काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा डिजिटल प्रबिधिको अधिकतम प्रयोग गर्दै बीमा सेवालाई सहज बनाउने बताएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थ मन्त्रालयका सह-सचिव समेत रहेका अध्यक्ष दाहालले बीमा क्षेत्रमा सूचना प्रबिधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् । अध्यक्ष दाहालले बीमितलाई छिटो दावी भुक्तानी दिनको लागि आफुले अधिकतम पहल गरिरहेको पनि बताए ।
उनले आफु अर्काे व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेको बताउँदै बीमा क्षेत्रको सुधारका लागि कुनै कसर बाँकी नराख्ने दावी पनि गरे । ‘मलाई मन्त्रिपरिषदबाटै कानुन अनुसार अर्काे व्यवस्था नभएसम्मका लागि नेतृत्व गर्न भनेर यहाँ (प्राधिकरण)को जिम्मेवारी दिईएको हो, मैले पूर्ण अधिकारको प्रयोग गरेर काम गर्छु’, अध्यक्ष दाहालले भने ।
उनले बीमा कम्पनीहरुलाई अनुशासनको दायरामा ल्याउन अब कारबाहीको प्रक्रिया सुरु गर्ने पनि बताए । प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया सुरु भैसकेको र आफ्नै कार्यकालमा प्राधिकरणले नयाँ कार्यकारी निर्देशक पाउने घोषणा पनि उनले गरे ।
उनले बीमा क्षेत्रको संस्थागत सुशासनमा आफुले कुनै सम्झौता नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले भने ‘बीमा प्राधिकरणमा भएका विभिन्न कमजोरीहरु केके छ सबै म रहुनजेल के कति गर्न सक्छु सबै गर्नेछु । गलत काम गर्ने बीमा कम्पनीहरुलाई आफ्नो कार्यकालमा कारबाही गरेर नतिजा देखाउनेछु ।’ उनले आफ्नो कार्यकालमा सर्भेयर, अभिकर्ताको अनुशासन र क्षमता अभिवृद्धि दुबै क्षेत्रमा काम गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्