काठमाडौं । समस्याग्रस्त घोषणा भएसँगै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन पुष ११ गते बिहिबारदेखि नेपाल राष्ट्र बैंकले सम्हालेको छ ।आर्थिक सुशासन कायम नभएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले पुष १० गते (बुधबार) बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।
बैंकको व्यवस्थापन नियन्त्रणमा लिदैं राष्ट्र बैंकका प्रतिनिधिको रुपमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उपनिर्देशक विष्णु कुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई व्यवस्थापनका लागि पठाएको छ ।
राष्ट्र बैंकले कर्णाली बैंकमा काम सुरु गरिसकेका छन् । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता तथा सूचना अधिकारी डिल्लीराम पोखरेलका अनुसार कर्णाली डेभलपमेन्ट बैंक र राष्ट्र बैंकको सहमतिमा नै राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन टेकओभर गरेको हो ।
सह-प्रवक्ता तथा सूचना अधिकारी पोखरेलले सिंहदरबार डटकमसँग भने, ‘संस्थाको अवस्था हेर्दाखेरी राष्ट्र बैंकले दिएको जुन ६ महिनाको समय थियो त्यो समयमा सुधार हुने अवस्था देखिएन । यसले गर्दा इकोनोमी क्राइसिस् आउन सक्छ । भोलि बैंकमा झन बढी समस्या देखिन सक्छ भनेर नै तोकिएको समयभन्दा अगाडि नै राष्ट्र बैंकले टेकओभर गरेको हो ।’
कर्णाली डेभलपमेन्ट बैंकको अवस्था झन् कमजोर हुँदै गएको उनको भनाइ छ । ‘बैंकको सञ्चालक समिति, त्यहाँका लगानीकर्ता, सीईओहरुले जुन हिसाबले बैंकलाई चलाउनु पर्थ्यो त्यसरी उहाँहरुले बैंकलाई चलाउन सक्नु भएन । र बैंकमा आर्थिक हिनामिनाको आशंका, संस्थाबाट प्राप्त वित्तीय अपचलन गरेको भन्ने छ । त्यसकारणले पनि बैंक समस्यामा परेको हो’ उनले भने ।
राष्ट्र बैंकका खटिएका टोलिहरुले सबैभन्दा पहिले बैंकको फाइनान्सियल पार्ट हेरेर बैंकमा कति सम्पत्ति छ र डिपोजिटको कति रकम फिर्ता गर्नु पर्ने हो त्यो फिर्ता गर्ने रहेको पोखरेल बताउँछन् । उनले बैंकको वित्तीय अवस्था सुधार गरी ठिक ठाउँमा ल्याइ नयाँ व्यवस्थापन समुह गठन गरेपछि कर्णाली डेभलपमेन्ट बैंकलाई नै व्यवस्थापन जिम्मा लगाउने बताए ।
कर्णाली डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा १ करोड ९ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने बैंकको वितरणयोग्य नाफा २० करोड ३४ लाख २९ हजार रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ५ अर्ब २१ करोड १८ लाख २ हजार रुपैयाँ रहेको छ भने बैंकको कर्जा ३ अर्ब ८१ करोड ५५ लाख ९७ हजार रहेको छ ।
चालु आवको प्रथम त्रैमासमा बैंकको चुक्तापुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ। हाल कर्णाली बैंकको व्यवस्थापन समितिमा प्रमुख जोखिम अधिकारीमा राज कुमार प्याकुरेल, प्रमुख, मानव संसाधन तथा प्रशासन विभागमा हरिहर प्रसाद श्रेष्ठ, प्रमुख, ऋण विभागमा कोमल विष्ट, बैंकिङ प्रमुखमा सुनिल गौतम, प्रमुख, कानूनी विभागमा चाहना शाह, प्रमुख, वित्त तथा लेखा विभागमा सौरभ खड्का, हेड, क्रेडिट रिकभरी सीएडीमा पर्वत देवकोटा र प्रमुख, आईटी विभागमा अनुज श्रष्ठ रहेका छन् ।
कर्णाली डेभलपमेन्टमा कुन व्यक्ति तथा संस्थाको कति शेयर छ ?
बैंकमा ०.५ प्रतिशतभन्दा माथिको कुल ४३.३६ प्रतिशत सेयर हिस्सा रहेको छ । बैंकमा राजेन्द्र बीर बाया र सुनौलो इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको सबैभन्दा धेरै सेयर हिस्सा रहेको छ ।
बैंकको २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार बैंकमा बाया र सुनौलो इन्भेष्टमेन्टको १४.९८ प्रतिशत सेयर लगानी रहेको छ । त्यस्तै, तारा गुरुङको ८.८६ प्रतिशत, पशुपति दयाल मिश्रको १.६३ प्रतिशत, मोहित इर्फानको १.४१ प्रतिशत सेयर रहेको छ ।
यस्तै, बैंकमा इमरान राईको ०.५० प्रतिशत, कमला बिकको ०.५० प्रतिशत र मोहम्मद कमरान राईको ०.५० प्रतिशत सेयर लगानी रहेको छ ।
बैंकको चालु आव २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सेयरको अधिकतम मूल्य ८ सय ४ रुपैयाँ रहेको छ भने कारोबार भएको कुल सेयर संख्या ४१ लाख ८ हजार ८९ कित्ता रहेको छ ।
त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी माइनस ३.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९७.५० रुपैयाँ रहेको छ भने बैंकको तरलता अनुपात ४५.०७ रुपैयाँ रहेको विवरणले देखाएको छ ।
बैंकमा हालसम्म कतिजना सिइओ भए ?
२०६० फागुन ६ मा स्थापित कर्णाली विकास बैंक लिमिटेडले हालसम्म ४ जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु फेरिसकेका छन् । बैंकको १०/११ औँ वार्षिक साधारण सभाअनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विष्णु प्रसाद कक्षपति नियुक्त भएका थिए ।
त्यसपछि २०७२/७३ को १३ औँ साधारण सभामा बैंकको सीईओमा राजेन्द्र वीर राय थिए । त्यसैगरी, १५ औँ साधारण सभामा दिनेश कुमार रावत बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने २०७७/०७८ अर्थात हाल कर्णाली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज बिक्रम शाह छन् ।
बैंकको अध्यक्षमा २०७२/७३ मा पशुपती दयाल मिश्रा थिए । २०७९ मा बैंकको अध्यक्ष राजेन्द्र वीर राय भए, भने हाल बैंकको अध्यक्षमा डा. ओम प्रकाश मिश्र छन् ।
बैंक कसरी समस्यामा पर्यो ?
पछिल्ला केही समयदेखि कर्णाली बैंक समस्या परेको थियो । बैंकले बचतकर्ताको पैसा फिर्ता दिन नसक्दा बैंक झन समस्यामा पर्दै गएको थियो ।
बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको र संस्थागत सुशासनको अवस्था कमजोर भएको देखिएको राष्ट्र बैंकले जनाएको छ । बैंकमा आर्थिक हिनामिनाको आशंका भएको र संस्थाबाट प्राप्त वित्तीय अपचलन गरेका कारण कर्णाली बैंक समस्यामा पर्दै गएको हो ।
बैंकलाई राष्ट्र बैंकले गत मंसिर ११ गते ६ महिनाका लागि समस्याग्रस्त उन्मुख घोषणा गरेको थियो । समस्याग्रस्त उन्मुख घोषणा गरेको एक महिना पुग्दासँगै राष्ट्र बैंकले सुधारका लागि दिएको समय काटेर व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।
यथास्थितिमा बैंकलाई सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी बैंकलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्