारण चाहिँ थाहा भएन । तर त्यो क्षेत्रलाई हामीले प्लेटफर्मको रुपमा प्रयोग गरेर प्रोडक्टहरू बेच्न सक्ने अवस्था रहने हो भने राम्रो हुन्छ भन्ने हो । तर हामीले कन्भिन्स गर्न सकेनौँ होला । यसबारे बृहत छलफल गरेर अगाडि बढ्न सकिए राम्रो हुन्छ जस्तो लाग्छ।
यसमा दुविधा पनि देखियो नि ? हामी झन्डै ४० प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको मुलुकमा छौँ त्यो खालको अर्थतन्त्रको चरित्र छ, बीमा चाहिँ तल तल गइदिउन् र त्यसलाई औपचारिक बनाउन भूमिका खेलिदिउन् । नागरिकको सिरानीमा भएको पैसालाई बीमा पोलिसीको माध्यमबाट औपचारिक च्यानलमा ल्याइदेउन् भन्ने अपेक्षा राष्ट्र बैंकको र बैंकिङ क्षेत्रको हुने । अनि तपाईँहरू चाहिँ बैंकमा जो आइसके तिनलाई पोलिसी बेच न त भनेर भन्ने । अलिकति ‘रिदम’ मिलेन कि ?
अनौपचारिक क्षेत्रको अर्थतन्त्र छ भनेर हामीले त्यसलाई कसरी भन्ने ? केही त अनौपचारिक छ नै । अहिले हामीले अभिकर्ताको च्यानल नै बढी प्रयोग गरिरहेका छौं । डिजिटलाइजेसनमा त्यो लेभलको आइसकेको अवस्था पनि छैन । यसलाई बैंकिङ च्यानलबाट बैंकमा भएको मान्छेको मात्र भन्ने पनि भएन नि । त्यो एउटा माध्यम वा प्लेटफर्म न हो। बैंकबाट पोलिसी बिक्री गर्यो भने बैंकप्रति मान्छेहरूको कन्फिडेन्स पनि बढी छ । त्यो मार्फत बिक्री गर्न सकियो भने पारदर्शी पनि हुन्छ र बीमा व्यवसाय अभिवृद्धि हुन्छ भन्ने मात्रै हो । त्यसकारण अनौपचारिक क्षेत्रमा भएको पैसा बीमामा ल्याउन बैंकको माध्यम प्रयोग गर्ने भन्न खोजेको त हैन । बीमाको दायरामा सबैलाई राख्न खोजिएको हो ।
हामीले छिमेकतिर हेर्न सक्छौं, एग्रीगेटरहरूको बजारको साइज एकदमै राम्रो छ । उनीहरूले एजेन्सीमार्फत भन्दा पनि राम्रोसँग बीमाको व्यापार व्यवसाय गरिरहेका छन् । हामीकहाँ त्यो अवधारणाले अझै मूर्त रुप लिएको छैन । आरम्भ नै भएको छैन है ?
बिस्तारै होला ।
कति भूमिका खेल्छ ? आजको बजार, प्रविधि लगायतलाई हेर्दा एग्रीगेटरको अवधारणा ल्याउँदा कस्तो हुन्छ ?
एकदमै राम्रो हुन्छ । बिस्तारै विकास हुँदै छ । हाम्रो नियामक निकाय पनि भर्खर मात्रै बामे सर्दै गरेको अवस्थामा छ । बीमा समितिबाट भर्खरमात्र प्राधिकरण भएर अगाडि बढिरहेको छ । पछिल्लो क्रममा नीति नियम बनाउने, लाइसेन्स दिने लगायतका कुरालाई व्यवस्थित गर्ने काम भइरहेको छ । यसमा देखिने गरी नै विकास भएको हामीले पाउँछौं । त्यसकारण क्रमिक रूपमा वितरणका माध्यम वा च्यानलहरू परिवर्तन हुँदै जाने, एग्रीगेटरहरू आउँदै जाने हुन्छ । जसले गर्दा बीमा व्यवसाय अझै वृद्धि हुँदै जाने कुरा निश्चित नै छ ।
हामी ४० प्रतिशत हाराहारीमा बीमा पहुँच पुर्यायौं भन्छौं, हाम्रो जस्तो देशका लागि यो कुन अवस्था हो ? यसलाई कसरी विश्लेषण गर्ने ?
हामीले डेटा विश्लेषण गर्ने हो भने करिब ४५ प्रतिशत नागरिक बीमाको दायरामा छन् भनिन्छ । यसमा केही सम्पन्न व्यक्तिहरू छन्, जसका लागि बीमा आवश्यक हो कि होइन भन्ने बहस हुन सक्ला । किनकी आर्थिक हिसाबले सम्पन्न छन्, आवश्यक पर्दा झिक्न सक्छन् भने त्यो फरक होला । एउटा जनसंख्या कस्तो छ भने बीमा भन्दा पनि खान बस्नकै समस्या छ । ती व्यक्तिहरूलाई हामीले बीमाको दायरामा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने एउटा पाटो हो । त्यस्ता नागरिकलाई बीमामा ल्याउनुपर्छ । जसका लागि राज्यले विशेष चासो दिनुपर्छ । मनोबल बढाउनका लागि पनि उनीहरूलाई बीमामा ल्याउनुपर्छ । उनीहरूलाई सम्पन्नतातिर डोर्याउनका लागि पनि ल्याउनुपर्छ । यो बहसकै विषय हुन सक्छ । बाँकी रह्यो के भने, बीचको व्यक्तिहरू परे । उनीहरू मात्रै बीमाको दायरामा बस्दा र ४५ प्रतिशतमा पुग्यो भन्ने अवस्था आउँदै गर्दा तल्लो तहमा रहनेहरूलाई यसमा समेट्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
तपाईंहरूले बीमाका लागि योजना बनाउँदा माथि भनिएजस्तै माथिल्लो, मध्यम वा तल्लो लेभलमा कसलाई कस्तो योजना बनाउनुहुन्छ ?
तलको व्यक्तिहरूलाई आम्दानीको नियमियता नै छैन भन्ने भयो भने बीमाको पोलिसी जारी गरेर मात्र हुँदैन । टप लेभलका व्यक्तिहरूलाई सबै आर्थिक सुरक्षामात्र हैन भोलि के पर्छ भन्न सकिन्छ । उहाँहरूले किनिदिनुभयो भने बजारमा एक किसिमको ‘भाइब्स’ पनि जाने हुन्छ। त्यसकारण उहाँहरूलाई पनि हामीले कन्भिन्स गर्नुपर्छ । मध्यम वर्गका लागि पनि बीमाप्रति आकर्षण पैदा गर्न कार्यक्रम ल्याउने गरिएको छ । अभिकर्ताहरूले त्यसमा भूमिका खेलिरहनुभएको छ ।
सरकारले गरिबहरूको बीमा गराउने भनेर लघु बीमा कम्पनीहरूलाई लाइसेन्स दिएको छ । तपाईं ठूला कम्पनीहरूलाई पनि एक किसिमको सीमा तोकिदिएको छ । यो एकदमै लोकप्रिय जस्तो पनि सुनिन्छ । गरिबको बीमा गराउन कति सजिलो छ ? उनीहरूको हीतमा उपयोग गर्दै अगाडि जान के के गर्नुपर्छ ?
लघुबीमाको अवधारणा नराम्रो होइन । यसको अवधारणा नै निरपेक्ष गरिबिको रेखामुनी रहेका नागरिकमा बीमा पहुँच नपुगेको कारण ल्याइएको हो । दैनिक नै खान नपुग्ने, दैनिक खर्च नै नपुग्ने समस्या छ । नागरिकले तिर्न सक्छन् कि सक्दैनन् भन्ने लघुबीमाले पनि हेर्नुपर्छ नै । उनीहरूका लागि सानो सानो प्रडक्ट ल्याउनुपर्छ । यसमा राज्यले गरिबिको रेखामूनि रहेका नगारिकलाई सहुलियत दिएर भए पनि बीमा गराउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्