Shikhar Insurance
National Life

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १५:३६
Hyundai
NCELL
NIMB

सिरहा । लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् । लहानबाट सात किलोमिटर उत्तरतर्फ चुरे फेदीमा अवस्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’मा जाडोयाममा वनभोज खान आउनेको भीड लाग्न थालेको छ ।

तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि यहाँ घुम्ने र वनभोज खानेको भीड लाग्न थालेको हो । करिब पाँच हेक्टरमा फैलिएको यहाँ बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यान छन् । लहान नगरपालिका—१५ स्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष रुद्रनारायण चौधरीले भन ‘यहाँ वनभोज खान सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी तथा छिमेकी राष्ट्र भारतबाट समेत सर्वसाधारण आउने गर्दछन् ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार हाल सार्वजनिक बिदा बाहेकका दिनमा करिब पाँच समूह वनभोजका लागि यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाका दिन बीस वटासम्म समूह आउने गर्दछन् । लहान—१२ र २२ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल सलहेश फूलबारी, लहान—२४ मा अवस्थित मानिकदह, लहान—१५स्थित गोसाइडाँडा ताल, लहान—१७ स्थित देवीदहलगायतका स्थानमा वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरियाडाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइँडाँडा ताल’ निर्माण गरिएपछि वनभोज खान र घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिए ।

उत्तरी लहानकै ‘देवीदह सिमसार तथा पर्यटकीय क्षेत्र’ मा पनि पर्यटकको सङ्ख्या बढेको छ । चुरे क्षेत्रका सिमसार क्षेत्रको संरक्षणमा स्थानीय सरकारले चासो देखाउन थालेका छन् । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले भने ‘यहाँका पर्यटकीय क्षेत्रको भौतिक विकासमा हामीले उच्च प्राथमिकता दिएका छौँ ।’ अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बुधबार यसक्षेत्रमा घुम्न र वनभोज खान आउनेको भीड लागेको थियो । विभिन्न देवीदेवताका मन्दिर, वनस्पति, जीवजन्तु र पशुपक्षीको बासस्थानसमेत रहेको यहाँका सिमसार क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि उपयोगी छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्