रामेछाप । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् ।
विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौं ओहोरदोहोर गर्न थालेपछि उनले ‘चिया चमेना’को व्यापार सुरु गरेका हुन् ।
तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गरेको व्यापार अहिले जस्ताको छानो हालेर परिमार्जन गरेका छन् । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेको बताए । जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म ज्याला मजदूरी गरेर केही रकम लिई उनी स्वदेश फर्किएका हुन् ।
सोही बेलादेखि सुरु गरेको ओडारको पसल अहिले उनीहरूको सहज रूपमा जीविकोपार्जन भइरहेको छ । ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए ।
‘त्यसबेला यहाँ लगाएको वरपीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा आटीलगायत फलफूलहरू पनि पाक्ने बेला भए पनि बाँदरले दु:ख दिने गरेको छ’ उनले भने ।
चार/पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा यहाँ आइपुगेको कार्कीले बताए । यही व्यापारबाट तामाकोसी–५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उनले उल्लेख गरे।
सबै छोराछोरीको विवाह गरिसकेका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गर्छिन् । ‘पाँच छोरीको विवाह गरेर आआफ्नो घर पठाइसके, दुई छोरामध्ये जेठोको पनि विवाह भइसक्यो, कान्छो काठमाडौंमा छ’ कार्कीले भने ।
पसलबाट सुरुआती चरणमा दैनिक २ हजार पाँच सयदेखि १० हजारसम्म व्यापार हुने गरको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले दैनिक पाँच–छ सयको मात्र बिक्री हुने उल्लेख गरे ।
गत असोजमा १२ गते आएको बाढीका कारण रोशी खोलाले बिपी राजमार्ग अवरुद्ध पारेपछि काठमाडौंबाट रामेछाप, दोलखा, सोलु र सिन्धुलीका विभिन्न भागमा काठमाडौंबाट आउनेजाने सवारीसाधन पुष्पलाल मार्गबाट सञ्चालन हुँदा आफ्नो व्यापार बढेको कार्कीले बताए ।
बिपी राजमार्ग सञ्चालनमा आई खुर्कोटको पुलसमेत बनेपछि पुन:व्यापार घटेको उनले सुनाए। विसं २०७२ को भूकम्पले समेत ओडारमुनिको ओडारका पसलमा कुनै क्षति नपुगेको उनले बताए ।
‘पटकपटक वडा र पालिकाले भूकम्पको जोखिम भएकाले यहाँ नबस्न अनुरोध गरिरहेका छन् । लामो समयदेखि यही बसेर व्यापार गरेको र केही संरचना पुन:निर्माण गरिसकेका यहाँबाट अन्यत्र जान सबेको छैन’ उनले भने ।
ओडारमा अहिले पनि बिजुली बत्ती नजोडिएको भन्दै कार्कीले पटकपटक प्रयास गरे पनि ऐलानी जग्गामा अस्थायी बासोबास भएकाले विद्युत् प्राधिकरणले खम्बा र मिटर नदिएको गुनासो गरे । सोही कारणले साँझ अबेरसम्म बस्न नसकिने र व्यापार पनि कम हुने उनको बुझाइ छ ।
‘मैले रोपेको बाँसमध्ये सात झाँङ फस्टाएर अएकाले बिक्री गर्नेबेला भएको छ । वर, पीपल ठूला भएर सित्तल बस्ने चौतारो बनिसकेको छ । केरा आँटी, अम्बालगायत फलफूलहरू फल्न लागिसकेका छन् । यो ठाउँ छाडेर काहीँ जान मन लाग्दैन’ कार्कीले भने । स्थानीय सरकारले विद्युत्को व्यवस्था गरिदिए व्यापार गर्न सहज हुने उनको भनाइ छ ।
प्रायजसो निजी सवारीसाधनमा यो सडक मार्ग भएर ओहोरदोहोर गर्नेमानिस यहाँको पसलमा चिया, खाजा खाएर कार्कीसँग कुराकानी गरेर मात्र गन्तव्यतर्फ लाग्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्