काठमाडौं । चीनको तिब्बत सिजाङ भूकम्पको पराकम्प आउन सक्ने भन्दै राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ । मंगलबार (पुस २३ गते) एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सजग रहन आग्रह गरेको हो ।
चीनको तिब्बत (सिजाङ) स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७.० म्याग्नेच्युडको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको छ । नेपालको स्थानीय समय अनुसार आज बिहान ६:५० बजे गएको भूकम्पबाट नेपालका उत्तरपूर्वी तथा मध्य क्षेत्रमा कम्पन महशुस गरिएको थियो ।
उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ । भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको छ । भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई प्राधिकरणले आग्रह गरेको छ ।
त्यस्तै, सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ ।
बिहान ६:५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए । केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ ।
नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ । काठमाडौंमा ३० सेकेन्ड भन्दा बढी समय भन्दा बढी धक्का महशुस भएको थियो ।
प्रतिक्रिया दिनुहोस्