काठमाडौं । पुँजी बजारको पहिलो नियामक अर्थात फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जका उच्च पदस्थ अधिकारीहरु नै सेयर किनबेचमा संलग्न हुने गरेको आरोप लाग्न थालेको लामै समय भैसक्यो ।
नेप्सेका उच्च पदस्थ अधिकारीहरुले आफ्नै नाममा टिएमएस एकाउन्ट खोलेर सेयर किनबेच मात्रै गरेका छैनन्, कार्यालय समयमा सरकारी कुर्सीमै बसेर आफैं सेयर खरिद बिक्रि गर्छन भन्दै धितोपत्र बोर्डमा पटक पटक उजुरी पनि परिरहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट नै निर्णय गरेर सरकारी कार्यालयबाट सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरेका छन् ।
नेप्सेमा सीईओपछि दोश्रो वरियतामा रहेका निरञ्जन फुँयालले नेप्सेकै कम्प्युटरमा बसेर सेयर खरिद बिक्रि गरेको आरोप लागेको हो । फुँयालले ब्रोकर नम्बर ५० बाट प्रतिकित्ता ९१५ रुपैयाँ पर्ने एक लाख ५० हजार ९ सय ९ रुपैयाँ बराबरको सेयर किनबेच गरेको देखिन्छ ।
हामीले उनै फुयाँललाई सोध्यौं–तपाईँले ब्रोकर नम्बर ५० बाट सेयर किनबेच गर्नु भएको रहेछ, नेप्सेको कर्मचारीले त्यसरी सेयर किनबेच गर्न पाउँछन् ?
सिंहदरबारसँगको कुराकानीमा नेप्सेका डेपुटी सीईओ फुयाँलले भने–‘मैले सेयर किनेबेच गरेको छैन्, पहिले नै परेको आईपीओ बेचेको हुँ ।’ फुयाँलले २०७५ सालमा जारी भएको नेप्सेको कर्मचारी सम्बन्धी विनियमावलीले कर्मचारीहरुलाई दोश्रो बजारमा सेयर किनबेचमा रोक लगाएको बताए । सो नियमावली लागू भएपछि आफूले दोश्रो बजारमा सेयर किनबेच नगरेको दाबी पनि उनले गरे ।
नेप्सेको कर्मचारी विनियमावलीले नेप्सेका कर्मचारीहरुलाई सेयर खरिद बिक्रिमा रोक लगाएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेका कर्मचारीलाई सेयर खरिद बिक्रिमा रोक लगाउने सोँच पुरानो भएको बताए । ‘भारतमा स्टक एक्सचेञ्जका कर्मचारीले सेयर किन्न पाउँछन् तर एक वर्षसम्म बेच्न नपाउने नियम छ’, प्रवक्ता पराजुलीले भने ।
सूचिकृत कम्पनीहरुको सूचना सबै भन्दा पहिलो नेप्सेका कर्मचारी कहाँ आईपुग्ने भएकाले उनीहरुले नै सेयर किनबेच गर्न पाउने व्यवस्था हुँदा बजारमा चलखेल हुन सक्ने भन्ने सोँचका आधारमा उनीहरुलाई सेयर किनबेचमा रोक लगाइएको पनि प्रवक्ता पराजुलीले बताए ।
ब्रोकर नम्बर ५०(क्रिस्टल कञ्जनजंघा सेक्युरिटिज)का अध्यक्ष प्रियराज रेग्मीले पनि फुयाँलले आईपीओको सेयर बेचेको हुन सक्ने बताए । ‘फुँयाल सरले आईपीओको सेयर बेच्नु भएको हुन सक्छ, ठ्याक्कै के हो भन्ने चाँही पनि मैले पनि बुझ्न पाएको छैन् ।’ रेग्मीले सिंहदरबारसँग भने ।
नेप्सेका कर्मचारीमाथि सधैँ आरोप
सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङबाट आईपीओ जारी गर्नु अघि नेप्सेका तत्कालिन सीईओ चन्द्र सिंह साउदले श्रीमतिका नाममा सोही कम्पनीको सेयर खरिद गरेका थिए । यो प्रकरण सार्वजनिक भएपछि साउदले नेप्सेको सीईओबाट राजीनामा गर्नु परेको थियो । नेप्सेका कर्मचारीहरुले आफु वा आफ्ना आफन्तहरुको नाममा सेयर कारोबार गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ । नेप्सेमै बसेरमा पनि त्यहाँका कर्मचारीहरुले आफन्तहरुका नामको टिएमएस चलाएर सेयर किनबेच गर्ने गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्