काठमाडौं । विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो ।
दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९६ करोड लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्षसमेत रहेमा प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिए ।
यस आयोजनामा ७४ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने १ अर्ब ७४ करोड बराबरको लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन् ।
साथै, लमजुङमा आयोजनास्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैंकले १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले ७ अर्ब, ग्लोबल आइएमइ बैंकले ६ अर्ब र प्रभु बैंकले ३ अर्ब बराबरको लगानी गर्ने भएका हुन् । सो आयोजनाको कूल लागत २१ अर्ब ४० करोड बराबर रहनेछ । कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैंकले र २५ दशमलव २३ प्रतिशत प्रवर्द्धकले लगानी गर्नेछन् ।
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ ।
इपानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमश: वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ । उनले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्